Thursday, April 23, 2020

अध्ययनमै रात छर्लङ्ग


डा. शेरबहादुर पुन 
क्लिनिकल रिर्सच युनिट, संयोजक
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमितहरू नेपालमा फेला परेपछि मेरो दैनिक केही बदलिएको छ । संचारमाध्यमसँग संवाद गर्नु, अस्पतालमा आएका बिरामीलाई परामर्श दिनु मेरो नियमित कामसँगसँगै थपिएको जिम्मेवारी हो ।
बिहान गर्ने हल्का व्यायम पछि मेरो दिनचर्या सरू हुन्छ । व्यायम गर्नु मेरो सानै देखिको बानी हो । व्यायमले दिनभर ताजा राख्न मद्दत गर्छ । बिहान ९ बजे अस्पताल पुगिसक्नु पर्छ । त्यसैले बिहान साँझ भन्दा अलि व्यस्त हुन्छु ।
अस्पताल आएका  बिरामीमा विशेष गरी अहिले बढी मात्रामा परामर्शको खाँचो देखिएको छ । उहाँहरूलाई परामर्श दिने र आवश्यक पर्नेलाई भर्ना गर्नुपर्ने हुन्छ । साँझसम्म अस्पतालमा हुन्छु । अनुसन्धान मेरो क्षेत्र भएकाले नयाँ केस आउन सक्छन्, त्यसलाई सुक्ष्म ढंगले हेर्नुपर्ने भएकाले म अस्पतालमा अरू बेला भन्दा धेरै समय बताउँछु । घर फर्कदा साँझ परिसकेको हुन्छ ।

यतिखेर चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई एकातिर पेशागत जिम्मेवारी छ, अर्को तर्फ हाम्रो सुरक्षा अर्को चुनौति छ । म काम गर्ने अस्पतालमा पुरै शरीर डिस इन्फेक्सन गर्ने खालको घर जस्तै बनाइएको छ । घर आउनु अघि अस्पतालको त्यो घरमा अनिवार्य पस्छु । जहाँ पसेपछि शरीर सफा हुन्छ । स्यानिटाइजर प्रयोग गर्ने,  साबुन पानीले हात धुनु त नियमित नै भै हाल्यो । 

गाडी चलाउने बेलामा फेरि स्यानिटाइजर प्रयोग गर्छु । किनभने गाडीमा कतै भाइरस छ कि भनेर स्यानिटाइजर प्रयोग गरेको हुँ । घरमा आइसकेपछि नुहाउने, अस्पताल जाँदा लगाएको लुगा घर बाहिर नै फेर्छु । त्यसपछि मात्रै, घरभित्र प्रवेश गर्छु ।
घर आएपछिको केही घण्टा दिउँसो बिरामीलाई दिएको परामर्श र उनीहरूको मनोभावनालाई विश्लेषण गर्ने काम हुन्छ । कोरोना भाइरसको संक्रमण नेपालमा देखिएपछि व्यक्ति व्यक्तिमा त्रास बढेको पाएको छु । त्यो त्रास कोरोनाको संक्रमण भन्दा पनि डरलाग्दो छ । डर लाग्नु स्वभाविक हो । तर आत्तिनु हुँदैन । आत्तिदा सकारात्मक बन्न सकिँदैन । आत्मबल कमजोर हुन्छ । अब के गर्ने सोच्न सकिँदैन । सावधानी अपनाएर सकारात्मक बन्नुपर्छ ।
साँझको समय अध्ययन, विश्लेषणमा बित्छ । घटनाक्रमको विश्लेषण गर्दा, तथ्यांक केलाउँदा अबको रणनीति तयार पार्न सजिलो हुन्छ । कार्ययोजना बनाउन सजिलो हुन्छ ।  प्रायजसो आठ बजेपछिको समय कोरानाकै बारेमा केन्द्रित रहेर अनुसन्धान र छलफलमा बित्छ ।
विभिन्न देशका विश्वविद्यालयका प्राध्यापकहरू छलफल गर्ने, अनुसन्धानको बारे अपडेट हुर्ने, कोरोनासँग सम्बन्धित लेखहरूमा कमेन्ट गर्ने, सुधारका लागि सल्लाह लेखेर पठाउर्ने, नयाँ योजना र धारणा राख्र्ने काम गर्दा गर्दै धेरैजसो त भोलिपल्ट बिहान २÷३ बज्छ । रात बितेको पत्तै हुँदैन । रात छर्लङ्गै हुन्छ । कोरोनाभन्दा अघि पनि म सुत्दा ‘लेटनाइट’ नै हुन्थ्यो । त्यो क्रम अहिले बढेको छ ।
मलाई धेरैले प्रश्न गर्नु हुन्छ । तपाई अस्पताल जानु हुन्छ । अनि घरमा पनि ......।  आम मान्छेको मनमा यो प्रश्न उठ्नु स्वभाविक हो । र ठीक पनि हो । हो, म अस्पतालबाट घर आएपछि परिवारका सदस्यसँग दूरी कायम गरेर बस्छु । व्यक्ति व्यक्तिबीच दुरी कायमलाई परिवारमा प्राथमिकता दिएको छु । यो नियम मेरो लागि विशेष लागू हुन्छ । लगभग ६ फिटको दुरी कायम अनिवार्य गर्छु ।
कोरोना भाइरस (कोभिड–१९) को बारेमा पहिला हामीले जे सोचेको थियौं त्यो अवस्था रहेनछ भन्ने अहिलेको घटना क्रमले संकेत गरेको छ । यो हाम्रो लागि राम्रो संकेत हो भन्ने मैले ठानेको छु । आगामी दिनहरू कस्ता हुन्छन् त्यो हेर्न बाँकी नै छ । तर पनि मैले यो प्रारम्भिक तथ्यांक केलाएर हेर्दा पहिलाको भन्दा अहिलेको स्थिति धेरै सुधार देखेको छु ।
नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ ।

No comments:

Post a Comment