Thursday, April 23, 2020

‘आफ्ना समस्या गौण’

डा.खगेश्वर गेलाल
प्रमुख स्वास्थ्य कार्यालय, ललितपुर

सम्मानको श्रृंखला 

आज भन्दा २६÷२७ दिन अघिसम्म म नेपाल सरकारको स्वास्थ्य रणनीतिसहित जिल्लाभित्रका स्वास्थ्य गतिविधि र वार्षिक कार्यक्रमहरूमा केन्द्रित भएर काम गर्थे तर अहिले विश्वमै महामारीको रूप लिएको कोराना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणतर्फ केन्द्रित भएको छु । यो महामारी नियन्त्रणका लागि मसँग एउटा टिम छ , जुन अहोरात्र खटिइरहेको छ । यो अर्थमा मेरो दिनचर्या मात्रै होइन, सोच, योजना समेत परिवर्तन भएको छ ।
म लगायत मेरो समूह नै निरन्तर काममा खटिइरहेको छ । अत्यन्तै जरुरी नभएसम्म बिदा पनि बसेका छैनौं । यो समय भनेको हामी स्वास्थ्यकर्मीले आफूलाई प्रमाणित गर्ने समय हो । जनतालाई  ‘हामी तपाईहरुसँगै छौ’ भन्दै चेतना जगाउने समय हो । कोरोना भाइरसको संक्रमण बारे जनचेतना जगाउनुका साथै हाम्रो स्वास्थ्य सुरक्षामा समेत हामी सचेत हुनुपर्छ । चनाखो रहनुपर्छ ।
यो अवस्थामा अन्य व्यक्तिगत विषय र समस्याले महत्व पाउँदो रहेनछ । महामारी नियन्त्रण भए, संक्रमित कोही नभए , सम्पूर्ण कुराको व्यवस्थापन राम्रोसँग हुन सके हामीले भोगेका अप्ठ्यारा र समस्या गौड हुन्छ । शरीरले पाएको पीडा त्यसै बिर्सिन्छ । समुदायलाई संक्रमणबाट बचाउन गरिएका प्रयत्न नै आनन्ददायी क्षण हुन्छन् । तिनै विषयले खुशी दिदोँ रहेछ ।

कोरोना संक्रमणको शंका लागेका बिरामीको स्वास्थ्य परीक्षण गर्दा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीइ) प्रयोग गर्छु । एन ९५ मास्क प्रयोग गर्छु । जिल्ला प्रमुख भएकाले निजी अस्पताल, सरकारी अस्पतालहरूको अनुगमन गर्ने, आइसोलेनस, आइसीयू, भेन्टीलेनसनको अवस्था, क्वारेन्टिन व्यवस्थापनको छलफलमा पनि म सहभागी हुनुपर्छ ।
कोरोना संक्रमणको केशहरू बढ्यो भने तिनलाई व्यवस्थापन गर्न ललितपुर जिल्लाका ६ वटा स्थानीय सरकारसँग समन्वय गरेर स्वास्थ्य कार्यालयले काम  गरिहेको छ ।
ललितपुरका पालिकाहरूमा सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर विदेशबाट आएका तर ३० दिन ननाघेकाहरुको ¥यापिड डाइग्नोसिस टेस्ट (आरडीटी) गर्न व्यस्त छौं ।
आरडीटी परीक्षणमा जाँदा सम्बन्धित पालिका प्रमुखसँग पालिकाले कोराना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गर्नु भएका गतिविधिका बारेमा छलफल ग¥यौं । गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखले विपद् व्यावस्थापन कोष खडा गर्नु भएको जानकारी गराउनुभयो ।
कोन्जोसोम गाउँपालिकाले ८० लाख रुपैयाँ आन्तरिक स्रोतबाट कोषको लागि छुट्याएको रहेछ । महाँकाल गाउँपालिकाले २५ लाख रुपैयाँ छुट्याएको रहेछ । यी पालिकाले विकास निर्माणको काम गर्दा बच्ने रकम पनि विपद् व्यावस्थापन कोषमा राखेका रहेछन् ।
कोन्जोसोम गाउँपालिकाका अध्यक्षले विदेशबाट आएका मानिसलाई पालिकाले बोलाउँदा नआए गाउँपालिकाले दिने सबै सेवा रोक्नेसम्मको निर्देशन दिनुभएको रहेछ । यो थाहा पाएर खुशी लाग्यो, यो माहामारी विरुद्ध जनप्रतिनिधिको चासो र सक्रियता देखेर ।
संक्रमण नियन्त्रण ऐन २०२० आकर्षित भएर लकडाउन भएकाले आरडीटी परीक्षणमा नआए, नेपाल सरकारले जारी गरेको सावधानीका उपायहरु अवलम्बन नगरेको भए प्रहरी लगाएर उहाँहरुलाई ल्याउँछु भन्ने सम्मको निर्देशन जारी गर्नु भएको रहेछ । यस्तो खालको निर्देशनले स्थानीय सरकारबाट महामारी नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पाएँ । स्थानीय तहमा जनप्रतिनिधि भएकाले यो सम्भव भएको हो । जनप्रतिनिधिले आफ्नो पालिकालाई कोरोना भाइरस संक्रमण हुनबाट रोक्न चाल्नु भएको यो कदम अत्यन्तै प्रशंसनिय रहेको पाएँ ।
महांकाल गाउँपालिका प्रमुखले स्वास्थ्यकर्मी, जनप्रतिनिधिलाई परिचालन गरी बाहिरबाट आएको मानिसहरूलाई आरडीटी परीक्षणका लागि बोलाउनु भएको रहेछ । परीक्षण गर्दा उहाँहरूको सबैको रिपोर्ट नेगेटिभ आयो । जनप्रतिनिधिले हामीलाई काम गर्न सहज बनाइदिनुभयो । यो वातावरणले हामी स्वास्थ्यकर्मीलाई काम गर्न प्रेरणा मिलेको छ । गाउँपालिका  र नगरपालिकामा जनप्रतिनिधि हुँदा र नहुँदा आनको तान फरक पर्ने रहेछ । विदेशबाट नगरपालिका वा गाउँपालिका आएको तथ्यांक अध्यावधिक राख्नदेखि परीक्षणसम्ममा हामीलाई सजिलो भयो । जनप्रतिनिधि नहुँदा स्वास्थ्य क्षेत्र यी सम्पूर्ण जानकारी सजिलै पाइदैन थियो ।
विपद्का बेलामा स्वास्थ्य क्षेत्रको महत्व र योगदान  जनप्रतिनिधि, स्थानीय सरकार, प्रदेश र संघीय सरकारले बुझ्न पाएको मौका पनि हो यो । स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने लगानीलाई समेत यो महामारीले बुझाएको छ ।
नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ ।

No comments:

Post a Comment