Monday, April 27, 2020

एकजना बिरामीले भन्नुभयो, ‘डाक्टर साब, आप तो ठीक हेना’


डा.संगीता मिश्र
मेडिकल सुपरिटेन्डेड,
कोसी अञ्चल अस्पताल

सम्मानको श्रृंखला 

बिहान सबेरै निस्कन्छु । घर फर्कंदा राति हुन्छ । घरबाट नै अस्पताल आउँजाउँ गरेकी छु । दिनचर्या एकदमै व्यस्त भएको छ । प्रायजसोः १४–१५ घण्टाभन्दा धेरै समय अस्पतालमा बित्छ ।
घरमा श्रीमान, छोराहरू र सासूआमा हुनुहुन्छ । उहाँहरूको सहयोगले अस्पतालमा काम गर्न सजिलो भएको छ । उहाँहरूले सहयोग नगरेको भए, कहाँ संभव हुन्थ्यो दिनको त्यत्तिधेरै समय काम गर्न ।  कामको चापले दिउँसोको खाना खान याद नै हुँदैन । धेरैजसो अस्पतालमा नै ल्याइदिनुहुन्छ । फोन गरेर खाना, खाए–नखाएको सम्झाउनु हुन्छ । उहाँहरूको फोनले काम गर्न हौसला मिलेको अनुभव हुन्छ । परिवारको साथले अगाडि बढ्न प्रेरणा मिल्छ ।
अस्पतालमा संक्रमित ल्याएको पहिलो दिनदेखि म घरमा छुट्टै बसेको छु । ७६ वर्षको सासूआमा हुनुहुन्छ । बृद्धबृद्धालाई छिटो संक्रमणको संभावना भएकाले सावधानी अपनाएकी हुँ ।
परिवारका सदस्यलाई जोखिम नहोस् भनेर छुट्टै बसेकी हुँ । सँगै बसेर कुराकानी गर्न नपाएको, खाना नखाएको धेरै दिन भैसक्यो । अस्पतालमा भएका मुख्य–मुख्य कुराहरू म परिवारमा ‘सेयर’ गर्थे । हिजोआज  धेरै महत्वपूर्ण निर्णय हुन्छन् । तनाव पनि भएको हुन्छ । ती कुरा कसैलाई भन्न नपाउँदा उकुसमुकुस हुन्छ । कोठामा एक्लै बस्नुपर्ने, एक्लै खानु पर्ने । यस्तो समस्या यसअघि नभोगेकाले  गाह्रो भइरहेको छ ।
गाइनेकोलोजी विभागको प्रमुख जिम्मेवारीमा थिएँ । संक्रमण सुरु हुनुभन्दा केही साता अघिबाट मेडिकल सुपरिटेन्डेडको जिम्मेवारी पनि थपियो । झन् कोभिड अस्पताल सञ्चालन गरेपछि थपिएको जिम्मेवारीले समय व्यवस्थापन गर्न गाह्रो भएको छ । एक साथ धेरै जिम्मेवारी हुँदा समय व्यवस्थापन गर्न निकै गाह्रो भएको छ । तर परिवार तथा साथीहरु सबैको साथ र सहयोगले व्यवस्थापन भइरहेको छ ।

कसरी बन्यो कोभिड अस्पताल 

हामीले फागुनबाट थालेको सक्रियताकै कारण धेरै संक्रमितको एउटै अस्पतालमा उपचार सम्भव भएको हो । त्यतिबेला नै मैले स्थानीय तह, प्रदेश सरकारसँग कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई एउटै अस्पतालमा राख्नु हुन्न, छुट्टै अस्पताल बनाउनुपर्छ भनेकी थिएँ । सबैले त्यसमा सहमति जनाउनु भयो । छलफल लगत्तै विराटनगर–१० स्थित पुरानो नेसनल ट्रेडिङको भवनमा कोभिड–१९ अस्पताल बनायौं । यो अस्पतालमा अहिले कोभिड पोजेटिभ बिरामीको उपचार भइरहेको छ । यो अस्पताल बनाएपछि कोसी अस्पतालका शल्यक्रिया र प्रसुति सेवासहित अन्य सेवा रोक्नु परेको छैन । जति बेला विराटनगरमा कोरोना संक्रमणको केस देखिएको थिएन, पूर्व संकेत पनि थिएन, देखिएला भन्ने आँकलन पनि धेरै कमले गरेका थिए, त्यस्तो बेलामा अस्पताल बनाउने निर्णय ग¥यौं । त्यही दूरदर्शी निर्णयका कारण बिरामी राख्ने ठाउँ अभावले अहिले पिरोलिनु परेको छैन । आवश्यकता नै पर्दैन कि भन्ठान्दै निर्माण गरिएको अस्पतालमा अहिले ३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । देशभर देखिएका ५१ जना कोरोना संक्रमितमध्ये सबैभन्दा धेरैले यो अस्पतालमा उपचार गराइरहेका छन् । ५० बेडबाट सुरु गरिएको कोभिड अस्पतालमा अहिले ८५ बेड पुगिसकेको छ । हामीलाई अहिले स्थान होइन, जनशक्ति अभाव छ ।
म जनस्वास्थ्य विज्ञ पनि हुँ । विश्वप्रसिद्ध जोन्स हप्किन्स विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा प्राप्त गरेको मेरो डिग्री धेरै संक्रमितलाई एउटै अस्पतालमा व्यवस्थित तरिकाले उपचार गर्न काम लाग्यो । संक्रमणको संभावना आँकलन गरी तयारीमा जुट्न सजिलो भयो । मेरो अध्ययन अनुभव, कोसी अञ्चल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, स्थानीय सरकार एवं प्रदेश सरकारका प्रतिनिधिको संयुक्त पहल (टिमवर्क) र सहयोगले सबै अप्ठ्याराहरू व्यवस्थापन भएका हुन् ।

सहयोगी बिरामी 

हाम्रो अस्पतालमा पहिलो केस बैशाख ९ गते शनिबार रातको १ बजे आएको हो । कोराना पोजेटिभ बिरामीलाई ‘रिसिभ’ गर्न म गएकी थिएँ । केही दिनअघि उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा रहेका मुस्लिमलाई ल्याउँदा पनि पुगेकी थिएँ ।
बिरामीले हामीलाई सहयोग गर्नु भएको छ । उहाँहरूले कुरा बुझ्नु भएको छ । तपाईहरूका कारण संक्रमण फैलन सक्छ, बाहिर निस्कन हुँदैन भन्दा ‘हामीलाई थाहा छ, निस्कन्नौं’ भन्नुहुन्छ । म उहाँलाई बरोबर फोन गरिरहन्छु । आवश्यक पर्दा पीपीई लगाएर जान्छु । एक दिन मैले पालै पालो बिरामीलाई फोन गरेँ । अवस्था सोधेँ । समस्या भए बताउन भनेँ । एक जना बिरामीले मैले सोध्नु भन्दा अगाडि नै सोध्नु भयो, ‘डाक्टर साब आप तो ठिक हेना ।’
डाक्टरको सुरक्षाप्रति बिरामीले गरेको चिन्ता र चासो देखेर ऊर्जा मिल्यो । आफू ठिक रहेको बताएँ । उहाँको बारेमा सोधेँ । उहाँलाई केही समस्या परेको रहेनछ ।

(मिश्र कोसी अञ्चल अस्पतालले सुरु गरेको कोभिड युनिट इन्चार्ज पनि हुन्)





नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ


# सम्मानको श्रृंखला # डा.संगीता मिश्र # कोसी अस्पताल # संक्रमित # गाइनेकोलोजी # कोभिड अस्पताल # कोभिड–१९ # जनस्वास्थ्य विज्ञ # जोन्स हप्किन्स विश्वविद्यालय

No comments:

Post a Comment