Wednesday, June 3, 2020

स्वास्थ्य र कृषि केन्द्रित बजेट ल्याउँछौं


शब्द घर ः अन्तर्वार्ता श्रृंखला


गजेन्द्र महर्जन
मेयर, गोदावारी नगरपालिका 

  गोदावरी नगरपालिकाले कोरोना भाइरस   नियन्त्रण  तथा   रोकथामलाई केन्द्रित गरी के   कस्ता  
कामहरू गरेको छ ? 
  
  लकडाउन सुरू हुनुभन्दाअघि नै कोरोना भाइरसका           बारेमा  वडावासीलाई चेतना जगाउन सूचना प्रवाह गरयौें ।   घर घरमै पुगेर वडावासीलाई कोरोना भाइरस, यसको         जोखिमका बारेमा बुझायौं । सञ्चारमाध्यमहरूबाट पनि        सूचना प्रवाह ग¥यौं । 
  कोरोना भाइरस नियन्त्रणका लागि संघीय सरकारले लागू    गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी      जीवन निर्वाह गर्ने वर्ग प्रभावित भएको थियो । उनीहरूको    घरमा चुल्हो बल्ने अवस्था थिएन । त्यसैले त्यस्ता वर्गलाई     लक्षित गरी राहत वितरण ग¥यौं । अहिले हामीले       वडावासीलाई लकडाउनको पूर्ण पालना गर्न अनुरोध   गरिरहेका छौं । किनमेल र अत्यावश्यक काममा बाहिर निस्कँदा भौतिक दूरी कायम गरी क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेका छौं । नगरपालिकाभित्र कोरोनाका संक्रमितलाई राख्न बज्रबाराही अस्पतालमा २० शै्याको क्वारेन्टिन सञ्चालन गरेका छौं । यसैगरी नगरपालिका भित्रिएका ६ सय जनाको नरपालिकाले कोरोना परीक्षण गरिसकेको छ । सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउन चाहन्छु ।  

स्थानीय तह अहिले आर्थिक वर्ष २०७७÷२०७८ को बजेट निमार्णको संघारमा छ ? कुन–कुन  विषयमा केन्द्रित भएर बजेट ल्याउने तयारी गर्दै हुनुहुन्छ ? 

हो, स्थानीय तह अहिले बजेट निर्माणको संघारमा छ । बजेटका बारेमा छलफल गरिरहेका छौं । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष ल्याउने बजेट केही भिन्न प्रकृतिको हुन्छ । र हुनुपर्छ । अहिले हामी कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छौं । नेपाल मात्रै होइन, यो भाइरसबाट विश्व नै आक्रान्त छ । निश्चय पनि यो महामारीले हामीलाई झण्डै तीन महिनादेखि घर भित्रै राखेको छ । संक्रमणको डर छ । यी त भए नकारात्मक कुरा । कोरोना महामारीले हामीलाई स्वास्थ्यसँगसम्बन्धी पूर्वाधारको अवस्था र तयारीको बारेमा छर्लङ्ग पारिदिएको छ । त्यसैले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधारमा केन्द्रित हुनेछ । कोरोना महामारीको अहिलेको अवस्थामा हाम्रो ध्यान स्वास्थ्यसँग सम्बन्धित पूर्वाधार निर्माणमा हुनुपर्छ । स्वास्थ्य क्षेत्रमा गरेको अहिलेको लगानी दीर्घकालीन लगानी हो । 

त्यसो भए, नगरपालिकाले के गर्छ त, स्वास्थ्यसँग सम्बन्धित पूर्वाधार निर्माणका लागि ?


गोदावरी नगरपालिकाको चापागाउँस्थित बज्रबाराही अस्पताल छ । यो अस्पताललाई सुविधा सम्पन्न बनाउन छलफल गरिरहेका छौं । नगरवासीलाई उपचार गर्न अन्यत्र कहीं जान नपर्ने गरी अस्पताल निर्माण अहिलेको आवश्यकता हो । नगरवासीको माग हो । नगरपालिकाको बजेटले मात्रै नपुगे प्रदेश र संघीय सरकारसँग समन्वय गरेर बज्रबाराही अस्पताललाई ललितपुरको सुविधा सम्पन्न अस्पताल बनाउँछौं । त्यसैगरी, नगरपालिकामा भएका हेल्थपोस्टहरूको स्तरोन्नति गरी त्यहाँबाट दिने सेवासमेत चुस्त बनाउँछौं । नगरपालिकाको वडा नं ५ र १४ मा रहेका प्राथमिक स्वास्थ्य उपचार केन्द्रको स्तरोन्नतिको लागि छलफल भइरहेको छ । ती केन्द्रहरूको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौं । 

नगरपालिका बजेट निर्माण गर्दा कृषिलाई प्राथमिता दिने भन्नु भएको छ ? कस्तो कार्यक्रम ल्याउँदै हुनुहुन्छ ? 


महामारीले जीर्ण भएको अर्थतन्त्रका कारण नगरवासीको जीविकोपार्जन जटिल बन्ने निश्चित छ । कृषिमा गरिएको लगानीले यो जटिलताबाट बाहिर निस्कन केही मद्दत गर्छ । विश्वले नै महामारी झेलिरहेको अवस्थामा खाद्य संकटदेखि अन्य विभिन्न संकटहरू आइपर्न सक्छन् । त्यसैले कृषिमा आत्मनिर्भरता जरूरी छ । लकडाउन सुरू भएपछि नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानलगायत अन्य बाली र तरकारीका बिउहरू नगरबासीलाई उपलब्ध गराएको थियो । वडाभित्र कुनै पनि ठाउँ बाँझो नराख्न नगरपालिकाले वडाहरूमा पत्राचार गरिसकेको छ । कुनै कारण खेती गर्न नसक्ने जग्गाधनीले वडासँग समन्वय गरेर अर्को व्यक्तिलाई खेती गर्न लगाउन सक्छ । यी सबै काम कृषिलाई प्राथमिकतामा राखेर गरेको काम हो । यसका साथै, खेती उपकरण (जमिन खन्नका लागि प्रयोग हुने ट्याक्टर लगायत अन्य) केहीलाई अहिले पनि अनुदान स्वरूप दिएका छौं । कृषि उपकरण अनुदान दिने सन्दर्भमा पनि छलफल भइरहेको छ । बजेट अघिको नीति तथा कार्यक्रमले यसलाई समेट्छ । कृषिमा आधुनिकिरण आवश्यक भएको महसुश गर्दै नगरपालिकाले अघिल्ला आर्थिक वर्षहरूमा पनि विभिन्न कार्यक्रम ल्याएको थियो । चालु आर्थिक वर्षमा पनि नगरपालिकाले कृषि कर्म गर्नेलाई कृषि औजार खरिद गर्न अनुदान प्रदान गरेको थियो । संभावना हुँदा हुँदै कृषिमा हामी परनिर्भर छौं । आफूसँग भएको स्रोत र साधन प्रयाग गरेर कृषिमा आत्मनिर्भर हुनु आवश्यक छ । त्यसका लागि कृषिलाई जोड दिएका हौं । 

अन्तर्राष्ट्रिय उडानहरू खुलेपछि नेपाल फर्कने नेपालीका बारेमा कुरा गरौं, त्यसरी फर्कर्ने नगरवासीका बारेमा के सोच्नु भएको छ ?


हो, यो असाध्यै संवेदनशील विषय हो । विदेशबाट नेपाल फर्कनु भएकाहरू कोरोना भाइरस संक्रमित हुनु भएको हुन सक्छ । त्यसैले उहाँहरूलाई राख्नका लागि प्रत्येक वडामा क्वारेन्टिन सञ्चालन गरेका छौं । समुदायमा घुलमिल हुनुअघि, परिवारलाई भेट्नु अघि कोरोना परीक्षण हुन्छ । पोजेटिभ देखिए उहाँहरूलाई क्वारेन्टिनमा राखिन्छ । त्यहाँ निश्चित दिन बसेपछि उहाँहरूको कोरोना परीक्षण हुन्छ । परीक्षण नतिजा नेगेटिभ आयो भने मात्रै समुदाय र परिवारमा जानसक्नु हुन्छ । 
अन्त्यमा,
कोरोना भाइरस संक्रमण र नियन्त्रणका लागि नगरवासीले धेरै सहयोग गरिरहनु भएको छ । लकडाउनका नियमहरू पालना गरिरहनु भएको छ । नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू एक भएर, सामूहिक निर्णय गरिरहेका छौं । यसमा कर्मचारी प्रशासनको पनि पूर्ण साथ र सहयोग पाइरहेका छौं । सम्पूर्ण नगरवासीलाई संयमता अपनाउँदै, यो परीक्षाको अवस्थामा सजग र सतर्क हुन अनुरोध गर्दैछौं । 



No comments:

Post a Comment