Thursday, April 23, 2020

उहाँको आत्मबल बढाउँदै मैले भनेँ, ‘बहिनी अरुसँग धेरै कुरा नगर्नुस्’

सम्मानको श्रृंखला 
शान्ति खड्का 
नर्सिङ अधिकृत, धौलागिरी अञ्चल अस्पताल, बागलुङ


कोरोना भाइरस (कोभिड—१९) संक्रमण नेपालमा देखिए लगत्तै एकजना बिरामी उपचारका लागि आउनु भयो । उहाँमा देखिएको लक्षण कोरोनासँग मिल्दो जिल्दो थियो । उहाँलाई आइसोलेसन वार्डमा राखेर उपचार ग¥यौं । स्याम्पल परीक्षण गर्दा नेगेटिभ देखियो, त्यसपछि उहाँ डिस्चार्ज हुनुभयो । त्यसपछि अर्को केस आयो । १९ वर्षकी बहिनी हुनुहुन्थ्यो । परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आयो । उहाँको उपचार आइसोलेन वार्डमा राखेर गरिरहेका थियौं । त्यसको पाँच दिनपछि पोजेटिभ भएकी आमा आउनु भयो ।
त्यत्तिबेला, मनले सधैं एउटै पुकार गरिरहेको हुन्थ्यो । रिपोर्ट नेगेटिभ आओस् । नभन्दै ती आमाको परीक्षण रिपोर्ट दुई पटकसम्म नेगेटिभ आयो । त्यसपछि अस्पताले उहाँलाई घर पठायो ।
एकपटक के भयो भने, आमा र ती बहिनीको स्याम्पल परीक्षणका लागि सँगै पठाएका थियौं । आमाको नेगेटिभ आयो । तर, बहिनीको पोजेटिभ । त्यत्तिखेरे बहिनी निकै आत्तिनु भयो । उहाँलाई काउन्सिलिङ गर्नुप¥यो । मैले धेरै सम्झाएँ उहाँलाई । आत्मबल बढ्ने कुरा गरेँ । निको हुन्छ भनँे । आमाको उदाहरण दिएँ । आफ्नो मोबाइल नम्बर दिएँ । फोन गर्न अनुरोध गरेँ । बाहिरका मान्छेसँग धेरै कुरा नगर भनेँ । सामाजिक सञ्जालका विषयलाई लिएर मन कमजोर नबनाउन अनुरोध गरेँ ।
मेरो कुरा सुनेपछि उहाँ सम्हालिनुभयो । बहिनी अहिले पनि आइसोलेसन वार्डमा नै हुुनुहन्छ । उहाँको स्वास्थ्यमा सुधार भएको छ ।
पाँचौ स्याम्पल पठाएका छौं । आशा गरौं, रिपोर्ट नेगेटिभ आउँछ । मेरो पुकार छ, रिपोर्ट नेगेटिभ आओस् ।  अबका दुईवटा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उहाँलार्ई डिस्चार्ज गर्छ । बिरामीलाई सम्झाउँदा, आफूमा आत्मबल बढेको महसुश भएको छ ।
घरबाट दिनको दुई–तीन पटक फोन आउँछ । छोराछोरी आत्तिएका छन् । मेरो परिवार पोखरामा छ । म बागलुङमा । दुई महिना भैसक्यो घर नगएको ।
२२ वर्षको कार्यकालमा मैले अहिले विशेष अनुभव गरिरहेकी छु । मन बाँधेर काम गर्न सिकेको छु । स्वास्थ्य सुरक्षा अपनाउँदै  चुनौतिसँग लड्न सिकेको छु । पीपीईको अभाव छैन । अर्को कुरा, पीपीईले पनि आत्मबल बढाएको हो ।
आइसोलेन वार्ड बन्यो तर जनशक्ति थपिएन । आइसोलेन वार्डमा अहिले ४ वटा बेड छन् । ९ बेड थपिदैं छन् । अस्पतालमा जनशक्ति अभावको समस्या भोगिरहेका छौं । अन्य वार्डमा पनि तिनै स्वास्थ्यकर्मीले सेवा दिनुपर्छ । अन्य वार्डका बिरामीलाई पनि संक्रमणबाट जोगाउनु प¥यो । काम बढ्यो, जनशक्ति थपिएन । एक सय शैय्याको स्वीकृती पाएको अस्पताल हो यो । अहिले ७१ शैय्या छन् ।









नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ ।

No comments:

Post a Comment