Friday, May 29, 2020

आत्तिएकी म अहिले सम्हालिँदै

सम्मानको श्रृंखला 
वन्दना रिसाल 
नर्स प्राक्टिस्नर, अस्टिन रिजनल क्लिनिक
टेक्सास, अमेरिका 
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिने बित्तिकै त म धेरै आत्तिएकी थिएँ । कसरी काम गर्ने ? कहिलेसम्म यसरी काम गर्न सकिन्छ ? जस्तो प्रश्न मनमा आइरहन्थ्यो । काम नै छोडौं, छोडौं मात्रै लागिरहन्थ्यो । कि काम छाड्छु, कि त बिदामा बस्छु भन्नेमा पुगेकी थिएँ । मनोवैज्ञानिक रूपमा कमजोर भएकी थिएँ । मनमा चिन्ता थियो । डर लाग्थ्यो । मन डराउनुको कारण, मैले गर्दा मेरो परिवार समेत असुरक्षित होला कि भन्ने प्रमुख थियो । 
पीपीई सेट लगाएर दिनभर ड्युटीमा खट्नु पर्दा निकै अप्ठ्यारो भएको थियो सुरू सुरूमा । पीपीई लगाउन र खोल्न निकै समय लाग्छ । तरिका मिलाएर लगाउनु पर्छ । सावधानीपूर्वक लगाउनु पर्छ । लगाएको तरिका नमिल्ने असुरक्षित भइन्छ । पटक पटक हात धोएकाले छाला एकदमै फुस्रो भएको थियो । हातको छाला नै निस्किएको थियो । पीपीई सेट लगाउनु, हातको छाला फुस्रो हुनु, घरभित्र नपसि बगैंचा पुग्नु यी सामान्य भएका छन् अहिले ।
अमेरिकामा अवस्था विस्तारै सामान्य बन्दै गएको छ । अब कोरोनासँग सतर्क हुँदै जीवन र दिनचर्या सँगसँगै अघि बढाउनु पर्ने अवस्था छ । यो वातावरण र अवस्थाले आफूलाई सामान्य महसुश गर्नु थालेको हुँ । यहाँको सपिङ सेन्टरहरू पनि नियमपूर्वक विस्तारै खुल्दैछन् । बिरामीहरूमा पनि कोरोनाप्रतिको बुझाइको तह विस्तारै बढ्दै  गएको छ । 
कोरोना संक्रमण कहिले सकिन्छ, यो सजिलै भन्न सकिन्न । योबाट एउटा ठाउँ र देशमा मात्रै होइन, विश्व नै समस्या ग्रस्त भएको छ । यो सम्झँदा कोरोनासँग जोगिँदै आफ्नो पेशामा प्रतिबद्ध भएर लाग्ने ऊर्जा मिल्छ । 
म अमेरिका आएको १७ वर्ष जति भयो । अहिले टेक्सासको ‘अस्टिन रिजनल क्लिनिक’ मा नर्स प्राक्टिस्नरको रूपमा कार्यरत छु । बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्म क्लिनिकमा नै हुन्छु । मेरो पाँच वर्ष पुग्नै लागेको छोरो छ । घरबाट निस्कदाँ ऊ उठेको हुँदैन । बेलुका क्लिनिकबाट फर्किएपछि सबैभन्दा पहिला घर पछाडिको बगैंचामा जान्छु । बगैंचामा ‘सेड’ जस्तो ठाउँ छ । क्लिनिक जाँदा लगाएका लुगा, ब्याग अन्य सामग्री त्यहीं राख्छु । हातमुख धुन्छु । त्यसपछि मात्रै घरभित्र पस्ने हो । घरभित्र पसेपछि सबैभन्दा पहिलो काम नुहाउने हुन्छ । त्यसपछि मात्रै बाबु (छोरा) लाई भेट्छु । धेरैजसो त नुहाउनुभन्दा अघि उसको अघिल्तिर नै पर्दिन । कहिले कहीं हुत्तिएर आउँछ । ‘मामुसँग भाइरस छ, भाइरस छ भन्छ ।’
म काम गर्ने क्लिनिकमा कोरोना सुरू हुनुभन्दा पहिला उच्च रक्तचाप, कोलेस्ट्रोलका बिरामीहरूको चाप हुन्थ्यो । अहिले सामान्य रुघाखोकी लागेकाहरू, एलर्जीले रुघाखोकी लागेकाहरूका पनि ‘इज इट कोरोना ?’ भन्दै सम्पर्कमा आउनुहुन्छ । क्लिनिकमा कार्यरत चिकित्सक र नर्सहरूको सुरक्षाका लागि बिरामीलाई टेला भिजिट गर्ने गरेका छौं । टेलिफोन, भिडियोबाट उहाँहरूको समस्या बुझ्छौं । रोगको बारेमा थप बुझ्नुपर्नेलाई मात्रै क्लिनिकमा बोलाउँछौ । जो अस्पतालमा आउनु हुन्छ । उहाँहरूको समस्या अनुसार फरक फरक ट्रयाकमा पठाउँछौ । रुघाखोकी लागेका, डायरिया भएका, 
खानेकुराको स्वाद थाहा पाउन छाडेकाहरूलाई ट्रयाक एमा पठाउँछौं । अन्यको उपचार ट्रयाक बीमा हुन्छ । ट्रयाक भनेको कोठा जस्तै हो । बिरामीको समस्या अनुसार फरक फरक कोठामा पठाएका हौं । ट्रयाक एमा पठाएका बिरामीहरूको कोरोना परीक्षण गरिन्छ । त्यो परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि दोहो¥याए परीक्षण गर्न आउनु हुन्छ । एलर्जी वा अन्य कारणले रुघाखोकी लागेका बिरामीमा पनि कोरोना हो कि भन्ने त्रास छ । मानसिक रूपमा बिरामीहरू पनि कोरोना हो कि भन्ने शंकाले कमजोर हुनु भएको छ । 
कोरोना भाइरसको परीक्षण अमेरिकाम दुई तरिकाले गरिन्छ । पहिलो ¥यापिड र दोस्रो रेगुलर परीक्षण । ¥यापिडको रिपोर्ट दुई घण्टामै आउँछ । रेगुलरबाट गरिने परीक्षणबाट आउने रिपोर्टका लागि दुई, तीन कुर्नुपर्छ । हाम्रो क्लिनिकमा गर्नुपर्ने शल्यक्रियाको क्यू धेरै भइसक्यो । अब त्यो काम सुरु गर्छौै । शल्यक्रिया अघि कोरोनाको लक्षण देखिएको भए पनि नभए पनि बिरामीको अनिवार्य रूपमा परीक्षण गर्नुपर्छ । यो परीक्षणले आउनसक्ने जोखिमबाट बचाउन सहयोग पुग्छ । 







Thursday, May 28, 2020

हामी स्वास्थ्यकर्मी कोरोनासँग लड्ने ‘सिपाही’


सम्मानको श्रृंखला 


डा. राजन पाण्डे 

मेडिकल विभाग प्रमुख, भेरी अस्पताल 



कोरोना संक्रमित बिरामी डिस्चार्ज हुने दिन थियोे त्यो । शायद, पहिलो कोरोना बिरामी निको भएर डिस्चार्ज हुँदै हुनुन्थ्यो । अरू धेरैजना उपचारमा नै हुनुहुन्थ्यो । बिरामी निको भएर डिस्चार्ज भएपछि अन्य बिरामीले भन्नुभयो, ‘ए, यो त निको हुने रोग रहेछ, हामी पनि एक दिन निको भएर जान्छौं, धैर्य गरेर अस्पतालमा बस्नुपर्ने रहेछ ।’ निको भएर डिस्चार्ज हुने बिरामी अर्को बिरामीको लागि ऊर्जाको स्रोत हुनेरहेछ । निको हुने बिरामी त नजिरको रूपमा स्थापित भएको अनुभव गरेँ । उहाँहरूमा उत्पन्न भएको सकारात्मक भावनाले उपचार गर्न सजिलो भयो । सकारात्मक भावनाले आत्मबल बढाउँछ, त्यो आत्मबलले कोरोनासँग लड्न मद्दत गर्छ । 

भेरी अस्पतालबाट १० किलोमिटर दूरीमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखेर बिरामीको उपचार भइरहेको छ । भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिनु भएको छ । त्यहाँको व्यवस्थापन भेरी अस्पतालले नै सम्हालिरहेको छ । भेरी अस्पतालमा अन्य रोगका बिरामीहरूको उपचार पहिलेकै अवस्थामा भइरहेकाले छुट्टै उपचारको व्यवस्था मिलाएका हौं । 
कोरानो र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्नु हुँदैन भनेर यस्तो गरिएको हो । यो वास्तवमा एकदमै ठीक रहेछ । यसो गर्दा एकातिर नियमित सेवाले निरन्तरता पनि पाउने भयो । अर्को जनमानसमा त्रास पनि भएन । 
बालकदेखि साठी वर्षमाथिका ज्येष्ठ नागरिकको हामीले उपचार ग¥यौं । पहिलो कोरोना संक्रमित बिरामी उपचार गर्न आउँदा मन डराएको थियो । आत्तिएका भने थिएनौं । बिरामीको सहयोगले त्यो डर विस्तारै हट्दै गयो । अहिले त अन्य रोगका बिरामी र कोरोना बिरामी उस्तै जस्तो लाग्छ । तर, हामी आफ्नो सुरक्षाप्रति सचेत छौं । 
कोरोनाका बिरामी, जो हाम्रो अस्पतालामा उपचारका लागि आएका थिए, उनीहरू पहिलो केस थिएनन् । चार पाँच महिना अघि नै छिमेकी मुलुकमा देखिएको कोरोनासँग लड्न हामीले आफूले सक्ने जति पूर्वतयारी गरेका थियौं । 
लकडाउन सुरु हुुनुभन्दा अघि नै अस्पतालका चिकित्सक, नर्स, प्रयोगशालाका स्वास्थ्यकर्मी, सफाइकर्मी सबैलाई ‘इन्फेक्सन प्रिभेन्टिभ ट्रेनिङ दिएका थियौं । उक्त तामिमा  पीपीई लगाउने, मास्क लगाउने तरिका सिकाइएको थियो । अस्पतालको भुइँ, बिरामीको कोठा सफा गर्ने तरिकाबारे पनि तालिममा भनिएको थियो । अस्पताल भनेको समूहले काम गर्ने संस्था हो । एक जनाले मात्रै राम्रो र सुरक्षित तरिकाले काम गरेर हुँदैन । एक जनाले मात्रै सानो गल्ती ग¥यो भने ठूलो दुर्घटना हुने संभावना हुन्छ । तालिममा सबैलाई सहभागी गराउनुको उद्देश्य त्यो थियो । अन्तर्राष्ट्रिय अनुभवहरूबाट पनि कोरोनाबाट बच्न सिक्न सजिलो भयो । तराईसँग जाडिएको जिल्ला भएकाले हामी बढी जोखिममा छौं भन्ने थियो । 
‘संक्रमित बिरामीहरूले अस्पतालमा आउने बित्तिकै मलाई यहाँ  किन ल्याएको, मलाई के भएको छ र, म घर जान्छु’ भन्नु भएको थियो । हामीले उहाँको मनोविज्ञान बुझेर काम ग¥यौं । कोरोना संक्रमण, यसको प्रकृति र लक्षणका बारेमा बुझायौं । उहाँहरूले बुझ्नु भयो । स्वास्थ्यसँग सम्बन्धी नियमहरू पालना गर्नुभयो । सबैभन्दा पहिला उपचारका लागि आउनेहरू मुस्लिम समुदायका हुनुहुन्थ्यो । ‘हामीमा मात्रै किन यो संक्रमण’ भन्ने भाव पनि उहाँहरूमा थियो । 
बिस्तारै अरूमा पनि संक्रमण देखिएपछि उहाँहरूले त्यसलाई सामान्य रूपमा लिनुभयो । हामी मात्रै संक्रमित भएको होइन रहेछ भन्नुभयो । केही संक्रमितले, हाम्रो अस्पतालमा गरेको परीक्षणको रिपोर्ट पत्याउनु भएन । विश्वास गर्नु भएन । ‘हामीलाई पोजेटिभ देखिनु नपर्ने हो’ भन्नु हुन्थ्यो । सुरूमा त बिरामी रिपोर्ट विश्वास गर्नु भएन । उहाँहरूको चित्त बुझाउने स्याम्पल परीक्षणका लागि काठमाडौं पठायौं । काठमाडौं र यहाँको परीक्षण रिपोर्ट एउटै आएपछि उहाँहरू निश्चिन्त हुनुभयो । हामीलाई पनि काम गर्न सजिलो भयो । 
बिरामीको उपचार गर्नु हाम्रो कतव्र्य र दायित्व हो । हामी आफ्नो पेशागत दायित्वबाट विचल्लित हुँदैनौ  । यसो भनिरहँदा, के चाहिँ भन्नै पर्ने हुन्छ भने हामी कोरानोसँगको युद्धको सिपाही हौं । विश्वभर फैलिएको कोरोना अघोषित विश्व युद्ध जस्तै हो । पहिलो र दोस्रो विश्व युद्धमा बन्दुक बोकेका सिपाही लडेका थिए । अहिले हामी ‘सिपाही’ जस्तै भएर लडेका छौं कोरोनासँग । तर, यस्तो विषम परिस्थितिमा काम गर्दा कुनै क्षेत्रबाट सपोर्ट पाएका छैनौं । अहिले हाम्रो लागि धन्यवादका दुई शब्द पनि निकै महत्वपूर्ण हुन्छन् । ‘तपाईहरूले राम्रो काम गरिरहनु भएको छ, धन्यवाद’ मात्रै भनिदिँदा हामी उत्साहित हुन्छौं । ऊर्जा मिल्छ । तर, त्यस्तो धन्यवादका दुई शब्द अहिलेसम्म सुनिएको छैन । यसमा दुःख लागेको छ । 
बिरामीको उपचार र व्यवस्थापनमा खट्नु पर्दा व्यस्तता चुलिएको छ । घर जाने, परिवारसँग भेट्ने टुंगो हँुदैन । कोरोना अघि दिन भर गर्ने कामको बिहान खाका बनाउन सकिन्थ्यो । तर अहिले त्यस्तो छैन । कुन बेला कहाँ पुग्नुपर्छ र कस्तो निर्णय गर्नुपर्छ थाहा हुँदैन । तर, पनि आइ परेका जस्तोसुकै अप्ठ्यारो पनि समाधान गरेका छौं । यसमा मलगायत मेरो टिमलाई गर्व छ ।  म प्रमुख कन्सलटेन्ट फिजिसिजन पनि हुँ भेरी अस्पतालको । जिल्लामा गठन भएको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको प्रवक्ता समेत हुँ ।







Saturday, May 23, 2020

ढिला नगरी काठमाडौं उपत्यकामा छुट्टै कोरोना अस्पताल निर्माण गर्नुपर्छ

विज्ञ मत श्रृंखला 
              
                          प्रा.डा.राजिवकुमार झा 
निर्देशक, चाइना–नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर

केही दिन अघि एउटा समाचार पढें । त्यो समाचार पढेपछि म निक्कै बेर घोत्लिएँ । त्यो सामाचार थियो, ‘काठमाडौं प्रवेश गर्दा कोभिड परीक्षणको रिपोर्ट अनिवार्य चाहिन्छ’ म छक्क परेँ । निर्णय किन समयमा हुँदैन ? यो प्रश्नले मन विचलित भयो । यो निर्णय २० दिन अघि मात्रै हुन सकेको भए, काठमाडौं अहिलेको जस्तो जोखिममा हुँदैनथ्यो । लकडाउनको दुई महिना पूरा भइसके पछि मात्रै किन यस्तो निर्णय गरियो ? यो सबैभन्दा ठूलो प्रश्न हो । सरकारको यो ठूलो कमजोरी हो । सरकार चुकेको महत्वपूर्ण विषय हो, उपत्यकामा छुट्टै कोरोना अस्पतालका निर्माण । यति धेरै जनघनत्व भएको उपत्यकामा सरकारले छुट्टै कोरोना अस्पताल निर्माण गर्नुपथ्र्यो, त्यो अस्पताल निर्माण भएन, निर्माण गरिएन । अझै पनि समय छ उपत्यकामा पाँच–सात सय बेडको छुट्टै कोरोना अस्पताल निर्माण गर्नुपर्छ । कोरोना र अन्य रोगका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्दा वातावरण झन् त्रसित बन्छ । त्यसको पछिल्लो उदाहरण महाराजगन्जस्थित शिक्षण अस्पतालमा कोरोना संक्रमित देखिँदा त्यहाँ देखिएको आतंकित अवस्था । कोरोना संक्रमण फैलन नदिन सरकारले गर्नुपर्ने धेरै काम थिए, ती काम सरकारले गर्न नखोजेको हो कि गर्न नचाहेको हो, त्यो मैले बुझ्न सकिन् ।
सरकारले गर्नुपर्ने अर्को मुख्य काम भनेको जनचेतना हो । अधिकांश मानिसलाई कोरोना भन्ने शब्द मात्रै थाहा छ । के बालक, के वृद्ध सबै यो शब्दसँग अभ्यस्त भइसकेका छन् । तर, यसको लक्षण, सावधानी र पु¥याउने हानीका बारेमा उनीहरूलाई केही थाहा छैन । हेलचेक्रार्इं छ । नेपालीमा एउटा भ्रम के छ भने, नेपालीलाई कोरोना लाग्दैन । नेपालीको बुझाई नै यस्तो भयो । कोरोनालाई यति हल्का रूपमा लिनु हुँदैन ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको प्रतिशत दुई वा तीन भए पनि संक्रमण फैलने दर एकदमै धेरै हुन्छ । संक्रमित मान्छे सबैको मृत्यु हुँदैन तर, संक्रमणले व्यक्ति स्वयंलाई त अप्ठ्यारो हुने भै हाल्यो । परिवार, समुदाय र समाज समेत प्रभावित हुन्छ । त्यो असर आर्थिक, मनोवैज्ञानिक, स्वास्थ्यलगायत धेरै विषयसँग सम्बन्धित हुन सक्छन् । सरकारले चेतना कहाँ आवश्यक छ, त्यो छुट्याउनु पर्छ । काठमाडौंमा सीमावर्ती जिल्लाहरूमा जस्तो चेतना आवश्यक छैन । किनभने तराईमा अर्झै गरिबी, अशिक्षा र अभाव व्याप्त छ । बुझ्ने, बुझाउन सक्नेहरू वैदेशिक रोजगारीमा छन् । लेखपढ नगरेका, उमेर ढल्केकाहरू तराईका जिल्लामा भएकाले त्यहाँ चेतना जगाउनु अझै आवश्यक छ ।
प्रत्येक प्रदेशको आफ्नै खालको भौगोलिक अवस्था र विशेषता छ । चेतनाको अवस्था समेत फरक छ । त्यहाँ भएका अस्पतालहरूले जनताको अवश्यकता अनुसारको सेवा दिन सक्ने अवस्था छैन । त्यसैले नीति, योजना र कार्यक्रम बनाउँदा त्यहाँको वस्तुअवस्था बुझ्नु आवश्यक हुन्छ ।
मैले सुरुमै भनेको थिएँ, नेपालमा कोरोना चीनबाट भित्रिँदैन । भारतबाट भित्रन्छ । यसो भन्नुको मुख्य कारण हो, भारतसँग नेपालको खुल्ला सिमाना । तराईका जिल्लाहरूबाट खेतै खेत हिँडेर गएपनि भारत पुगिन्छ । जब लकडाउन सुरु भयो त्यसपछि भारतमा दैनिक ज्याला मजदुरी गर्नेहरू नेपाली स्वदेश फर्कन सुरु गरे । भारतीय सीमा क्षेत्रबाट नेपाली स्वदेश आउने क्रम बढेपछि यहाँ संक्रमणको दर ह्वात्तै बढेको देखिन्छ । सरकारले नेपालमा लकडाउन सुरु गरेलगत्तै भारतसँगको सीमा नाकाहरू बन्द गर्नुपथ्र्यो । सिमानामा ठूल्ठूला क्वारेन्टिन सञ्चालन गर्नुपथ्र्यो । सरकार त्यो काम गर्न चुक्यो ।
नेपाल अहिले संघीयता कार्यान्वयनको चरणमा छ । संघीय, प्रदेश र स्थानीय सरकारले आफ्नो कार्य क्षमता प्रस्तुत गरेर जनताको मन जित्ने महत्वपूर्ण अवसर पनि हो यो । नेतृत्वको काम गर्ने तरिका, सोच्ने शैली र तयार पारेको संयन्त्र कस्तो छ भनेर जनताले बुझ्ने समय भनेको नै अप्ठ्यारो परेको बेलामा हो । त्यो अहिले नै हो । संघीयता लागू भै सकेको अवस्थामा प्रादेशिक सरकार र  स्थानीय सरकार संघीय सरकारमाथि मात्रै निर्भर हुनु हुँदैन । नेपालमा संघीयता कार्यान्वयनको चरणमा भएकाले होला प्रदेश तथा स्थानीय सरकार संघीय सरकारसँग धेरै नै निर्भर देखिए । चीनमा कोरोना भाइरसविरुद्धको अभ्यासलाई हेर्ने हो भने, त्यहाँ प्रान्तहरूले आफ्नै स्रोत साधन प्रयोग गरेर काम गरे ।
संघीय सरकारले कोरोना नियन्त्रणका आवश्यक सम्पूर्ण स्रोत साधन अनुदान लिएर नै जुटाउँछु भन्नु हँुदैन । सांसद विकास कोषको रुपैयाँ कोरोना नियन्त्रण र रोकथाममा प्रयोग गर्नुपर्छ । उक्त कोषको रुपैयाँ कोरोना अस्पताल निर्माणमा लगानी गर्नुपर्छ । हाललाई त्यो अस्पताल कोरोना उपचारका लागि प्रयोग गर्ने, कोरोना नियन्त्रणपछि अर्को अन्य कुनै विशेष अस्पतालको रूपमा प्रयोग गर्न सकिन्छ ।

अब के गर्र्नु पर्छ 

सिक्ने र भविष्यको लागि योजना बनाउने हो भने, नेपालको लागि यो एउटा अवसर समेत हो  । अझै पनि नेपाली जनताले राजनीतिकर्मीलाई आफ्नो आदर्श मान्छन् । उनीहरूले भनेको कुरा पत्याउँछन् । चेतना जगाउनका लागि स्थानीय तहका नेता वा विभिन्न पार्टीका राजनीतिकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।  जनताको घर घरमा पुग्ने, उनीहरूको अवस्था बुझ्ने, कोरोना रोकथामका लागि कसरी तयारी गर्ने भन्नेबारे बुझाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । प्रदेश सरकारले समन्वयात्मक भूमिका निर्वाह गर्न सक्छ । विषय विज्ञहरूको समूह बनाएर अहिले र कोरोनापछिको योजना आफ्नो प्रवेश अनुसार तयार बनाउन सक्छ । संघीय सरकारले कोरोनालाई जित्न सबैभन्दा सक्षम र सफल भएको मुलुक चीनले गरेको तयारी, उसले बनाएको योजना र त्यहाँका चिकित्सकहरूले अपनाएको उपचार पद्धति लगायतका पक्ष अनुकरण गरी कार्यान्वयनमा ध्यान दिनुपर्छ । त्यसैले चीनका अनुभवी चिकित्सकलाई उनीहरूको दक्षता र सीप सिक्न नेपालमा ल्याउनुपर्छ ।
नेपालमा अहिले जति पनि संक्रमण देखिएको छ । यी सबै आयातित संक्रमण हुन् । छिमेकबाट संक्रमण सरेको छ । चीनतर्फबाट संक्रमणको दर छैन । भारतसँगको खुला सिमानाका कारण पछिल्लो चरण संक्रमणको दर बढेको हो । नेपालले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि चिनियाँ मोडल प्रयोग गर्नुपर्छ । अबको काम भनेको पहिलो प्राथमिकतामा नै राखेर डक्टर्स, नर्स तथा स्वास्थ्यकर्मीलाई कोरोनाबाट बचाउने तर्फ नै ध्यान केन्द्रित गर्नुपर्छ । उनीहरूलाई उच्च गुणस्तरका पर्सनन प्रोटेम्टिभ इक्युपमेन्ट (पीपीई) उपलव्ध गराउनु पर्छ । संक्रमितको पहिचानलाई बढवा दिनुपर्छ, संक्रमितको सम्पर्कमा आएकाहरूको टे«सआउटलाई पनि महत्वका साथ अघि बढाउनु पर्छ । संक्रमित व्यक्तिको मृत्यु हुने खतरा त यसै पनि कम छ । अहिले सम्मको अनुभवले के देखाएको छ भने ८० प्रतिशत कोरोना संक्रमित निको भएका छन् । मृत्यु हुने दर ३–४ प्रतिशत मात्रै हो । त्यसमा पनि बृद्ध नागरिक, दीर्घरोगीलाई कोरोना भाइरसले असर पारेको छ ।
म बसेको ठाउँ चीनको सान्सी प्रान्तबाट वुहान पुग्न फास्ट ट्रेनमा जाँदा पाँच घण्टा लाग्छ  । २३ वर्षदेखि चीन बस्दै आएको म चीनको सियान विश्वविद्यालयमा कार्यरत छु ।
म नेपाल आएको केही दिनपछि लकडाउन सुरु भएको हो । अहिले पनि म चिनियाँ साथीहरूसँग निरन्तर सम्पर्कमा छु  । त्यहाँको अवस्था, कोरोना संक्रमणको असर, लकडाउनका बारेमा म अपडेट छु  । चीनले झण्डै तीन महिना लकडाउन ग¥यो । मान्छेको जीवन भन्दा अरू केही कुरा महत्वपूर्ण होइनन् भन्ने उसले कोरोनालाई जितेर पुष्टि पनि गरिदियो । अहिले पनि एउटा सहरबाट अर्को सहरमा जाँदा क्वारेन्टिनमा बस्नुपर्छ । कोरोना परीक्षण पछि मात्रै एक सहरबाट अर्को सहरमा जान सकिन्छ । चीन सरकारले कोरोना संक्रमणलाई फैलन नदिन यतिसम्म ग¥यो कि चिकित्सक–स्वास्थ्यकर्मीहरूलाई घर घरमा ज्वरो नाप्नसम्म पठायो । संक्रमित भएकाहरू क्वारेन्टिन वा आइसोलेसनमा बसे । यो कार्यले अन्यमा संक्रमण फैलिन पाएन । सरकारले गरेको लकडाउनको निर्णय पनि चिनियाँ जनताले पूर्णरूपमा पालना गरे । लकडाउनसम्बन्धी नियमहरू पूर्णरूपमा पालना भयो । जनताको जीवन सुरक्षा आफ्नो कतव्र्य सम्झने चीन सरकार र लकडाउन तथा स्वास्थ्यसम्बन्धी सरकारद्वारा जारी नियमहरू पालना गर्नु आफ्नो कतव्र्य सम्झने नागरिकका कारण चीनमा कोरोना संक्रमण मत्थर भएको हो ।
नेपालमा त लकडाउन शब्दको प्रयोग मात्रै गरियो । त्यसको पालना भएन । नेपालको जस्तो लकडाउनलाई लकडाउन भनिँदैन  । त्यसैले म अझै पनि भन्छु, लकडाउनको कुनै विकल्प छैन । कुनै औषधि वा खोप नबनेको अवस्थामा लकडाउनको पूर्ण पालना गर्नुपर्छ । यो अप्ठ्यारो परिस्थितिमा जनताका लागि आवश्यक स्वास्थ्य सामग्री र खाद्य सामग्री सरकारले उपलब्ध गराउनु पर्छ ।

कोरानामा चीन

चीनले कोराना भाइरसमा सफलता पाउनुमा संघीय सरकार तथा प्रान्तिय सरकारको सावधानकै कारण हो । चीनको मेडिकल शिक्षा संसारको भन्दा कम छैन भन्ने प्रमाणका रूपमा पनि यसलाई जोड्नु पर्छ । डिसेम्बर महिनाको मध्यतिर देखा परेको कोरोना भाइरस वुहान प्रान्तमा जनवरी २३ मा आएर मात्रै व्यापक स्तरमा फैलिएको थियो । वुहानमा स्प्रिङ फेस्टिभल सुरु हुनै लाग्दा भाइरसको संत्रमणण दर फैलिएको हो । फेस्टिभलका लागि विश्वविद्यालय, कलेज, स्कुलहरू सबै बिदा भइसकेका थिए । स्प्रिङ फेस्टिभलकै कारण धेरै मानिसको एक साथ धेरै मुभमेन्ट भयो । धेरै मानिसहरूको मुभमेन्ट भएपछि भाइरस सर्ने खतरा कम गर्न त्यहाँको सरकारले मानिसहरूलाई क्वारेन्टिनमा राखेर लकडाउन गरिदियो । शुन्य देखि १४ दिनमा कोरोना भाइरसको संक्रमण देखा पर्ने भएकाले सबैलाई १४ दिन क्वारेन्टिनमा राखियो । चीन अटोक्रेटिक शासन पद्धतिमा चलेकाले पनि लकडाउन कार्यान्वयन प्रभावकारी भयो । वुहानबाट कोही मानिस पनि बाहिर जान पाएनन् । वुहानमा कोराना भाइरस संक्रमण देखा पर्न थालेपछि ५० लाख मानिसहरू बाहिर गएका थिए । चीनले हङकङ, थाइल्याण्ड, ताइवानलगायतका स्थानमा गएका आफ्ना नागरिकलाई ट्रेस गरी सम्पर्कमा ल्याउन सक्यो । पश्चिमा मिडियाले भने जस्तो वुहानमा मात्रै होइन, म बसेको सान्सी प्रान्तसहित बेइजिङलगायत सबै चिनियाँ भूभागमा कोरोना संक्रमण देखा परेको थियो । चीनले आफ्ना सबै भूभागमा कोरोनोको संक्रमण दर कम गर्न लकडाउन गरेको थियो । तर पश्चिमा तथा युरोपेली मिडियाले वुहानलाई मात्रै इपिसेन्टर मानेर प्रचारप्रसार गरिरहे । चीनमा रहेका विदेशी दूतावासहरूले आफ्ना नागरिकहरू चार्टट विमानमार्फत लग्न थालेका थिए । नागरिकहरू फिर्ता लैजाँदा उनीहरूले ‘वुहान भाइरस’ संसार भर फैलिएको सन्देश दिन छाडेनन् । वुहानमा अहिले पनि विदेशीको आवगमनमा प्रतिबन्ध नै छ । आफ्ना नागरिकको मुभमेन्ट भने खुला छ । विश्व विद्यालय, स्कुल–कलेज अझै खुलेका छैनन् । बजार, केही सिनेमा घर, सरकारी कार्यालय पनि सुरक्षाका सबै प्रबन्ध गरी खोलिएका छन् । वुहान संक्रमण सुरु हुनु अघिको अवस्थामा अझै आएको छैन ।
सुरुमा चीनले कोरोना भाइरस फैलने दरलाई मध्यनजर गर्दै महामारी घोषणा गर्न माग राख्दा अमेरिकासहितका राष्ट्रले ‘वुहान भाइरस’ भनि डब्लुएचओलाई समर्थन गरेनन् । आफू कहाँ संक्रमणको दर व्यापक भएपछि महामारी घोषणा गर्न बाध्य पारे । उनीहरूको द्धैध चरित्रकै कारण कोरोना महामारी घोषणा गर्न केही विलम्व पनि भयो ।

इटालीको सन्दर्भ 

इटालीका नागरिकमा एउटा के भ्रम छ भने हामी संसारका अन्य मुलुकको तुलनामा सुरक्षित छौं भन्ने । व्यक्तिगत डर नागरिकका बीचमा छैन भन्नै छ । हामीमाथि कुनै खालको संक्रमणले आक्रमण गर्दैन भन्ने थियो । त्यहाँ चिनियाँ पर्र्यटकको निर्वाध आवगमन कायमै रह्यो । मानिसहरूको जमघट हुने भेला हुने जस्ता गतिविधिमा कुनै बन्जेद लागेनन् । डब्लुएचओले सावधानी अपनाउन भन्यो, त्यो पनि माननेन् । इटालीको सम्पूर्ण जीडीपीको महत्वपूर्ण हिस्सा चिनियाँ पर्यटकको आगमनमा निर्भर छ । त्यहाँ चिनियाँ लगानी पनि प्रशस्तै छन् । चिनियाँ पर्यटक आएनन् भने हामी सकिन्छौं भन्ने बुझाइएका कारण संक्रमणको दर अत्याधिक बढेको हो । प्रजातान्त्रिक अधिकार प्रयोग गर्दा संक्रमणको दर बढेको हो । इटालीका नागरिकले कोरोना संक्रमण देखिएपछि पनि भेला हुने, नाइट क्लबमा जाने जस्ता गतिविधिलाई पूर्ववत रूपमानै प्रयोग गरी रहे । चीनले मानिसको ज्यानलाई बढी प्राथमिकता दियो अन्य मुलुकले मानव अधिकारको कुरा उठाए त्यही नै गल्ती भयो ।

डा.झा र चीन  

२३ वर्षअघि चीन हानिएका नेपाली प्राध्यापक डा.झालाई सन् २०१८ मा चीनको सियान सरकारले ‘सियान फ्रेण्डसिप अवार्ड’ प्रदान गरी उनको योगदानको उच्च सम्मान ग¥यो । सियानमा रहेर चीनको आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा विशेष योगदान पु¥याउने विभिन्न क्षेत्रका प्रतिभाशाली विदेशी व्यक्तित्वलाई सियान सरकारले यो पुरस्कार प्रदान गर्दछ ।
सियानमा रहेका करिब १० हजार प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका व्यक्तित्वमध्येबाट १० जना छनोट गरी पुरस्कार दिएको हो ।
सियान सरकारले प्रत्येक दुई वर्षमा ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा.झासहित ९ देशका १० जना विशिष्ट व्यक्तित्वलाई प्रदान गरेको थियो ।
५० हजार आरएमबी (चिनियाँ रकम) राशीसहितको उक्त पुररस्कार सन् २००९ देखि प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ । यो पुरस्कार प्राप्त गर्ने डा.झा पहिलो नेपाली हुन् ।
पित्तथैलीको क्यान्सरको प्रकोप कम गर्ने विषयमा चिनियाँ विश्वविद्यालबाट विद्यावारिधी र त्यसपछि विद्या बाचस्पति (पोस्ट डक) पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा.झाको नाममा सियान प्रान्तिय सरकारले चारवर्ष अघि ‘चाइना¬–नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको थियो । सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै दुई देशबीचको चिकित्सकीय अनुभव आदान प्रदान पनि हुने गरेको छ । रिसर्च सेन्टरको पहिलो चीन भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
प्रा.डा.झा चीनका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर पनि हुन् । चीनको सान्सी प्रान्तले प्राध्यापक झालाई चीन– नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै केही महिना अघि नागरिक दूत नियुक्त गरेको थियो ।
गतवर्ष झालाई सियान प्रान्तले नै चिनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रूपमा पनि नियुक्त गरेको थियो ।




Friday, May 22, 2020

घर पठाउनुअघि वडाअध्यक्षलाई खबर गर्छौै

सम्मानको श्रृंखला 


डा.हरिबहादुर खड्का 


मेडिकल सुपरिटेन्डेन्ट, हेटौंडा प्रादेशिक अस्पताल
हेटौंडा प्रादेशिक अस्पतालमा मैले कोरोना युनिट संयोजकको जिम्मेवारी सम्हालिरहेको छु । कोरोना बिरामीको उपचार र अन्य रोगका बिरामीको उपचारमा खट्नु पर्दा व्यस्तता चुलिएको छ । कुन बेला कहाँ पुग्नुपर्छ, त्यो थाहा हँुदैन । कतिखेर कस्तो निर्णय गर्नुपर्छ, त्यस बारे पनि हामी अनभिज्ञ नै हुन्छौं । जुन बेला जे आइपर्छ, समूहमा छलफल गरेर निर्णय गर्ने हो । नेपालले मात्रै होइन, विश्वले नै खेपिरहेको यो महामारीमा हामी काम गर्दै सिक्दैको अवस्थामा छौं ।
यहाँ कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र सम्पूर्ण कर्मचारीको उच्च मनोबल र टिम वर्कले यो संभव भएको हो ।
अस्पतालको भवन अहिले निर्माणाधिन अवस्थामा छ । अन्य सेवा पनि सञ्चालन गर्नुपर्ने भएकाले अस्पतालमा नै आइसोलेनस वार्ड बनाउन पुग्ने ठाउँ भएन । त्यसैले, अस्पताल भन्दा केही पर कररा भन्ने ठाउँमा रहेको श्रमिक माध्यमिक विद्यालयमा आइसोलन वार्ड बनाएका छौं । विद्यालय भएकाले त्यहाँ फराकिलो ठाउँ छ । बिरामीलाई सकेसम्म सबै खालका सुविधा पु¥याएका छौं ।
आइसोलेन वार्डमा ३० वेड छन् । यहाँका अन्य निजी अस्पतालसँग समन्वय गरेर प्राविधिक काम हेटौंडा अस्पतालले नै सम्हालिरहेको छ । चिकित्सक, नर्स तथा प्रयोगशालाका जनशक्तिहरू हेटौंडा अस्पतालका नै हुनुहुन्छ । अन्य कर्मचारी नगरपालिकाले उपलब्ध गराएको छ ।
आइसोलेसन वार्डमा अहिले दुई सय भन्दा बढी कोरोना संक्रमित शंका लागेका बिरामी हुनुहुन्छ । हेटौंडा बारा, पर्सासँग जोडिएको जिल्ला भएकाले कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाहरूलाई पनि आइसोलेसन वार्डमा राखेका हौं ।
चैतको २१ गतेबाट कोरोना क्लिनिक सुरु ग¥यौं । कोरोना क्लिनिकमा जचाउन आउनु भएकाहरूलाई कोरोनाको जस्तो लक्षण देखिएमा वा शंका लागेकाहरूलाई एम्बुलेन्समा राखेर आइसोलेसन वार्डमा पु¥याउँछौं । उक्त क्लिनिकबाट नौसय ५० जनाले सेवा लिइसक्नु भएको छ ।
आइसोलेसन वार्डमा राखिएकाहरूको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उहाँहरूलाई घर पठाउँछौं । घर पठाउँदा उहाँहरू बसोबास गर्दै आउनु भएका वडाको सम्बन्धित वडाअध्यक्षलाई खबर गर्छांै । पालिकाका प्रमुखलाई पनि खबर गर्छौ । यसो गर्नुको उद्देश्य भनेको आइसोलेसनमा बसेकाहरूको अवस्थाबारे स्थानीय अपडेट हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । आरटीडी परीक्षणपछि गएका बिरामीलाई घरमा बस्दा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी नियमहरू बुझाएर पठाउँछौं । अस्पतालकै गाडीले घरसम्म पु¥याउने व्यवस्था मिलाएका छौं ।
आइसोलेसनमा बसेकाहरूको पीसिआर टेस्ट ग¥यौं । हालसम्म कसैको पनि पोजेटिभ रिपोर्ट आएको छैन । आइसोलेसन वार्डमा बसेका बिरामीको सहयोगले हामीलाई काम गर्न हौसला मिलेको छ । एक दुईजना बिरामीमा मानसिक समस्या रहेछ । उहाँहरू आइसोलेसन छाडेर हिँड्नु भयो । त्यत्तिखेर हामीलाई एकदमै समस्या भएको थियो । आइसोलेसनमा राखेका कोरोना संक्रमणको शंका लागेका बिरामीले त्यहाँबाट भोगेर हिँड्दा समुदाय त्रसित थियो । आइसोलेसनबाट भाग्ने बिरामीहरूमा मानसिक समस्या रहेछ । उहाँहरूलाई फेरि आइसोलेसनमा फर्काउन प्रहरीलाई अनुरोध गर्नु प¥यो । त्यस्तो समस्या भए नभएको पहिला नै थाहा पाउन सके उपचारको उपायमा पनि विविधता ल्याउन सकिन्छ । समस्या थाहा नहुँदा उपचारमा समस्या हुँदो रहेछ ।
अहिले नेपालमा संक्रमणको दर दिनप्रति दिन बढ्दै गएको छ । यो अवस्थामा सरकारलाई जनताले सहयोग गर्नुपर्छ । त्यसैगरी अस्पतालमा काम गर्ने चिकित्सकलाई बिरामीले गर्ने सहयोग महत्वपूर्ण हुन्छ । जोखिम मोलेर काम गरिरहेका हामीलाई बिरामीले गर्ने सहयोग नै हाम्रो लागि ऊर्जा हो । अर्को कुरा, सरकारले लागू गरेको लकडाउनको पालना अहिलेको अर्को महत्वपूर्ण आवश्यकता हो । आत्तिने होइन संयमित भएर सुरक्षा सर्तकता अपनाउनु पर्छ ।
कोरोना संक्रमितलाई टाढा पठाउनु भन्दा सबैभन्दा नजिकको अस्पतालमा उपचार गर्नुपर्छ । त्यसो हुँदा संक्रमण फैलन संभावना कम हुन्छ । समुदायमा फैलन सुरु गरेको कोराना संक्रमणको गतिलाई फैलन नदिन प्रत्येक पालिकामा एउटा कोरोना अस्पताल निर्माण गर्नुपर्छ ।





Tuesday, May 19, 2020

एउटै परिवारका १८ जना अस्पतालमा

सम्मानको श्रृंखला 
                    
                    श्रुति शाह 
नर्सिङ अधिकृत, नारायणी अञ्चल अस्पताल

चैत २६ गतेको दिन । म अस्पतालको ड्युटीमै थिएँ । तीनजना कोरोना संक्रमित बिरामी आउँदै हुनुहुन्छ भन्ने खबर आयो । सुरूमा त अन्यौल नै भयो । बिरामीलाई कसरी सम्हाल्ने ? के गर्ने ? आफ्नो सुरक्षा कसरी होला ? यस्तै यस्तै प्रश्न मनभरि मडारिए । अवस्था जस्तो भए पनि काम गर्नु नै थियो । त्यसैले, मनलाई सम्हालेँ ।
तीन–चार हुँदै अहिले अस्पतालमा ७१ जना कोरोना संक्रमित बिरामी हुनुहुन्छ । कोरोना संक्रमित बिरामीहरूको एउटा ठूलो परिवार जस्तै भएको छ । बालबालिका, युवा, ज्येष्ठ नागरिक सबैजना हुनुहुन्छ । उपचारमा रहेकामध्ये केहीमा मधुमेहको रोग छ । कोही मुटुरोगका बिरामी हुनुहुन्छ । मधुमेहका बिरामीले रोटी खाने गरेको बताउनु भयो । रोटीको व्यवस्था गरी दियौं । अस्पतालको आफ्नै क्यान्टिन छ । त्यो क्यान्टिनमा खानेकुरा मिठो खाना पकाउने दिदीहरू हुनुहुन्छ । दिदीहरूले खाना पकाउनु हुन्छ । सुरु सुरुमा खानेकुरा नून तेल कम राखेर बनेको  थियो । उहाँहरू त्यस्तो नून तेल नै कम खानुपर्ने बिरामी होइन, भनेपछि अन्य बेलामा खाने जस्तै खानेकुरा पाक्यो । मिठो मानेर खानु हुन्छ ।
हामीले पौष्टिक खानेकुरालाई एकदमै जोड दिएका छौं । रोग प्रतिरोधात्मक क्षमता आवश्यक हुने भएकाले खानेकुरालाई जोड दिनुपर्ने उहाँहरूलाई बताएका छौं । बिहान अण्डा र दूध, १० बजेतिर खाना, खाजा र बेलुकाको खाना गरी चार पटक खानाको व्यवस्था गरेका छौं । एकै खालको खाजाभन्दा दिनै पिच्छे फरक–फरक मेन्यूको व्यवस्था गरेका छौं । भुजा चना, चिउरा तरकारी, हलुवा तरकारी खाजामा खुवाउँछौं । एउटा ठूलो परिवारको व्यवस्थापन गरिरहेका छौं । यो व्यवस्थापन हाम्रो लागि चुनौतिको सामना र सिकाइ दुबै हो । अरु बेलामा उपचारका लागि आउने बिरामीलाई औषधि दिए मात्रै पुग्थ्यो । अन्य रेखदेख अस्पतालले गर्नुपर्दैन थियो । तर, अहिलेको अवस्था त्यस्तो छैन । कोभिडका बिरामीको उपचार, खाना, सरसफाइ सबै अस्पतालले नै व्यवस्थापन गर्नुपर्छ । यो अस्पतालका लागि थपिएको जिम्मेवारी हो । 

१७ जनाको खबर 

एक दिन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले फोन गर्नुभयो । १७ जना कोभिड संक्रमित बिरामी आउँदै छन् उनीहरूका लागि तयारी गर्न भन्नुभयो । उहाँलाई मैले ‘वीआर रेडी’ सर भन्नें । १७ जना आउनु अघि नै हामीले उहाँको निर्देशनमा अन्य वार्डहरूलाई पनि आइसोलेसन वार्डको रूपमा व्यवस्थित गरी सकेका थियौं । त्यहाँ पिउने पानी, नुहाउने पानीको व्यवस्था ग¥यौं । संक्रमितलाई राख्न मिल्ने गरी सम्पूर्ण व्यवस्था मिलायौं । यी सम्पूर्ण व्यवस्था एक्लो प्रयासले मात्रै भएको होइन, हामीसँग चुस्त समूह भएकाले नै संभव भएको हो । सिनियर दिदीहरू, जुनियर बहिनीहरूको टिम वर्कले ठूलो जस्तो लागे पनि काम छिट्टै संभव भइरहेछ । कोभिडका बिरामी बढे पनि पहिले कै जनशक्तिले धान्नु परेको अवस्था छ । तर पनि सक्दो व्यवस्थापन गरेका छौं । जिर्ण र सानो  पूर्वाधार हाम्रो अहिलेको अर्को मुख्य चुनौति हो ।
नेपाल सरकारले नारायणी अस्पताललाई कोभिड अस्पताल घोषणा गरेपछि हामीले यहाँका बिरामीलाई अर्को अस्पतालमा पठायौं । एउटै अस्पतालमा कोभिड र अन्य बिरामीलाई राखेर उपचार गर्नु ठिक हुँदैन थियो, सरकारको निर्णय अनुसार नै यस्तो गरेका हौं ।

परिवार नै अस्पतालमा 

कोरोना संक्रमितका बिरामी थपिनु भनेको चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको जिम्मेवारी थपिनु हो । काम बढ्नु हो । काम थपिनु हो । कोरोना संक्रमित बिरामीको उचित व्यवस्थापन गर्न ध्यान केन्द्रित गरेका छौं । उहाँहरूको खानपान, उपचार, उहाँहरूले मनोरञ्जनको व्यवस्था मिलाएका छौं । अस्पतालमा बस्दा पाउने सुविधा, गर्नुपर्ने सावधानी, खानाको मेन्यू सबै उपलब्ध गराएका छौं । सीसी क्यामेराबाट उहाँहरूलाई नियालिरहेका हुन्छौं । बरोबर फोन गरिरहन्छौं । उहाँहरूले पनि फोन गरिरहनु हुन्छ ।
अस्पतालमा एकै परिवारका १८ जनाको  उपचार गरिरहेका छौं । बालबालिकादेखि वृद्धवृद्धासम्म हुनुहुन्छ । बालबालिकालागि खेल्ने सामग्री उपलब्ध गराएका छौं । बच्चाका लागि ल्याक्टोजिन माग गर्नुभयो । त्यो ल्याइदियौंँ । डाइपर पनि चाहियो भन्नुभयो, त्यो पनि दियौं । एकै परिवारका उहाँहरूलाई दुईवटा कोठामा बस्ने व्यवस्था मिलाएका छौं । एउटामा पुरुष सदस्य, अर्कोमा महिला सदस्य बस्नुहुन्छ ।

मेरो दैनिकी 

अस्पतालमा सबै व्यवस्था मिलाएर घर जान्छु । मेरो सानो बच्चा छ । त्यसैले पनि घर जानै पर्छ । घर पुगेपछि आफ्ना सबै सामान घर बाहिरै राख्छु । त्यसपछि मात्रै घर पस्ने हो । म घर पुग्ने बित्तिकै नुहाउँछु । स्यानिटाइज भएर मात्रै परिवारसँग भेट्छु । एकाबिहानै घरबाट निस्किएकी मलाई राति अबेर देख्दा बच्चा झुम्मिन खोज्छ । घर पुग्ने बित्तिकै ऊ र परिवारका सदस्य एकातिर हुनुहुन्छ । म अर्कोतिर हुन्छ । मलाई देखेर झम्यामिन खोजेको बच्चालाई समाउन खोज्दा त्यस्तो भएको हो । मेरो श्रीमान् पेशाले चिकित्सक हुनुहुन्छ । त्यसैले कुरा बुझाउन गाह्रो छैन । परिवारका सबैजना सदस्य पनि सहयोगी हुनुहुन्छ । त्यसैले सम्पूर्ण समय अस्पताल र बिरामीको लागि दिन पाएको छु । परिवारको सहयोग पाउँदा अघि बढ्न र काम गर्न सजिलो हुन्छ । साथ  सहयोग र आत्मबल बढाउने सबैलाई धन्यवाद भन्न चाहन्छु ।

सामान्य ड्युटी गर्ने दिनको प्रतिक्षा 

हामी सम्पूर्ण स्वास्थ्यकर्मी अहिले सामान्य ड्युटीको त्यो दिनको प्रतिक्षामा छौं । जतिसक्दो छिटो त्यो दिन फर्कियोस् भन्दै कामना गरिरहेका छौं । पक्कै आउँछ त्यो दिन । हामी निराश हुनु हँुदैन । प्रतिक्षाको पल पक्कै पनि पट्यार लाग्दो हुन्छ । सकारात्मक बनौं । त्यो दिनको प्रतिक्षा गरौं, आउँछ त्यो । कोभिड अस्पताल घोषणा हुनु अघि म अस्पतालको लेबर रूममा काम गर्थे । स्वस्थ बच्चा र स्वस्थ आमाका लागि ध्यान केन्द्रित हुन्थ्यो । पूरानै ठाउँमा फर्किएर बच्चालाई कसरी स्वास्थ्य बनाउने, सुरक्षित सुत्केरीका बारेमा काम गर्न पाइयोस् । यहि कामना छ । मेरो प्रतिक्षा यही छ ।
(श्रुति, नारायणी अञ्चल अस्पतालको निमित्त मेट्रोन पनि हुन्)



Monday, May 18, 2020

अस्पतालको बेडमै गरेको त्यो निर्णय............

सम्मानको श्रृंखला 
अरुण सैंजु
आकस्मिक उद्धारक

पाँच वर्ष अघि वैशाख १२ गते अत्यधिक ज्वरोका कारण म अस्पताल भर्ना भएको थिएँ । त्यो दिन, नेपालमा ठूलो भूकम्प गएको थियो । भूकम्पमा परी उपचारका लागि अस्पताल ल्याइएका बिरामीले अस्पताल खचाखच भयो । ज्वरोबाट तंग्रिए लगत्तै मैले समूह बनाएँ । आरएण्डए १६ नाम दिएर एउटा समूह बनाएँ । हामी आठ जनाको समूह मिलेर रेसक्यू एण्ड अवेरनेस —१६ नामक संस्था खोलेर काम सुरु गरेँ । यो संस्थाको मुख्य उद्देश्य उद्धार र चेतना फैलाउनु हो । १६ लाई हामीले सांकेतिक रूपमा प्रयोग गरेका छौं । भूकम्प, बाढी, पहिरो, हुरी आगलागीलगायतका प्रकोप र अन्य महामारी गरी १६ वटामा परेकालाई हामी सेवा दिन्छौं ।
म भक्तपुरको एभरेष्ट स्कुलमा डीआइ अर्थात अनुशासन इन्चार्जको रूपमा काम गर्छु । मेरो साथी राजेश भक्तपुरकै आदर्श आजादमा पढाउनु हुन्छ । अन्य साथीहरू अन्य व्यवसायमा हुनुहुन्छ । उद्धार र जनचेतनाको काममा भने हामीसँगै हुन्छौं । हाम्रो यो संस्थाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग मिलेर तीन महिनाअघिदेखि कोभिडका बारेमा जनचेतना जगाउने काम गरिरहेको  थियो ।
विभिन्न विद्यालय, गुम्बा र धेरै मान्छे जम्मा हुने ठाउँमा हामीले कोरोनाविरुद्ध जनचेतना जगाउने काम गरिरहेका थियौं । लडडाउन सुरु भएपछि भक्तपुर अस्पतालमा आउने बिरामीको ज्वरो नाप्न क्लिनिक सुरु ग¥यौं । तालिम बिना यो महामारीमा सुरक्षित भएर काम गर्नु बुद्धिमानी हुँदैन भनेर हामीले तालिम दिन प्रस्ताव राख्यौं । हाम्रो प्रस्तावलाई सुरक्षा निकायले स्वीकार ग¥यो । त्यसपछि हामीले तालिम सुरु ग¥यौं ।
भक्तपुरको बीरदल गणबाट शव व्यवस्थापनको तालिम लियौं । रेन्जर महावीर गण छाउनीबाट ‘डेडबडी ह्याण्डलिङ र डेमोस्ट्रेसन’ तालिम लिएका छौं । महानगरीय प्रहरी परिसर भक्तपुरबाट पीपीई लगाउने तालिम लियौं ।

कसैको नहोस् यस्तो मृत्यु 

गएको शनिबार हामी नेपाली सेनाको बीरदल गणका कर्णेल शिव पौडेललाई भेट्न ब्यारेक पुगेका थियौं । भक्तपुर प्रहरी प्रमुख सविन प्रधान र कर्णेल पौडेल फोनमा व्यस्त हुनुहुन्थ्यो । उहाँले कुरा गरेको सुनेपछि मैले हामीसँग एम्बुलेन्स छ हामी जान्छौं भनेर प्रस्ताव राखेँ । फोनको कुरा सक्ने बित्तिकै सरहरूले एम्बुलेन्ससहित अस्पताल आउन भन्नुभयो ।
कोरोनाबाट काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शवको पशुपतिस्थित विद्युतीय शव दाहगृहमा अन्तिम संस्कार गर्ने निर्णय भएको रहेछ । प्रशासनले काभ्रेको एम्बुलेन्स र शव वाहनलाई आग्रह गरेको रहेछ । तर कसैले नमानेको पछि थाहा पायौं ।
शनिबार साँझ साँढे सात बजेतिर हामी भक्तपुरबाट धुलिखेल अस्पताल पुग्यौं । जुन अस्पतालमा कोरोनाको कारण मृत्यु भएकी महिलाको शव राखिएको थियो । भक्तपुरबाट हिँड्दा नै पीपीई सेट लगाएका थियौं । धुलिखेल अस्पताल पुगेपछि म र राजेश शव राखिएको ठाउँतिर लाग्यौं । अस्पतालले शव प्लाष्टिकमा बेरेर राखेको रहेछ । स्ट्रेचरमाथि शव थियो । शवबाट बगेको रगत भुइँसम्म पुगेको थियो । शवलाई हामीले दोब्बर ¥यापिङ ग¥यौं । त्यसपछि ब्यागमा हाल्यौं । चकलेट चेपिङ ट्यापिङ गरेर भुइँमा चुहिएको रगत पनि सफा ग¥यौं । उनको शव एम्बुलेन्समा राखेर अस्पतालबाट बाहिरिदाँ भक्तपुरबाट गएको सेना र प्रहरी बाहेक काभ्रेको प्रहरी निरीक्षकको टोली पनि हामीसँगै थियो । अस्पतालको गाडीमा मृतक महिलाका श्रीमान् बस्नु भएको थियो । भक्तपुरका प्रहरी र सेना प्रमुख, काभ्रेको प्रहरीको  गाडीले स्कर्टिङ गरेर शव पशुपति लग्यौं ।
पशुपतिनाथ परिसरको वातावरण अरु बेला जस्तो थिएन । सुनसान थियो । हामीले  ती महिलाको शव शवदाह गृहसम्म पु¥यायौं । यो शव अन्य जस्तो सामान्य थिएन । अन्तिम संस्कारको कुनै विधि, प्रक्रिया भएन । मृतकका श्रीमान् र सेना, प्रहरी एक सय मिटर टाढा हुनुहुन्थ्यो । एम्बुलेन्सबाट शव झिकेको, शवदाह गृहमा छिराएको हेरिरहनु भयो उहाँहरूले । शव राखेपछि कर्मचारीले स्वीच अन गर्नुभयो । त्यसपछि हामी त्यहाँबाट बाहिरियौं । गाडीलाई डिसइन्फेक्टेड ग¥यौं । मृतकका श्रीमान्लाई भने काभ्रेको धुलिखेल अस्पताल नै लगियो । त्यसपछि हामी आइसोलेसनमा बस्न सूर्यविनायक डाँडामा रहेको वीरदल गणतिर लाग्यौं । अहिले हामी आइसोलेसनमा छौं । हाम्रो खानासहितको व्यवस्था सेनाले गरिरहेको छ ।
हामी कोरोनाका कारण मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समा राखेर पशुपतितर्फ लैजाँदै गर्दै मैले वैशाख १२ को त्यो दिन सम्झिएँ, जतिखेर म अस्पतालको शैय्यामा बसेर प्रकोप र महामारीमा परेकाको उद्दारको लागि काम गर्ने सोचिरहेको थिएँ । लाग्यो, त्यो समूह गठन र कामको उद्देश्य ठीक  रहेछ । अस्पतालको बेडमै गरेको निर्णय राम्रो रहेछ भन्ने लाग्यो ।

कोभिड एम्बुलेन्सका कुरा 

कोभिडका बिरामी बोक्न हामीलाई एउटा गाडी आवश्यक थियो । तर, हामीसँग आफ्नो गाडी थिएन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष केपी ताम्राकारसँग कोभिडका बिरामीको उद्दार गर्न गाडी आवश्यक परेको बतायौं । उहाँले आफूले प्रयोग गरिरहेको गाडी एम्बुलेन्स बनाउन दिनुभयो । ताम्राकार सरले दिनु भएको गाडीलाई वीरदल गणका कर्णेल शिव पौडेल सरले र मैले परिवर्तित रूप दिएर कोभिड एम्बुलेन्स बनाएका हौं । ‘संभावित बिरामीलाई बोक्न आनाकानी बढेपछि हामीलाई छुट्टै एम्बुलेन्सको महसुश भयो । भक्तपुरमा ‘कोरोना विशेष एम्बुलेन्स’ चैतको अन्तिम साताबाट चलाउन सुरु गरेका हौं । यो एम्बुलेन्स एकजना बिरामी मात्रै सुत्न मिल्ने गरी बनाइएको छ । अरु एम्बुलेन्सभन्दा होचो छ । अरु कोही बस्न मिल्दैन । एम्बुुलेन्समा अन्य सामान्य एम्बुलेन्समा जस्तै अक्सिजनलगायतका आधारभूत सामाग्री पनि राखिएका छन् । यो एम्बुलेन्स सुरक्षित तरिकाले बनाएका छौं । हामीले लकडाउनको अवधिमा आरडीटी पोजेटिभ देखिएका, कोरोना शंका लागेका व्यक्तिलाई पनि हामीले यो एम्बुलेन्सको सेवा दियौं । मृत्यु भएकालाई घाटसम्म पनि लगिदिएका छौं ।

आमालाई बहिनीको जिम्मा 

आमा घरमा एक्लै हुनुहुन्छ । उहाँ ६१ वर्षको हुनुभयो । मधुमेहको रोगी हुनुहुन्छ । उहाँको रेखदेख बहिनीहरूले गरेका छन् । शव जलाएर आएपछि फोन गर्नुभएको थियो । बरोबर फोन गरिरहनु हुन्छ । म पनि आमालाई फोन गर्छु । सबै सावधानी अपनाएर काम गरेको बताउँछु । चिन्ता नलिनु भन्छु । लकडाउन भएपछि म घर गएको छैन । म भक्तपुर सिद्धपोखरीमा बस्छु । मेरो साथी राजेश भक्तपुरको जेलामा बस्नुहुन्छ । हामी लकडाउन सुरु भएदेखि नै अस्पतालको चौरमा टेन्ट हालेर बसिरहेका छौं ।

Sunday, May 17, 2020

बिरामीको सहयोग नै हाम्रो हौसला

सम्मानको श्रृंखला 
   डा. सुदर्शन थापा 
कोरोना फोकल पर्सन, कोरोना अस्पताल, बुटबल 

सरकारले तोकेको बुटबलस्थित कोरोना विशेष अस्पतालमा अहिले ३६ जना कोरोना संक्रमित बिरामी भर्ना हुनुभएको छ । उहाँहरूको उपचार भइरहेको छ । एक दुईजना बाहेक अन्य बिरामीको अवस्था सामान्य छ । उहाँहरूमा लक्षण देखिएको छैन । सामान्य औषधि मात्रै चलाएका छौं । कोरोनाका बिरामीलाई उपचार गर्ने अस्पताल र अन्य रोगका बिरामीलाई उपचार गर्ने अस्पताल एकै  साथ चलाउनु पर्दा चिकित्सक, स्वास्थ्यकर्मी व्यस्त छौं । जिम्मेवारी थपिएको छ । व्यवस्थापनमा चुनौतिहरू छन् । लुम्बिनी प्रादेशिक अस्पतालको पनि सेवा निरन्तर छ । एउ
कोरोना संक्रमित बिरामी पहिलो पटक आउँदा हामी अन्यौलमा थियौं । अन्यौल हुनुु स्वभाविक पनि थियो । नयाँ रोग, औषधि नबनेको रोग, यी कारणले हामी चिकित्साकर्मी अन्यौलमा थियौं । टिम वर्क र बिरामीको सहयोगले हामीभित्रको त्यो अन्यौल र डर अहिले मत्थर हुँदै गएको छ । कोरानासँग लड्न हामीसँग कामप्रति समर्पित समूह छ । उहाँहरू दिलोज्यान दिएर
काममा खटिनु भएको छ । उहाँहरू सबैजनालाई धन्यवाद भन्न चाहन्छु ।
उपचारका लागि आउनु भएका बिरामीबाट पनि हामीले सहयोग पाएका छौं । बिरामीले ‘परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर जान्छौं’ भन्नु हुन्छ । रिपोर्ट नेगेटिभ आउनका लागि के–के गर्नुपर्छ भन्ने हुन्छ । उहाँहरू जतिसक्दो छिटो निको भएर घर जान इच्छुक हुनुहुन्छ । जस्तोसुकै सतर्कता अपनाउन पनि तयार हुनुहुन्छ । पथ परेजमा बस्न तयार हुनुहुन्छ । मानसिक र शारीरिक रूपमा स्वस्थ हुनु बिरामीले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्छ । त्यो प्रयास गर्नुभएको छ । हामीले पनि उपचार सहित उहाँहरूको सहजतालाई ध्यान दिएका छौं । उहाँहरूलाई कोरोना संक्रमणका बारेमा बुझाउँछौं । उपचार पद्धतिका बारेमा बताउँछौं । त्यसले उहाँहरूको आत्मबल बढाउन मद्दत गर्नेरहेछ । जति आत्मबल बढ्यो, त्यति बिरामीले आफूलाई बलियो महसुश गर्छ । अन्य सतर्कतासहितको आत्मबलले कोरोनासँग जित्न मद्दत गर्छ ।

अधिकांश भारतबाट फर्किएका 

यहाँको कोरोना अस्पतालमा भर्ना भएका धेरै कोरोना संक्रमितहरू भारतमा काम गरेर नेपाल फर्किएकाहरू हुनु हुन्छ । जति पनि पोजेटिभ देखिनु भएको छ, उहाँहरू अधिकांश भारतको आफ्नो कामबाट फर्किएहरू नेपाली हुनुहुन्छ । यहाँ उपचारमा रहनु भएका बिरामीहरू एउटै परिवारको हुनुहुन्न । एउटै गाउँका पनि हुनुहुन्न । खुल्ला सिमानाका कारण भारतबाट आउने नेपालीलाई क्वारेन्टिन नराखेसम्म कोरोना नियन्त्रण गाह्रो हुन्छ ।
ठाउँ ठाउँमा क्वारेन्टिन बनाएर भारतबाट आउने बिरामीलाई राख्नु पर्छ । खुल्ला सिमानाका कारण कामका लागि त्यहाँ गएकाहरू सजिलै फर्कन सक्छन् प्रत्येक पालिकामा पर्याप्त क्वारेन्टिन बनाउनु पर्छ । त्यसो भयो भने, कोरोनाको बिरामीको उपचारमा हामी सफल हुन्छौं । हाम्रो अस्पतालमा गाउँपालिका र नगरपालिकाका बिरामी हुनुहुन्छ ।
केही समय अघि महाकाली नदी तरेर भारतबाट नेपाल भित्रिएकाको समाचार हामीले पढेकौ हौ । यति मात्रै होइन, क्वारेन्टिनलाई बस्नु भनेको नराम्रो होइन भन्ने कुरा पनि बुझाउनु आवश्यक छ । कोरोना संक्रमण हुनु नराम्रो हो, भन्ने बुझाई पनि परिवर्तन हुनुपर्छ । यो संक्रमण जसलाई पनि हुनु सक्छ । सकेसम्म संक्रमित नहुने हो, संक्रमित भइहाले पनि आइसोलेसनमा बस्ने, आइसोलेसनमा बस्दा मनोबल उच्च बनाउने ग¥यो भने हामीले पक्कै पनि कोरोनालाई जित्छौं । कोरोनाबाट मुक्ति पाउनका लागि हामीले सर्तकतासहित संयमता अपनाउनुपर्छ । अहिलेको अवस्थालाई विश्लेषण गर्दा, भारतलगायत अन्य देशबाट आएकालाई क्वारेन्टिनमा राख्ने व्यवस्था पहिलो महत्वपूर्ण कुरा हो । दोस्रो भनेको नागरिकले गर्नुपर्ने काम हो, नागरिक सचेत हुनु अत्यावश्यक छ । सरसफाइमा ध्यान दिने, सामाजिक दूरी कायम राख्ने कायम राख्ने गर्न सके कोरोनालाई हामी हराउन सक्छौं । अहिलेको आवश्यकता भनेको स्वास्थ्य सर्तकता सहित धैर्यता र सावधानी हो ।