Sunday, May 17, 2020

बिरामीको सहयोग नै हाम्रो हौसला

सम्मानको श्रृंखला 
   डा. सुदर्शन थापा 
कोरोना फोकल पर्सन, कोरोना अस्पताल, बुटबल 

सरकारले तोकेको बुटबलस्थित कोरोना विशेष अस्पतालमा अहिले ३६ जना कोरोना संक्रमित बिरामी भर्ना हुनुभएको छ । उहाँहरूको उपचार भइरहेको छ । एक दुईजना बाहेक अन्य बिरामीको अवस्था सामान्य छ । उहाँहरूमा लक्षण देखिएको छैन । सामान्य औषधि मात्रै चलाएका छौं । कोरोनाका बिरामीलाई उपचार गर्ने अस्पताल र अन्य रोगका बिरामीलाई उपचार गर्ने अस्पताल एकै  साथ चलाउनु पर्दा चिकित्सक, स्वास्थ्यकर्मी व्यस्त छौं । जिम्मेवारी थपिएको छ । व्यवस्थापनमा चुनौतिहरू छन् । लुम्बिनी प्रादेशिक अस्पतालको पनि सेवा निरन्तर छ । एउ
कोरोना संक्रमित बिरामी पहिलो पटक आउँदा हामी अन्यौलमा थियौं । अन्यौल हुनुु स्वभाविक पनि थियो । नयाँ रोग, औषधि नबनेको रोग, यी कारणले हामी चिकित्साकर्मी अन्यौलमा थियौं । टिम वर्क र बिरामीको सहयोगले हामीभित्रको त्यो अन्यौल र डर अहिले मत्थर हुँदै गएको छ । कोरानासँग लड्न हामीसँग कामप्रति समर्पित समूह छ । उहाँहरू दिलोज्यान दिएर
काममा खटिनु भएको छ । उहाँहरू सबैजनालाई धन्यवाद भन्न चाहन्छु ।
उपचारका लागि आउनु भएका बिरामीबाट पनि हामीले सहयोग पाएका छौं । बिरामीले ‘परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर जान्छौं’ भन्नु हुन्छ । रिपोर्ट नेगेटिभ आउनका लागि के–के गर्नुपर्छ भन्ने हुन्छ । उहाँहरू जतिसक्दो छिटो निको भएर घर जान इच्छुक हुनुहुन्छ । जस्तोसुकै सतर्कता अपनाउन पनि तयार हुनुहुन्छ । पथ परेजमा बस्न तयार हुनुहुन्छ । मानसिक र शारीरिक रूपमा स्वस्थ हुनु बिरामीले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्छ । त्यो प्रयास गर्नुभएको छ । हामीले पनि उपचार सहित उहाँहरूको सहजतालाई ध्यान दिएका छौं । उहाँहरूलाई कोरोना संक्रमणका बारेमा बुझाउँछौं । उपचार पद्धतिका बारेमा बताउँछौं । त्यसले उहाँहरूको आत्मबल बढाउन मद्दत गर्नेरहेछ । जति आत्मबल बढ्यो, त्यति बिरामीले आफूलाई बलियो महसुश गर्छ । अन्य सतर्कतासहितको आत्मबलले कोरोनासँग जित्न मद्दत गर्छ ।

अधिकांश भारतबाट फर्किएका 

यहाँको कोरोना अस्पतालमा भर्ना भएका धेरै कोरोना संक्रमितहरू भारतमा काम गरेर नेपाल फर्किएकाहरू हुनु हुन्छ । जति पनि पोजेटिभ देखिनु भएको छ, उहाँहरू अधिकांश भारतको आफ्नो कामबाट फर्किएहरू नेपाली हुनुहुन्छ । यहाँ उपचारमा रहनु भएका बिरामीहरू एउटै परिवारको हुनुहुन्न । एउटै गाउँका पनि हुनुहुन्न । खुल्ला सिमानाका कारण भारतबाट आउने नेपालीलाई क्वारेन्टिन नराखेसम्म कोरोना नियन्त्रण गाह्रो हुन्छ ।
ठाउँ ठाउँमा क्वारेन्टिन बनाएर भारतबाट आउने बिरामीलाई राख्नु पर्छ । खुल्ला सिमानाका कारण कामका लागि त्यहाँ गएकाहरू सजिलै फर्कन सक्छन् प्रत्येक पालिकामा पर्याप्त क्वारेन्टिन बनाउनु पर्छ । त्यसो भयो भने, कोरोनाको बिरामीको उपचारमा हामी सफल हुन्छौं । हाम्रो अस्पतालमा गाउँपालिका र नगरपालिकाका बिरामी हुनुहुन्छ ।
केही समय अघि महाकाली नदी तरेर भारतबाट नेपाल भित्रिएकाको समाचार हामीले पढेकौ हौ । यति मात्रै होइन, क्वारेन्टिनलाई बस्नु भनेको नराम्रो होइन भन्ने कुरा पनि बुझाउनु आवश्यक छ । कोरोना संक्रमण हुनु नराम्रो हो, भन्ने बुझाई पनि परिवर्तन हुनुपर्छ । यो संक्रमण जसलाई पनि हुनु सक्छ । सकेसम्म संक्रमित नहुने हो, संक्रमित भइहाले पनि आइसोलेसनमा बस्ने, आइसोलेसनमा बस्दा मनोबल उच्च बनाउने ग¥यो भने हामीले पक्कै पनि कोरोनालाई जित्छौं । कोरोनाबाट मुक्ति पाउनका लागि हामीले सर्तकतासहित संयमता अपनाउनुपर्छ । अहिलेको अवस्थालाई विश्लेषण गर्दा, भारतलगायत अन्य देशबाट आएकालाई क्वारेन्टिनमा राख्ने व्यवस्था पहिलो महत्वपूर्ण कुरा हो । दोस्रो भनेको नागरिकले गर्नुपर्ने काम हो, नागरिक सचेत हुनु अत्यावश्यक छ । सरसफाइमा ध्यान दिने, सामाजिक दूरी कायम राख्ने कायम राख्ने गर्न सके कोरोनालाई हामी हराउन सक्छौं । अहिलेको आवश्यकता भनेको स्वास्थ्य सर्तकता सहित धैर्यता र सावधानी हो ।






No comments:

Post a Comment