Monday, April 27, 2020

एकजना बिरामीले भन्नुभयो, ‘डाक्टर साब, आप तो ठीक हेना’


डा.संगीता मिश्र
मेडिकल सुपरिटेन्डेड,
कोसी अञ्चल अस्पताल

सम्मानको श्रृंखला 

बिहान सबेरै निस्कन्छु । घर फर्कंदा राति हुन्छ । घरबाट नै अस्पताल आउँजाउँ गरेकी छु । दिनचर्या एकदमै व्यस्त भएको छ । प्रायजसोः १४–१५ घण्टाभन्दा धेरै समय अस्पतालमा बित्छ ।
घरमा श्रीमान, छोराहरू र सासूआमा हुनुहुन्छ । उहाँहरूको सहयोगले अस्पतालमा काम गर्न सजिलो भएको छ । उहाँहरूले सहयोग नगरेको भए, कहाँ संभव हुन्थ्यो दिनको त्यत्तिधेरै समय काम गर्न ।  कामको चापले दिउँसोको खाना खान याद नै हुँदैन । धेरैजसो अस्पतालमा नै ल्याइदिनुहुन्छ । फोन गरेर खाना, खाए–नखाएको सम्झाउनु हुन्छ । उहाँहरूको फोनले काम गर्न हौसला मिलेको अनुभव हुन्छ । परिवारको साथले अगाडि बढ्न प्रेरणा मिल्छ ।
अस्पतालमा संक्रमित ल्याएको पहिलो दिनदेखि म घरमा छुट्टै बसेको छु । ७६ वर्षको सासूआमा हुनुहुन्छ । बृद्धबृद्धालाई छिटो संक्रमणको संभावना भएकाले सावधानी अपनाएकी हुँ ।
परिवारका सदस्यलाई जोखिम नहोस् भनेर छुट्टै बसेकी हुँ । सँगै बसेर कुराकानी गर्न नपाएको, खाना नखाएको धेरै दिन भैसक्यो । अस्पतालमा भएका मुख्य–मुख्य कुराहरू म परिवारमा ‘सेयर’ गर्थे । हिजोआज  धेरै महत्वपूर्ण निर्णय हुन्छन् । तनाव पनि भएको हुन्छ । ती कुरा कसैलाई भन्न नपाउँदा उकुसमुकुस हुन्छ । कोठामा एक्लै बस्नुपर्ने, एक्लै खानु पर्ने । यस्तो समस्या यसअघि नभोगेकाले  गाह्रो भइरहेको छ ।
गाइनेकोलोजी विभागको प्रमुख जिम्मेवारीमा थिएँ । संक्रमण सुरु हुनुभन्दा केही साता अघिबाट मेडिकल सुपरिटेन्डेडको जिम्मेवारी पनि थपियो । झन् कोभिड अस्पताल सञ्चालन गरेपछि थपिएको जिम्मेवारीले समय व्यवस्थापन गर्न गाह्रो भएको छ । एक साथ धेरै जिम्मेवारी हुँदा समय व्यवस्थापन गर्न निकै गाह्रो भएको छ । तर परिवार तथा साथीहरु सबैको साथ र सहयोगले व्यवस्थापन भइरहेको छ ।

कसरी बन्यो कोभिड अस्पताल 

हामीले फागुनबाट थालेको सक्रियताकै कारण धेरै संक्रमितको एउटै अस्पतालमा उपचार सम्भव भएको हो । त्यतिबेला नै मैले स्थानीय तह, प्रदेश सरकारसँग कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई एउटै अस्पतालमा राख्नु हुन्न, छुट्टै अस्पताल बनाउनुपर्छ भनेकी थिएँ । सबैले त्यसमा सहमति जनाउनु भयो । छलफल लगत्तै विराटनगर–१० स्थित पुरानो नेसनल ट्रेडिङको भवनमा कोभिड–१९ अस्पताल बनायौं । यो अस्पतालमा अहिले कोभिड पोजेटिभ बिरामीको उपचार भइरहेको छ । यो अस्पताल बनाएपछि कोसी अस्पतालका शल्यक्रिया र प्रसुति सेवासहित अन्य सेवा रोक्नु परेको छैन । जति बेला विराटनगरमा कोरोना संक्रमणको केस देखिएको थिएन, पूर्व संकेत पनि थिएन, देखिएला भन्ने आँकलन पनि धेरै कमले गरेका थिए, त्यस्तो बेलामा अस्पताल बनाउने निर्णय ग¥यौं । त्यही दूरदर्शी निर्णयका कारण बिरामी राख्ने ठाउँ अभावले अहिले पिरोलिनु परेको छैन । आवश्यकता नै पर्दैन कि भन्ठान्दै निर्माण गरिएको अस्पतालमा अहिले ३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । देशभर देखिएका ५१ जना कोरोना संक्रमितमध्ये सबैभन्दा धेरैले यो अस्पतालमा उपचार गराइरहेका छन् । ५० बेडबाट सुरु गरिएको कोभिड अस्पतालमा अहिले ८५ बेड पुगिसकेको छ । हामीलाई अहिले स्थान होइन, जनशक्ति अभाव छ ।
म जनस्वास्थ्य विज्ञ पनि हुँ । विश्वप्रसिद्ध जोन्स हप्किन्स विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा प्राप्त गरेको मेरो डिग्री धेरै संक्रमितलाई एउटै अस्पतालमा व्यवस्थित तरिकाले उपचार गर्न काम लाग्यो । संक्रमणको संभावना आँकलन गरी तयारीमा जुट्न सजिलो भयो । मेरो अध्ययन अनुभव, कोसी अञ्चल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, स्थानीय सरकार एवं प्रदेश सरकारका प्रतिनिधिको संयुक्त पहल (टिमवर्क) र सहयोगले सबै अप्ठ्याराहरू व्यवस्थापन भएका हुन् ।

सहयोगी बिरामी 

हाम्रो अस्पतालमा पहिलो केस बैशाख ९ गते शनिबार रातको १ बजे आएको हो । कोराना पोजेटिभ बिरामीलाई ‘रिसिभ’ गर्न म गएकी थिएँ । केही दिनअघि उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा रहेका मुस्लिमलाई ल्याउँदा पनि पुगेकी थिएँ ।
बिरामीले हामीलाई सहयोग गर्नु भएको छ । उहाँहरूले कुरा बुझ्नु भएको छ । तपाईहरूका कारण संक्रमण फैलन सक्छ, बाहिर निस्कन हुँदैन भन्दा ‘हामीलाई थाहा छ, निस्कन्नौं’ भन्नुहुन्छ । म उहाँलाई बरोबर फोन गरिरहन्छु । आवश्यक पर्दा पीपीई लगाएर जान्छु । एक दिन मैले पालै पालो बिरामीलाई फोन गरेँ । अवस्था सोधेँ । समस्या भए बताउन भनेँ । एक जना बिरामीले मैले सोध्नु भन्दा अगाडि नै सोध्नु भयो, ‘डाक्टर साब आप तो ठिक हेना ।’
डाक्टरको सुरक्षाप्रति बिरामीले गरेको चिन्ता र चासो देखेर ऊर्जा मिल्यो । आफू ठिक रहेको बताएँ । उहाँको बारेमा सोधेँ । उहाँलाई केही समस्या परेको रहेनछ ।

(मिश्र कोसी अञ्चल अस्पतालले सुरु गरेको कोभिड युनिट इन्चार्ज पनि हुन्)





नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ


# सम्मानको श्रृंखला # डा.संगीता मिश्र # कोसी अस्पताल # संक्रमित # गाइनेकोलोजी # कोभिड अस्पताल # कोभिड–१९ # जनस्वास्थ्य विज्ञ # जोन्स हप्किन्स विश्वविद्यालय

Sunday, April 26, 2020

आमाले फोनमा भन्नुभयो, ‘जोगिएस है बाबु’

डा. शेरबहादुर कमर
सेती प्रादेशिक अस्पताल, कैलाली

सम्मानको श्रृंखला 
मेरो जन्मघर गोरखा हो । मेरो परिवार काठमाडौंमा छ । परिवारमा श्रीमती, छोराछोरी र आमा हुनुहुन्छ । कोरोना पोजेटिभका बिरामीलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गर्न थालेपछि घरबाट फोन आउने क्रम बढेको छ ।
उहाँहरूलाई डर लाग्नु पनि स्वभाविक हो । आमाले पनि दिनहुँ फोन गर्नु हुन्छ । ‘जोगिएस है बाबु’ भन्नु हुन्छ । आफन्त, शुभचिन्तक, गुरुहरूले फोन गरी जोगिएर काम गर्नु, बिरामीलाई डाक्टर चाहिएको बेलामा छाड्ने कुरा त हुँदैन, आफ्नो सुरक्षालाई ध्यान दिनु है’ भन्नु हुन्छ । आफ्ना प्रियजनहरूको यस्तो सन्देश पाउँदा मन खुसी हुन्छ । जस्तोसुकै चुनौतिलाई पनि सामाना गर्न सक्छु जस्तो लाग्दो रहेछ । आत्मबल बढेको अनुभव भएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस गरें । त्यसको केही वर्षपछि इन्टरनल मेडिसिनमा एमडी गरेको हुँ । सेती प्रादेशिक अस्पतालमा काम गर्न थालेको ६ वर्ष भयो ।
चीनको वुहानमा यो संक्रमण देखिएपछि नेपालमा यो जोखिमका बारेमा छलफल हुन थाल्यो । स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा भाग लिएँ । अस्पतालमा कक्षा लिएँ । चिकित्सक साथीहरूसँग कुराकानी भइरहन्थ्यो । नेपालमा यो अवस्था आइहाल्छ, कोभिड पोजेटिभ देखिन्छन् भन्ने लागेको थिएन । कोभिड पोजेटिभको पहिलो खबर पढेपछि मन झस्किएको थियो । भयाबहको अवस्था आउने हो कि ? चाइना, अमेरिकमा जस्तै धान्नै नसक्ने हुने हो कि ? त्यसको व्यवस्थापन कसरी गर्ने ? यी प्रश्नले डर लागेको थियो । मन दह्रो बनाएर काम गरेँ ।
सेती प्रादेशिक अस्पतालमा कोभिड पोजेटिभका पाँचजना बिरामी भर्ना हुनु भएको थियो । चारजना निको भएर घर फर्कनु भएको छ । बाँकी एक जनाको परीक्षण भइरहेको छ । अवस्था सुधारोन्मुख छ । भर्ना भएकामध्ये पहिलो एकजना (जो अहिले डिस्चार्ज भइसक्नु भएको छ ) मा केही समस्या देखिएको थियो । कोभिडसँग सम्बन्धित समस्या चाहिं होइन । परीक्षणको रिपोर्टले पोजेटिभ देखाउँदा उहाँले पत्याउनु भएन । कहिले काहीं बिरामीमा यस्तो समस्या देखिन्छ । मेरो परीक्षण तुरुन्त गरिदिनु प¥यो भन्नुहुन्थ्यो । हामीले उहाँलाई सम्झायौं । एक सातापछि दोहो¥याउँछौं भन्यांै । त्यत्तिबेला आइसोलेसन वार्डमा उहाँ एक्लै हुनुहुन्थ्यो । छुट्याएर राखेको भन्दै अप्ठ्यारो महसुश गर्नुहुन्थ्यो । उहाँलाई बुझाउन केही समय लाग्यो । तर, बुझ्नु भो । बाहिर निस्कन नपाएको, मान्छेसँग भेटघाट गर्न नपाएकाले एन्जाइटी भएको हो त्यो । यस्तो अवस्थामा एन्जाइटीको समस्या हुन्छ । अन्य बिरामी र कोभिडका बिरामीलाई भर्ना गर्नुमा धेरै फरक छ । अन्य रोगका बिरामीलाई भर्ना गर्दा उसको समग्र अवस्था बुझेर औषधि लेखिदिए पुग्छ । नर्सिङ स्टेसनले औषधि दिन्छ । बिरामीका आफन्तले खाना ल्याउने, खुवाउने गर्छन् । लत्ताकपडा ल्याउने, सफा गर्ने काम उनीहरूले नै गर्छन् ।
कोभिड बिरामीको सन्दर्भमा आफन्तले केही गर्न मिल्ने अवस्था हँुदैन । सामान्य त्रुटिले पनि गम्भीर खतरा निम्तन सक्छ । सर्न सक्छ । त्यसकारण अस्पतालले औषधिदेखि खानेककुरा, तातोपानी चिसो पानीलगायतका सुविधाहरूको समेत व्यवस्था मिलाउनु पर्छ । इन्टरनेटका लागि वाइफाइको व्यवस्था गरेका थियौं । यसले उहाँहरूले आफन्तसँग भाइबर वा मेसेन्जरमा कुरा गर्न सजिलो भएको थियो । युवा उमेरका बिरामीले त आफूलाई मन पर्ने फिल्म समेत हेर्नु भएको थियो । फिल्मल,े परिवारसँगको कुराकानीले उहाँहरूलाई एक्लो अनुभव हुन दिएको थिएन । अस्पतालले उपलब्ध गराएको सेवा सुविधाबाट उहाँहरू सन्तुष्ट र खुसी हुुनुहन्थ्यो ।

हामी फोनमा कुरा गर्छौं 

एक जना बिरामी ६१ वर्षको हनुहन्थ्यो । अन्य बिरामी २० देखि ४० वर्ष उमेर समूहभित्र पर्नुहुन्थ्यो । उहाँहरूले रिपोर्ट कहिले आउँछ ? कति दिन बस्नुपर्छ ? छुट्टै कहिलेसम्म बस्नु पर्ने हो ? घर कहिले जान पाइन्छ ? यस्तै प्रश्न सोध्नु हुन्थ्यो  । अहिले अस्पतालमा उपचार गराइराख्नु भएको बिरामीको पनि सोधनि यस्तै हुन्छ । हामीले उहाँहरूको पनि फोन नम्बर लिएका छौं । आफ्नो पनि दिएका छौं । जुनसुकै समय र अवस्थामा पनि हामी उहाँहरूको फोन उठाउँथ्यौं । उठाउँछौं । निको हुन्छ, आराम गर्नुस्, अप्ठ्यारो प¥यो भने हामी छौं भन्दै रोगको बारेमा बुझाएपछि उहाँहरू निश्चिन्त हुनुहुन्थ्यो । खुसी भए झैं लाग्थ्यो ।
आइसोलेसन वार्डमा भर्ना हुँदा पीपीइ लगाएर बिरामीको परीक्षण गर्छौं । त्यसपछि समस्या देखा परे मात्रै परीक्षण गर्ने हो । बिरामीको चार्ट हेर्छौ, रिपोर्ट हेर्छौं । बिहान र बेलुका हामी फोन गर्छौं । फोनमा हामीले बिरामीलाई बारम्बर सोध्ने विषय हुन्—खाना खान मन लाग्यो ? निन्द्रा लाग्यो  ? नयाँ केही समस्या छ ?
यी विषयमा जानकारी लिन्छौं । समस्या भए पीपीइ लगाएर त्यहाँ पुग्ने गरेका छौं । दिउसो केही समस्या भए फोन गर्न भनेका छौं ।  नर्सिङ काउन्टरबाट बल्र्डप्रेसर नाप्ने, अक्सिजन नाप्ने,  परामर्शको काम, आवश्यक पर्दा औषधि दिने काम दिनहुँँ हुन्छ ।

अस्पतालको तयारी 

विदेशबाट आएका र संक्रमणको शंका लागेर अस्पताल आएकालाई फिबर क्लिनिका राख्छौं । त्यहाँ डाक्टर (मेडिकल अफिसर) हरूको २४ सै घण्टा ड्युटी हुन्छ ।  उक्त क्लिनिकमा आएकाहरूको थ्रोट स्वाब परीक्षणका लागि ल्याबमा पठाउँछौ । क्वारेन्टाइन पठाइएकाहरूको पनि थ्रोट स्वाब परीक्षणका  लागि पठाउँछौं । उहाँहरूको रिपोर्ट पोजेटिभ आए आइसोलेसनमा राख्छांै । आइसोलेसन वार्डलाई दुई खालका बिरामी राख्न सक्ने गरी छुट्याएका छांै । एउटामा शंका लागेका बिरामी अर्कोमा पोजेटिभ देखिएका बिरामी । आइसोलेसन वार्डमा ३४ वेड छ । ६–७ वटा बेड शंका लागेका बिरामीको लागि हो । अन्यमा पोजेटिभ देखिएका बिरामी राखिन्छ । आइसीयू र आइसोलेसन वार्डको बीचमा नर्सिङ काउन्टर र डक्टर्स रुम छ । आइसीयू पाँच बेडको छ । २४ सै घण्टा एक जना डाक्टरको ड्उटी राखेका छांै । पालैपाले काम गर्छौ ।
अब कुरा गरौं, उपचारमा खटिने डाक्टरहरूका बारेमा । म क्वाटरमा बस्छु । अस्पतालको फेमेली क्वाटर छ । मेरो क्वाटरमा एकजना भाई पनि बस्नु हुन्छ । क्वारेन्टिनमा बसे जस्तै गरी बसेको छु । क्वाटरमा परिवारसहित बस्नु भएका डक्टरहरू अहिले होटेलमा बस्नु भएको छ ।


नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ

# डा. शेरबहादुर कमर # सेती प्रादेशिक अस्पताल # आइसोलेसन वार्ड # इन्टरनल मेडिसिन # कोभिड पोजेटिभ # क्वारेन्टाइन # थ्रोट स्वाब

Saturday, April 25, 2020

आत्मबल बढाउने त्यो ट्वीट

सम्मानको श्रृंखला 
प्रसुना कँडेल
आइसीयू वार्ड सिस्टर,
इलिङ हस्पिटल, बेलायत




जतिबेला बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण द्रुत गतिमा फैलिन थालेको थियो, त्यत्तिबेला मेरो धेरै समय अस्पतालमै बित्थ्यो । घर फर्कंदा राति भैसकेको हुन्थ्यो । घर फर्केपछि पनि खाना मन नलाग्ने, निन्द्रा नलाग्ने हुन्थ्यो  ।
संक्रमण फैलिएको चौथो दिन के भयो भने, घर फर्कन ड्राइभिङ्ग गर्दै थिएँ, एकाएक मन भक्किानिएर आयो । कोभिडका बिरामी एक पछि अर्काे गर्दै आइरहेको, बिरामीलाई आइसीयूमा लगेको दृश्य आँखा वरिपरि नाचिरहे । अघिल्लो दिन श्रीमान्लाई भर्ना गरेर गएकी श्रीमतीलाई भोलिपल्ट तिम्रो श्रीमान् बित्नु भयो भनेको क्षणले बिचिलत बनाएको थियो ।  यो के भइरहेको छ ? किन भइरहेको छ ? यो प्रश्नले ड्राइभिङ भर वेचैन बनाइरह्यो ।
कोभिडका बिरामी अस्पतालमा आउन थालेको चौथो रात म सुत्न सकिन् । बिहानको त्यस्तै सबा तीन बजेको हुँदो हो, ट्वीट गरँे, ‘इज देयर एनी नर्सेस एण्ड डक्टर्स अर हेल्थ केयर प्रोफेसनल हु इज नट स्लिप लाइक मी ह्याभिङ फ्लासब्याक सिन अफ इमरजेन्सी, आइसीयु, अबाउट दि पेसेन्ट, अबाउट दि फेमली,........ । धेरै नर्स र डाक्टरहरूलाई मैले भोगेकै जस्तो समस्या रहेछ । यो कुरा मैले मेरो ट्वीटलाई उहाँहरुले रिट्वीट गरेपछि बुझेँ । त्यसपछि मलाई अलि रिलिफ भयो ।
मेरो ट्वीटलाई मैले मास्टर्स गरिरहेको  विश्वविद्यालयले पनि रिट्वीट गरेछ । मैले भोगिरहेको समस्या त धेरै डाक्टर, नर्सहरूले भोगिरहनु भएको रहेछ । उहाँहरूले मलाई पनि तिमीलाई जस्तै भएको छ भनेपछि मेरो मन हल्का भयो ।
यसबाट मैले के सिके भने, आफ्ना कुरा सेयर गर्दा मन हल्का हुँदो रहेछ । रिलिफ महसुश हुँदो रहेछ । त्यो ट्वीटले म आफैंलाई परामर्श दिएको अनुभव गरेँ । आत्मबल बढेको अनुभूति भयो ।

बिरामीलाई सल्लाह 

संसारभरका स्वास्थ्यकर्मी कोरोना भाइरस (कोभिड–१९) को त्रासलाई आत्मबलले जितेर काम गरिरहेका छन् । म पनि ती स्वास्थ्यकर्मी भन्दा पृथक कसरी हुन सक्थे र । म भित्र रहेको त्रासलाई मेरै ट्वीटले कम गर्न मद्दत ग¥यो । ट्वीट त्यो एक खालको मनोवैज्ञानिक परामर्श नै भयो । त्यसपछि ममा हिम्मत आयो ।
सुविधा सम्पन्न देशमा कार्यरत म पीपीई लगाएर बिरामीको बेड नजिकै सहजै पुग्न थालेँ । बिरामीका हात सुम्सुम्यर नडराउन अनुरोध गरेँ । तपार्इं ठीक ठाउँमा आउनु भएको छ । हामी छौं । तपाईलाई हामी हेर्छौं । घर परिवार सबैलाई बिर्सनुस् भनेँ । आफ्नो स्वास्थ्यलाई मात्रै ध्यान दिन अनुरोध गरेँ । मलाई छिट्टै निको हुन्छ भन्ने कुरालाई मनमा राख्न आग्रह गरेँ । बिरामीको आँखामा आँखा जुधाएर कुरा गरेँ । त्यसो गर्दा बिरामी सकारात्मक भइ सम्हालिएको अनुभव गरेँ । कोरोनासँग लड्न मेरा यी वाक्य बिरामीका लागि औषधि जस्तै भए ।
अहिले बेलायतमा पहिला जस्तो त्रसित अवस्था छैन । पहिला भन्दा परिस्थिति अलि बदलिएको छ । पूर्ण रूपमा निर्भय हुन सक्ने अवस्था आउन अझै समय लाग्ला । मेरो अनुभवले के बुझायो भने, बिरामी जति आत्तिन्छ, त्यत्ति नै निको हुन समय लाग्छ । मन डराउँदा, हर्मोनहरू सहजै उत्पादन हुन्नन् । त्यसले रोगसँग लड्ने क्षमतामा ह्रास ल्याउँछ ।

जन्मभूमिको चिन्ता 

म अहिले कर्मभूमिमा छु । नेपालबाट बेलायत आएको १५ वर्ष भएछ । कोभिडबाट एक, दुई गर्दै पचासको हाराहारीमा नेपाली संक्रमित भएका छन् । बेलायत, अमेरिका फ्रान्सजस्ता सम्पन्न र सिस्टममा चलेका मुलुकलाई त यो महामारी सम्हाल्न हम्मेहम्मे परेको छ । नेपालमा यहाँ जस्तो कोभिड ‘आउट ब्रेक’ भयो भने कसरी सम्हाल्ने भन्ने चिन्ता लागेको छ ।
कोभिडका बारेमा नेपालीको बुझाइ राम्रो नै होला । सरकारी अस्पतालले जुन तहमा व्यवस्थापन गर्नु पथ्र्यो, त्यो भएको छैन भन्ने लाग्छ । एडभान्स प्रि प्लान गर्नुपर्छ । नर्स तथा डक्टरहरूलाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ ।  डाक्टर, नर्सलाई संक्रमण भए, कोभिडका बिरामीलाई जोगाउन सक्ने कोही हँुदैन । त्यसैले चिकित्साकर्मीको सुरक्षा महत्वपूर्ण हो । साथै उहाँहरूको मनोबल बढाउने कुरामा ध्यान दिनुपर्छ । पीपीईको उपलब्धतामा कमि भन्ने खबर पढेकी थिएँ, यदि त्यस्तो हो भने, जति सक्दो छिटो व्यवस्थापना गरिहाल्नु पर्छ । अस्पताल व्यवस्थापन, जनशक्ति र स्वास्थ्यकर्मीहरूको सुरक्षा महत्वपूर्ण पक्ष हुन् । युकेमा सर्जन डक्टरहरू अहिले आइसीयू नर्सका रूपमा काम गरिरहनु भएको छ । बेलायतमा जस्तै जनशक्ति तथा आवश्यक औषधिसहित एडभान्स प्रिपरेशन नेपालमा अहिले नै गर्नुपर्ने देखिन्छ ।
सुरु सुरुमा म कार्यरत अस्पतालमा पीपीई पर्याप्त थियो । बिरामीको चाप बढ्दै गएपछि सकिने अवस्थामा पुग्यो । हामीले पुर्नप्रयोग गर्न मिल्ने सामग्रीलाई धोएर पनि प्रयोग ग¥यौं । पीपीई नलगाई अहिलेसम्म बिरामीको अगाडि गएको छैन ।
बिरामीको अगाडि जानुपर्दा पीपीई नलगाएको छ भने नजाँदा हुन्छ भन्ने हाम्रो एथिकल गाइडलाइन छ । बिरामी छट्पटाएको अवस्था छ भने बिरामीलाई हेर्नु की पीपीई लगाएको छैन भनेर बस्नु ? धन्न अहिलेसम्म त्यस्तो अवस्था आएको छैन । थोरै थोरै प्रयोग गरेर भए पनि पीपीई पु¥याइरहेका छौं ।
लण्डनमा म एक्लै छु । घरबाट आउने जाने गर्छु । डाक्टरहरू, नर्सहरू जसका घरमा बृद्धाहजुरबुबा हजुर आमा हुनुहुन्छ । उहाँहरू अस्पतालमै तथा कतिपय अस्पतालले व्यवस्था गरेको होटलमा बस्नु भएको छ । सानो बच्चा भएका आमा नर्सहरूले दिउँसो चाइल्ड केयरमा बच्चा राखेर दिनभर काम गरी बेलुका घरमा फर्कनु हुन्छ ।
स्वास्थ्य अवस्था कमजोर भएकाहरूमा कोभिड संक्रमण हुने खतरा धेरै हुन्छ । हामीलाई कोभिड नलागे पनि क्यारियर बनिरहेका हुन सक्छौं । एक्लै बस्नेहरू नुबाई धुवाई गरेर स्यानिटाइजर  प्रयोग गरी घर फर्कन्छौं ।
बेलायतमा थुप्रै नेपाली छौं । सुरु सुरुमा कोभिडलाई त्यति गम्भीर ढंगले लिइएन । चाइनामा आउटब्रेक भयो, यहाँ त्यस्तो होला भन्ने नै लागेन । कार्यक्रमहरू भइरहे । बेलायतमा संक्रमण बढ्यो, मान्छेको मृत्यु नै भएपछि हामी गम्भीर भयौं । अस्पतालहरूले विशेष तयारी गर्न थाले ।
नेपालीहरूको संघ संस्था तथा डक्टर तथा नर्सहरूको टिमले पनि जनचेतनाका लागिका लागि काम गर्न थाल्यौं । डाक्टर्स एसोसिएनसन, नर्सिङ एसोसिएसनले  अनलाइन, फेसबुक लाइभमार्फत चेतना फैलायो । अंगे्रजी बुझ्दै नबुझ्ने नेपालीलाई पनि उहाँहरूले बुझ्ने भाषामा भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका छौं । फोन गरेर भए पनि बुझाएका छौं ।

नर्सिङ यात्रा 

म नेपालमा बीर अस्पताल नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ सकाएर बेलायत आएको हुँ । यहाँ आएपछि सुरुमा एक वर्ष यहाँको इन्टर्नसीप चेयरमा बसेर काम गरेँ । त्यसपछि गर्नु पर्ने कोर्ष गरे ।
अहिले म इलिङ अस्पतालको आइसीयुमा कार्यरत छु । अहिले म दुई फरक फरक भूमिकामा छु । एउटा आइसीयूको स्टल हो अर्काे विशेषज्ञता तहको । यो तहमा पुगिसकेपछि आइसीयू बाहिरका सिकिस्त बिरामीको हेल्थ कन्डिसनमा ¥यापिड डिक्लाइन आयो भने त्यहाँका डक्टर, नर्सलाई सरसल्लाह दिने, आइसीयू सार्नुपर्ने रहेछ भने आइसीयू सार्न संलग्न हुनु पर्छ ।

अहिलेको अवस्था 

अहिले बेलायत कोभिड संक्रमणको पाँचौ सातामा छ । सुरु सुरुमा मैले काम गर्ने अस्पतालको एरियामा ठूलो संख्यामा बिरामी देखा परे । अस्पतालमा धेरै बिरामी आए । अस्पतालको नर्मल वार्डमा भएका बिरामीलाई डिस्चार्ज गरी त्यसलाई कोभिड वार्डमा परिणत गरांै । बिरामीको संख्या धेरै नै बढेपछि आइसीयूलाई पनि विस्तार गरेर ५०–६० वेड बनायौं । बेलायतका सबै अस्पतालले जनशक्ति बढाउने र भौतिक पूर्वाधार तयार पार्ने कामलाई अघि बढाएका थिए ।
(कँडेल, नर्सिङ एसोसिएसन बेलायतकी पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हुन्) 


नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ ।

Friday, April 24, 2020

‘उनको आत्मविश्वासले जित्यो कोरोना’

सम्मानको श्रृंखला 
डा.बच्चु कैलाश कैनी
बरिष्ठ अस्पताल व्यवस्थापक, क्वीन एलिजावेथ अस्पताल, बेलायत


मेरी श्रीमती बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को अस्पतालमा काम गर्छिन् । काममा गएकै बेला उनलाई ज्वरो आयो । त्यसको भोलिपल्टसम्म पनि ज्वरो कम भएन । झन् बढ्यो । त्यसपछि उनी काममा जान छाडिन् । तेस्रो दिन खोकी लाग्यो । श्वासप्रश्वासमा पनि समस्या भएको अनुभव गरिन् उनले । एकपछि अर्को गर्दै कोरोना भाइरस (कोभिड–१९) का लक्षणहरू देखा पर्न थाले ।
अस्पतालमा काम गर्ने भएकाले उनी कोरोना भाइरसको संक्रमणका बारेमा चनाखो थिइन् । उनको र मेरा बीचमा भाइरसबाट जोगिन अपनाउनुपर्ने सतर्कताबारे घरमा बरोबर छलफल भइरहन्थ्यो । तथापि, आठौं दिनमा कोभिड परीक्षण गर्दा पोजेटिभ देखियो ।
बेलायतका एउटा समस्या के छ भने, कुनै व्यक्तिले चाहने बित्तिकै कोरोना भाइरसको परीक्षण गर्न सक्दैन । त्यो सुविधा छैन । यस्तो हुनुको मुख्य कारण, लाखौं मानिस संक्रमित हुनु हो । चाहने जति सबैको परीक्षण गर्न संभव छैन ।
उनले काम गर्ने अस्पतालमा नै स्वाब परीक्षण गरायौं । एक्सरे गर्न गइन् । उपचारका लागि उनी अस्पताल दुई पटक जति पुगिन् । बाँकी अवधि घरमै आइसोलेसनमा बसेर कोरोना संक्रमणविरुद्ध डटिन् उनी ।
घरबाहिर निस्कने अवस्था थिएन । छोराछोरीसहित चार जनाको हाम्रो परिवार एउटै घरमा बस्छौं । छोरी घरबाटै काम गर्थिन् । छोराले पनि घरबाट नै पढिरहेको थियो । तर, आइसोलेसनमा बस्दा अपनाउनु पर्ने नियमहरू अक्षरश पालना गरेका थियौं । जुन अहिले पनि कायम नै छ ।
बिरामीको लागि छुट्टै बाथरुम, हावा आवजजावत गर्ने कोठा, छुट्टै भाँडाको प्रयोग, व्यक्ति–व्यक्तिबीचको दुरी, मास्कको प्रयोग, पटक पटक साबुन पानीले तरिका साथ हात धुने नियमलाई हामीले महत्व दिएर कार्यान्वयन ग¥यौं । मेरी श्रीमती आफैं यो विषयमा सचेत थिइन ।
अस्पताल कार्य क्षेत्र भएकाले आम मान्छेको भन्दा फरक बुझाई थियो मेरो पनि आइसोलेसनका नियम पालना गर्ने सन्दर्भमा । आइसोलनमा बस्दा अपनाउनुपर्ने नियमहरूलाई नबिराई पालना गरेँ । छोराछोरीले पनि यसलाई गम्भीरतापूर्वक लिए ।
जसले गर्दा मेरी श्रीमती कोरोनालाई जित्न सक्ने बहादुर बनिन् । उनको आत्मविश्वास, साहस र सकारात्मक सोच कोरोनासँग लड्ने अर्को अस्त्र थियो । बिरामीको सकारात्मक सोच र साहसले परिवारलाई समेत मनोबल उच्च राख्न सहयोग गर्ने रहेछ । उनीभित्रको ऊर्जालाई हामीले सधैं ताजा राख्न प्रेरित ग¥यौं । सकारात्मक कुरा ग¥यौं । यी सबैले उनीलाई उर्जा दियो । सलाम छ उनको साहस र आत्मविश्वासलाई ।
अर्को कुरा, उनको स्वास्थ्य अवस्थाको मनिटरिङ्ग दैनिकी नै बन्यो । ज्वरो, खोकी र श्वासप्रश्वासको अवस्थालाई सुक्ष्मसँग अवलोकन गर्नु र डाक्टरलाई रिपोर्टिङ गर्ने काममा उनी आफैं पनि सचेत थिइन् । त्यसलाई मैले गम्भीरतापूर्वक कार्यान्वयन गरेँ ।
संसारलाई त्रसित बनाएको कोरोना भाइरस हाम्रो परिवारमा सुटुक्क भित्रिएको थियो । हाम्रो सावधानी र सर्तकतालाई त्यसले झुक्याएको थियो । तर, स्वास्थ्यसँग सम्बन्धित नियमको पालना, धैर्यता र सकारात्मक सोचले त्यो भाइरसलाई परास्त गर्न सफल भएका छौं । उनको स्वास्थ्यमा अहिले क्रमशः सुधार हुँदै गएको छ । उनी छिट्टै पूर्णरूपमा निको हुनेछिन् ।
एनएचएसको १११ सेवा, स्थानीय चिकित्सक (जीपी) को परामर्श सेवा, डार्टफोर्डको स्थानीय अस्पताल (डारेन्ट भ्याली अस्पताल) ले प्रदान गरेको सेवा गुणस्तरीय महसुश गरेँ । उहाँहरू सबैजना धन्यवादको पात्र हुनुहुन्छ । उहाँहरूको सेवा भावलाई सम्मान गर्न चाहन्छु ।

बेलायतमा बिरामी वर्गीकरण 

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई तीन वर्गमा वर्गीकरण गरिएको छ । पहिलो हो, ‘माइल्ड केस’ । माइल्ड केसमा ज्वरो आएका, रूघाखोकी लागेका, शरीर कमजोर भएका, खाना नरूचेका, पखाला लागेका, खानाको स्वाद थाहा पाउन छाडेका बिरामी पर्छन् । बेलायतको स्वास्थ्य निर्देशिकाले यस्ता बिरामीलाई चिकित्सकको परामर्श लिएर घरमै आइसोलेसनमा बस्न अनुरोध गरेको छ । उनीहरूले डाक्टरसँग परामर्श गर्न  सरकारले उपलब्ध गराएको नम्बर १११ मा फोन गर्न सक्छन् । बिरामीले स्वास्थ्यसँग सम्पूर्ण कुरा डाक्टरलाई बताउन सक्छन् ।
दोस्रो अवस्थालाई ‘सिभियर केस’ भनिन्छ । यस्ता बिरामीलाई अक्सिजन दिनुपर्छ । उनीहरूको श्वासप्रश्वासमा समस्या भएको हुन्छ । बिरामीलाई अस्पतालमा राखेर अक्सिजन दिइन्छ । उनीहरूको उपचार आइसोलेसन वार्डमा राखेर गरिन्छ । जुन बिरामीको उपचार भेन्टिलेटरमा राखेर गर्नुपर्छ, त्यो क्रिटिकल केस हो ।
बेलायतको कुरा गर्ने हो भने, ‘माइल्ड केस’ का बिरामीहरू घरमै आइसोलेसन बसेका छन् । त्यसरी आइसोलेसनमा बस्नेहरू असीदेखि पचासी प्रतिशत छन् । उनीहरू ज्वरो घटाउन सिटामोल खान्छन् । पोसिला खानेकुरा उनीहरूको प्राथमिकतामा पर्छ । श्वासप्रश्वासमा समस्या देखिए मात्रै डाक्टरसँग परामर्श लिएर अस्पताल पुग्छन् ।

अस्पतालको व्यवस्थापन 

विश्वलाई नै लकडाउन गरेको कोरोना भाइरस (कोभिड–१९) ले बेलायतमा महामारीको रूप लिएको छ । एक लाखभन्दा धेरै संक्रमित छन् । १७ हजार जतिको मृत्यु भैसकको छ । यो पुष्टि भएको तथ्यांक हो ।
थुपै्र बेलायती नागरिक र बेलायतमा बसोबास गरिरहनु भएका नेपालीहरू यो भाइरसबाट संक्रमित हुनुहुन्छ । अस्पताल बाहिरका, अस्पतालका साथीहरू धेरैजना संक्रमित भएर होम क्वारेन्टिमा बस्नु भएको छ ।
नेपालीहरूको अवस्थाको कुरा गर्ने हो भने, धेरै नेपाली संक्रमित हुनुहुन्छ । नेपाली समुदायमा संक्रमणको ठूलो असर परेको छ ।  बेलायतका अस्पतालहरूमा रेड जोन र ग्रीन जोन छुट्टयाइएको छ । रेड जोनमा कोरोनाका बिरामीको उपचार गरिन्छ । प्रत्येक अस्पतालमा आइसीयू बेड थपिएएको छ । डेडिकेटेड बेडहरू थपिएको छ ।  म काम गर्ने अस्पतालको दुईवटा भवनमा गरेर एक हजार बेड छन् । यो अस्पतालमा ३८ वटा आइसीयू बेडहरू थियो अहिले थपेर एक सय आठ पु¥याइएको छ । रेड जोनको पनि क्षमता विस्तार गरिएको छ । रेड जोन भनेको कोभिडकै लागि हो ।
कर्मभूमिमा बसेर कोरोनाको कहरलाई नियालिरहेको म जन्मभूमिका सम्पूर्णलाई सर्तक हुन आग्रह गर्छु । त्रासले मान्छेको आत्मबल घटाउँछ । रोगसँग लड्ने क्षमतामा समेत ह्रास आउँछ । त्यसैले भन्छु, विश्व स्वास्थ्य संगठन र सरकारले जारी गरेका नियमहरू अक्षरश पालना गर्न अनुरोध गर्छु ।

(डा.कैनी लण्डनस्थित आर्डेन विश्वविद्यालय (स्वास्थ्य व्यवस्थापन)का सहप्राध्यापक पनि हुन् ।)  


नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ ।


Thursday, April 23, 2020

उहाँको आत्मबल बढाउँदै मैले भनेँ, ‘बहिनी अरुसँग धेरै कुरा नगर्नुस्’

सम्मानको श्रृंखला 
शान्ति खड्का 
नर्सिङ अधिकृत, धौलागिरी अञ्चल अस्पताल, बागलुङ


कोरोना भाइरस (कोभिड—१९) संक्रमण नेपालमा देखिए लगत्तै एकजना बिरामी उपचारका लागि आउनु भयो । उहाँमा देखिएको लक्षण कोरोनासँग मिल्दो जिल्दो थियो । उहाँलाई आइसोलेसन वार्डमा राखेर उपचार ग¥यौं । स्याम्पल परीक्षण गर्दा नेगेटिभ देखियो, त्यसपछि उहाँ डिस्चार्ज हुनुभयो । त्यसपछि अर्को केस आयो । १९ वर्षकी बहिनी हुनुहुन्थ्यो । परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आयो । उहाँको उपचार आइसोलेन वार्डमा राखेर गरिरहेका थियौं । त्यसको पाँच दिनपछि पोजेटिभ भएकी आमा आउनु भयो ।
त्यत्तिबेला, मनले सधैं एउटै पुकार गरिरहेको हुन्थ्यो । रिपोर्ट नेगेटिभ आओस् । नभन्दै ती आमाको परीक्षण रिपोर्ट दुई पटकसम्म नेगेटिभ आयो । त्यसपछि अस्पताले उहाँलाई घर पठायो ।
एकपटक के भयो भने, आमा र ती बहिनीको स्याम्पल परीक्षणका लागि सँगै पठाएका थियौं । आमाको नेगेटिभ आयो । तर, बहिनीको पोजेटिभ । त्यत्तिखेरे बहिनी निकै आत्तिनु भयो । उहाँलाई काउन्सिलिङ गर्नुप¥यो । मैले धेरै सम्झाएँ उहाँलाई । आत्मबल बढ्ने कुरा गरेँ । निको हुन्छ भनँे । आमाको उदाहरण दिएँ । आफ्नो मोबाइल नम्बर दिएँ । फोन गर्न अनुरोध गरेँ । बाहिरका मान्छेसँग धेरै कुरा नगर भनेँ । सामाजिक सञ्जालका विषयलाई लिएर मन कमजोर नबनाउन अनुरोध गरेँ ।
मेरो कुरा सुनेपछि उहाँ सम्हालिनुभयो । बहिनी अहिले पनि आइसोलेसन वार्डमा नै हुुनुहन्छ । उहाँको स्वास्थ्यमा सुधार भएको छ ।
पाँचौ स्याम्पल पठाएका छौं । आशा गरौं, रिपोर्ट नेगेटिभ आउँछ । मेरो पुकार छ, रिपोर्ट नेगेटिभ आओस् ।  अबका दुईवटा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उहाँलार्ई डिस्चार्ज गर्छ । बिरामीलाई सम्झाउँदा, आफूमा आत्मबल बढेको महसुश भएको छ ।
घरबाट दिनको दुई–तीन पटक फोन आउँछ । छोराछोरी आत्तिएका छन् । मेरो परिवार पोखरामा छ । म बागलुङमा । दुई महिना भैसक्यो घर नगएको ।
२२ वर्षको कार्यकालमा मैले अहिले विशेष अनुभव गरिरहेकी छु । मन बाँधेर काम गर्न सिकेको छु । स्वास्थ्य सुरक्षा अपनाउँदै  चुनौतिसँग लड्न सिकेको छु । पीपीईको अभाव छैन । अर्को कुरा, पीपीईले पनि आत्मबल बढाएको हो ।
आइसोलेन वार्ड बन्यो तर जनशक्ति थपिएन । आइसोलेन वार्डमा अहिले ४ वटा बेड छन् । ९ बेड थपिदैं छन् । अस्पतालमा जनशक्ति अभावको समस्या भोगिरहेका छौं । अन्य वार्डमा पनि तिनै स्वास्थ्यकर्मीले सेवा दिनुपर्छ । अन्य वार्डका बिरामीलाई पनि संक्रमणबाट जोगाउनु प¥यो । काम बढ्यो, जनशक्ति थपिएन । एक सय शैय्याको स्वीकृती पाएको अस्पताल हो यो । अहिले ७१ शैय्या छन् ।









नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ ।

‘मैनबत्तीबालेर सपथ लिएको सम्झिँए’

सम्मानको श्रृंखला 
विजयालक्ष्मी कोइराला, इन्चार्ज आइसोलेसन वार्ड, 
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा


तिबेला म नर्सिङ विषयको विद्यार्थी थिएँ, त्यत्तिबेला लिएको सपथले मलाई यति ऊर्जा देला भन्ने सोचेको पनि थिइन । जुन दिन कोरोना भाइरस (कोभिड—१९) का बिरामी राख्न निर्माण गरिएको आइसोलेसन वार्डको जिम्मेवारी पाएँ, त्यत्तिखेर मन आत्तिएको थियो । मन त्यसै त्यसै डरायो पनि । मन चिसो भयो ।  डर पनि किन नलागोस्, विश्वका महारथी मुलुकहरू समेत यसबाट आक्रान्त छन् । तर, मैले मनभित्रको त्यो डरलाई जिँते । झण्डै ३५ वर्ष अघिको दिन सम्झिएँ ।
नर्सिङ पढ्न सुरू गर्दा मैनबत्ती बालेर जस्तोसुकै अवस्थामा पनि सेवा गर्छु, जात भन्दिन, वर्ग भन्दिन, रङ भन्दिन ....., यी वाक्यले मलाई ऊर्जा दियो । मान्छेको सेवा गर्न पाएको जिम्मेवारीलाई अवसरको रूपमा लिएँ । यो क्षेत्रमा प्रवेश गर्ने नवआगन्तुकलाई समेत प्रेरणा बन्ने निधो गरेँ । त्यसैले यो जिम्मेवारी सम्हालेँ । मैले स्वास्थ्य क्षेत्रमा काम गर्न थालेको ३२ वर्ष भयो । आफ्नो पेशाको महत्व र आवश्यकता देखेर मलाई मान्छेको जीवनसँग जोडिएको पेशा छानेकोमा  गर्व लाग्यो ।
जिम्मेवारीको निर्णयको खबरसहित अबेर घर पुगेँ । परिवार सदस्य जसरी सुरूमा म डराएको थिएँ, त्यसैगरी डराउनु भयो । घरमा ९० वर्षको सासूआमा हुनुहुन्छ । उहाँको भाव डराएको पाएँ । छोराछोरी, श्रीमानको अनुहारमा डरको दृश्य देखेँ मैले । सबैलाई सम्झाएँ, जुन दिन कोरोना संक्रमित धेरै आउनु हुन्छ, त्यो दिनदेखि घरमा आउँदिन, अस्पतालमै बस्छु भनेँ । पीपीइ लगाउने बताएँ ।  पीपीइको अर्थ बुझाएँ । आफ्नो जिम्मेवारी सम्झाएँ । त्यसले सबैलाई सकारात्मक बन्न सहयोग ग¥यो ।
अस्पतालले सञ्चालन गरेको फिबर क्लिनिकमा जँचाउन आउने बिरामीको ‘स्याम्पल  टेस्ट’ गर्नुपर्छ । परीक्षणका लागि स्याम्पल संकलन गर्नुपर्छ । वार्डमा भर्ना भएका बिरामीको जाँच गर्नुपर्छ । स्यानिटाइजर प्रयोगदेखि मास्क लगाउने तरिकासम्म सिकाउनु पर्छ । अस्पतालमा मैले गर्ने अर्को महत्वपूर्ण काम भनेको बिरामीलाई परामर्श दिने हो । मनोवैज्ञानिक रूपमा उहाँहरूलाई बलियो बनाउने हो ।  धेरै रोग र संक्रमणका बारेमा बुझेकाले पनि होला, आत्मबल बढेको छ । मन डराएको छैन ।
नेपालमा  कोरोना भाइरस संक्रमण देखिनुअघिसम्म अस्पतालमा ८ घण्टा ड्युटी गरे पुग्थ्यो । तर, अहिले २४ घण्टा नै कन्ट्याकमा हुनुपर्छ । एटेन्ड बाइ बस्नुपर्छ । यसले थप जिम्मेवारी महसुश भएको छ ।
कामको अनुभवले पनि आत्मबल बढाउने रहेछ । त्यो आत्मबलले गर्दा कोरोना संक्रमणविरुद्ध काम गर्न साहस बढेको अनुभव गरेको छु । चिकित्साकर्मी, स्वास्थ्यकर्मीलगायत केही त्यस्ता पेशा छन्, ती पेशामा आबद्ध भएकाहरू घर बाहिर निस्कनै पर्छ । तर, जस जसलाई घरबाट बाहिर ननिस्के पनि हुन्छ, घरमै बसेर काम गर्न सकिन्छ, उहाँहरूलाई घरमै बसिदिन अनुरोध गर्छु । क्वारेन्टिनमा बस्नु भनेको कोरोनाको संक्रमणबाट जोगिन खाएको औषधि जस्तै हो । सरसफाइमा ध्यान दिनुहोस् । सामाजिक दूरी कायम  गनुहोस् भन्न चाहन्छु । विश्वका अन्य मुलुकमा जस्तो क्षति भएको छैन भन्दै यसलाई कम नआकौं । सतर्क होऔं । त्रसित नबनौं ।







नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ ।

‘मेरी आमा रुँदा छोरीहरू सम्झाउँछन्’


शंकर भण्डारी, ल्याब टेक्निसियन
पश्चिमाश्चल क्षेत्रीय अस्पताल, पोखरा 
सम्मानको श्रृंखला 

म स्वास्थ्यकर्मीसँगसँगै खेलाडी पनि हुँ । नेपालका कोरोना भाइरसको संक्रमण देखिनु अघिसम्म साँझको समय पोखराको रंगशालामा बित्थ्यो । त्यहाँ म स्क्वायस खेल्थेँ । साइक्लिङ गर्थें । म कास्की जिल्ला साइक्लिङ संघको अध्यक्ष हुँ । त्यसैले दिनको केही घण्टा यो खेलको विकास र संभावनाका विषयमा समेत केन्द्रित हुन्थ्यो । अहिले त्यो दिनैकी बदलिएको छ । दिनको १२ घण्टा भन्दा धेरै समय अस्पतालमा नै बित्छ । चिया, खाजाको मतलब हुँदैन । अन्य स्वास्थ्य संस्थासँग समन्वय गर्ने, स्याम्पल कलेक्सनको काममा समय खर्च भइरहेको छ ।
डाक्टरहरूले ज्वरो क्लिनिकमा आउनु भएका बिरामीलाई गर्नु भएको ‘रिकमेन्ड’ अनुसार रयापिड डाइग्नोसिस टेस्टका लागि स्याम्पल कलेक्सन गर्छु । स्याम्पल कलेक्सन गर्दा पीपीई लगाउँछु । दिनभरको लागि एउटा पीपीई भएकाले स्याम्पल कलेक्सन एकै समयमा गर्ने गरेका छौं । पीपीई लगाउँदा ध्यान दिएर लगाउनु पर्छ । शरीरको छाला देखाउनु हँुदैन । त्यसैले यो लगाउन एकले अर्कालाई सहयोग गर्नुपर्छ ।  नयाँ स्वास्थ्यकर्मी साथीहरूलाई पीपीई लगाउन सहयोग चाहिन्छ । त्यो काममा पनि म व्यस्त हुन्छु ।
कहिले काहीँ बैठकहरूमा भाग लिन गाउँपालिका पुग्नुपर्छ । त्यता जान नपर्दा दिनभर अस्पतालमा नै व्यस्त हुन्छु । विशेष अवस्थामा राति अबेरसम्म पनि अस्पतालमा नै हुन्छु । अस्पतालबाट घर फर्केपछि मेरो पहिलो काम भनेको नुहाउने र अस्पताल जाँदा लगाएको लुगा धुने हो । म आफ्नो लुगा आफैं धुन्छु । विशेष गरी अस्पताल जाँदा लगाएको लुगा परिवारका सदस्यलाई धुन दिन्न । मेरा दुई जना छोरीहरू छन् । उनीहरू सानै छन् । मेरो मोवाइल छोरीहरूलाई छुन दिन्न । मेरो कोठामा पनि उनीहरूलाई नआउन भनेको छु । उनीहरू निकै समझदार छन् । छोरीहरू आफैं सचेत छन् ।
उनीहरूले मेरो पेशालाई बुझेका छन् । कोरोना संक्रमण सुरु भएपछि मैले उनीहरूलाई परामर्श गरेको थिएँ । पेशाको बारेमा बुझाएको थिएँ । अस्पतालमा आफ्नो आवश्यकता बारे भनेको थिएँ । त्यो परामर्श निकै उपयोगी भएको अनुभव गरेको छु । त्यो परामर्श निकै उपयोगी भएछ । छोरीहरू मेरी आमा (उनीहरूकी हजुरआमा) लाई सम्झाउँछन् । ‘मेरी आमा भो पर्दैन जागिर खान’ भन्दै दिनको एकपटक रुनुहुन्छ । उनीहरू हजुरआमालाई सम्झाउँछन् । ‘हजुरआमा त्यसो नभन्नु, हाम्रो बाबा अस्पताल जानुपर्छ घर बसेर हुँदैन’ भन्छन् । उहाँ नातिनीहरूले भनेपछि अलि सम्झिएजस्तो गर्नुहुन्छ । म पनि आमालाई दिनको एकपटक सम्झाउँछु । सावधानी अपाउनु पर्छ । सर्तक हुनुपर्छ आमा चिन्ता गर्नु हुन्न भन्छु । आमाको मन न हो, चिन्ता लाग्नु स्वभाविक हो । म अस्पताल जानु आवश्यक छ भन्छु । सम्झाईबुझाई गर्दा आमा अलि सम्हालिनु हुन्छ ।
म एक स्वास्थ्यकर्मीको हैसियतले के भन्छु भने, त्रासित हुनु हँुदैन । सावधानी अपनाउनुपर्छ । सामाजिक दूरी कायम गरेर सरकारले लागू गरेको लकडाउनलाई पूर्ण पालना गरे जोखिमबाट टाढा रहन सकिन्छ । हामी स्वास्थ्यकर्मीहरू संक्रमण फैलन नदिन रात दिन नभनी खटिरहेका छौं ।
समुदायलाई कोरोना संक्रमणको जोखिमबाट जोगाउन बचाउन काम गरिरहेका छौं । कोरोनालाई परास्त गर्न हामीलाई नागरिकको सहयोग चाहिएको छ । हाँच्छ्यू गर्दा, खोक्दा आएको छिटा हाम्रो मुखमा आँखा नाकमा प¥यो भने भाइरसको संक्रमण फैलिने हो । त्यसैले सामाजिक दूरी अत्यन्तै महत्वपूर्ण । सामाजिक दूरी कायम गर्न म सबैलाई अनुरोध गर्छु ।

नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ ।

‘आफ्ना समस्या गौण’

डा.खगेश्वर गेलाल
प्रमुख स्वास्थ्य कार्यालय, ललितपुर

सम्मानको श्रृंखला 

आज भन्दा २६÷२७ दिन अघिसम्म म नेपाल सरकारको स्वास्थ्य रणनीतिसहित जिल्लाभित्रका स्वास्थ्य गतिविधि र वार्षिक कार्यक्रमहरूमा केन्द्रित भएर काम गर्थे तर अहिले विश्वमै महामारीको रूप लिएको कोराना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणतर्फ केन्द्रित भएको छु । यो महामारी नियन्त्रणका लागि मसँग एउटा टिम छ , जुन अहोरात्र खटिइरहेको छ । यो अर्थमा मेरो दिनचर्या मात्रै होइन, सोच, योजना समेत परिवर्तन भएको छ ।
म लगायत मेरो समूह नै निरन्तर काममा खटिइरहेको छ । अत्यन्तै जरुरी नभएसम्म बिदा पनि बसेका छैनौं । यो समय भनेको हामी स्वास्थ्यकर्मीले आफूलाई प्रमाणित गर्ने समय हो । जनतालाई  ‘हामी तपाईहरुसँगै छौ’ भन्दै चेतना जगाउने समय हो । कोरोना भाइरसको संक्रमण बारे जनचेतना जगाउनुका साथै हाम्रो स्वास्थ्य सुरक्षामा समेत हामी सचेत हुनुपर्छ । चनाखो रहनुपर्छ ।
यो अवस्थामा अन्य व्यक्तिगत विषय र समस्याले महत्व पाउँदो रहेनछ । महामारी नियन्त्रण भए, संक्रमित कोही नभए , सम्पूर्ण कुराको व्यवस्थापन राम्रोसँग हुन सके हामीले भोगेका अप्ठ्यारा र समस्या गौड हुन्छ । शरीरले पाएको पीडा त्यसै बिर्सिन्छ । समुदायलाई संक्रमणबाट बचाउन गरिएका प्रयत्न नै आनन्ददायी क्षण हुन्छन् । तिनै विषयले खुशी दिदोँ रहेछ ।

कोरोना संक्रमणको शंका लागेका बिरामीको स्वास्थ्य परीक्षण गर्दा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीइ) प्रयोग गर्छु । एन ९५ मास्क प्रयोग गर्छु । जिल्ला प्रमुख भएकाले निजी अस्पताल, सरकारी अस्पतालहरूको अनुगमन गर्ने, आइसोलेनस, आइसीयू, भेन्टीलेनसनको अवस्था, क्वारेन्टिन व्यवस्थापनको छलफलमा पनि म सहभागी हुनुपर्छ ।
कोरोना संक्रमणको केशहरू बढ्यो भने तिनलाई व्यवस्थापन गर्न ललितपुर जिल्लाका ६ वटा स्थानीय सरकारसँग समन्वय गरेर स्वास्थ्य कार्यालयले काम  गरिहेको छ ।
ललितपुरका पालिकाहरूमा सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर विदेशबाट आएका तर ३० दिन ननाघेकाहरुको ¥यापिड डाइग्नोसिस टेस्ट (आरडीटी) गर्न व्यस्त छौं ।
आरडीटी परीक्षणमा जाँदा सम्बन्धित पालिका प्रमुखसँग पालिकाले कोराना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गर्नु भएका गतिविधिका बारेमा छलफल ग¥यौं । गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखले विपद् व्यावस्थापन कोष खडा गर्नु भएको जानकारी गराउनुभयो ।
कोन्जोसोम गाउँपालिकाले ८० लाख रुपैयाँ आन्तरिक स्रोतबाट कोषको लागि छुट्याएको रहेछ । महाँकाल गाउँपालिकाले २५ लाख रुपैयाँ छुट्याएको रहेछ । यी पालिकाले विकास निर्माणको काम गर्दा बच्ने रकम पनि विपद् व्यावस्थापन कोषमा राखेका रहेछन् ।
कोन्जोसोम गाउँपालिकाका अध्यक्षले विदेशबाट आएका मानिसलाई पालिकाले बोलाउँदा नआए गाउँपालिकाले दिने सबै सेवा रोक्नेसम्मको निर्देशन दिनुभएको रहेछ । यो थाहा पाएर खुशी लाग्यो, यो माहामारी विरुद्ध जनप्रतिनिधिको चासो र सक्रियता देखेर ।
संक्रमण नियन्त्रण ऐन २०२० आकर्षित भएर लकडाउन भएकाले आरडीटी परीक्षणमा नआए, नेपाल सरकारले जारी गरेको सावधानीका उपायहरु अवलम्बन नगरेको भए प्रहरी लगाएर उहाँहरुलाई ल्याउँछु भन्ने सम्मको निर्देशन जारी गर्नु भएको रहेछ । यस्तो खालको निर्देशनले स्थानीय सरकारबाट महामारी नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पाएँ । स्थानीय तहमा जनप्रतिनिधि भएकाले यो सम्भव भएको हो । जनप्रतिनिधिले आफ्नो पालिकालाई कोरोना भाइरस संक्रमण हुनबाट रोक्न चाल्नु भएको यो कदम अत्यन्तै प्रशंसनिय रहेको पाएँ ।
महांकाल गाउँपालिका प्रमुखले स्वास्थ्यकर्मी, जनप्रतिनिधिलाई परिचालन गरी बाहिरबाट आएको मानिसहरूलाई आरडीटी परीक्षणका लागि बोलाउनु भएको रहेछ । परीक्षण गर्दा उहाँहरूको सबैको रिपोर्ट नेगेटिभ आयो । जनप्रतिनिधिले हामीलाई काम गर्न सहज बनाइदिनुभयो । यो वातावरणले हामी स्वास्थ्यकर्मीलाई काम गर्न प्रेरणा मिलेको छ । गाउँपालिका  र नगरपालिकामा जनप्रतिनिधि हुँदा र नहुँदा आनको तान फरक पर्ने रहेछ । विदेशबाट नगरपालिका वा गाउँपालिका आएको तथ्यांक अध्यावधिक राख्नदेखि परीक्षणसम्ममा हामीलाई सजिलो भयो । जनप्रतिनिधि नहुँदा स्वास्थ्य क्षेत्र यी सम्पूर्ण जानकारी सजिलै पाइदैन थियो ।
विपद्का बेलामा स्वास्थ्य क्षेत्रको महत्व र योगदान  जनप्रतिनिधि, स्थानीय सरकार, प्रदेश र संघीय सरकारले बुझ्न पाएको मौका पनि हो यो । स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने लगानीलाई समेत यो महामारीले बुझाएको छ ।
नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ ।

अध्ययनमै रात छर्लङ्ग


हामी को हौं

हामी शब्द शक्तिशाली हुन्छ भन्ने कुरामा विश्वास गर्छौं । शब्द शब्द मिलेर बनेको अक्षरको समूहले संसार बदल्ने तागत राख्छ । त्यसो त संसारमा परिवर्तनका लागि अक्षर, वाक्य र वाक्याशंको आधार, शब्द मात्रै पनि पर्याप्त छैन । सोच, विचार र योजनालाई व्यवहारमा उतार्नेहरूको कथा आवश्यक छ । तब न हामी उनीहरूका कुरालाई धागोमा फूल उनेर माला गाँसे झैं गाँस्न सक्छौं । शब्द मार्फत सम्मान गर्न सक्छौं । त्यत्तिमात्रै होइन, शब्दरूपी त्यो मालालाई अजम्बरी बनाएर नयाँ पुस्तालाई उपहार दिन सक्छौं ।

शब्द घरले विभिन्न क्षेत्रमा भएका प्रयासलाई  शब्द मार्फत बाहिर ल्याउने जमर्को गरेको छ । जुन विषय ‘अनटोल्ड स्टोरी’ का रूपमा छन्, जसलाई न भोग्नेले सुनाउन वा लेखाउन चाहन्छ, न त सोध्नेले नै सोध्छ । न सोध्न आवश्यक नै  छ भन्ने ठान्छ उसले । त्यस्ता विषयहरू हाम्रो प्राथमिकतामा पर्छन् ।
शब्द घरले व्यक्तिगत तथा संस्थागत पुस्तक लेखन, श्रब्य दृश्य सामग्री उत्पादन तथा स्मारिका तयार पार्नेलयायतका काम गर्छ ।
अनुसन्धान यो संस्थाको अर्काे मूल कार्य क्षेत्र हो । यसले समाजमा  सुन्न नखोजिएका, नसुनिएका  वर्ग–समुदायको आवाजलाई अभिलेखिकरण गर्ने प्रयास गर्दछ ।
भनिन्छ, भजन गाउने ओठहरू भन्दा सेवा गर्ने हातहरू महान हुन्छन् । कोरोना भाइरस (कोभिड—१९) बाट संक्रमितहरूको उपचारमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक र  स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवा, सुरक्षाकर्मी, जनप्रतिनिधिहरु सम्माननीय हुनुहुन्छ । आदरणीय हुनुहुन्छ । उहाँहरूको सम्मानका लागि शब्द घरले सुरु गरेको सम्मानको श्रृंखलाबाट शब्द घरका अन्य श्रृंखला क्रमशः आउने छन् ।