Monday, May 11, 2020

ती महिलाले मोबाइल नम्बर नभनेपछि ......


देवी थापा गुरुङ
फोकल पर्सन, ¥यापिड रेस्पोन्स टिम
ललितपुर महानगरपालिका
अनुभव श्रृंखला

नेपाल सरकारको सहयोगमा ललितपुर महानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले विदेशबाट आएकाहरूको ¥यापिड डाइग्नोसिस टेस्ट (आरटीडी) गरेको थियो ।
महानगरपालिका भित्रको चार ठाउँमा टेस्ट सेन्टर राखेका थियौं । लगनखेलमा राखिएको सेन्टरमा परीक्षणका लागि एक जना महिला आउनु भयो । उहाँ केही दिन अघि अमेरिकाबाट नेपाल फर्किनु भएको रहेछ । उहाँलाई नाम सोध्यौं, भन्नुभयो । मोवाइल नम्बर सोध्यौं, भन्न सक्नु भएन । मेरो मुखमा मास्क थियो । हातमा पञ्जा लगाएकी थिएँ । आरटीडी परीक्षणका लागि आउनु भएकी महिलासँग मोवाइल मागेँ । र, उहाँको मोवाइलबाट आफ्नो मोवाइल नम्बर डायल गरेँ । मेरो त्यो गतिविधि सबैजनाले नियालिरहनु भएको थियो । शायद, उहाँहरू सबै जनाले मैले त्यसो नगरेको भए हुन्थ्यो भनिरहनु भएको थियो, मनमनै । मैले अनुमान लगाएँ । त्यतिखेर मलाई त्यो काम गर्नु हँुदैन भन्ने पटक्कै लागेन । उल्टै, मन खिन्न भयो, नेपाली महिलाको अवस्था देखेरे । आफैंले बोकेको मोवाइल नम्बरसम्म पनि भन्न नसकेको देख्दा नरमाइलो लाग्यो ।
सरकारी सेवामा प्रवेश गरेको २५ वर्ष हुन लाग्यो । अहिले म ललितपुर महानगरपालिकाको जनस्वास्थ्य शाखामा काम गर्छु ।  समय र पद अनुसारको जिम्मेवारी त यस अघि पूरा गर्दै आएको थिएँ, तर अहिलेको जस्तो कामप्रति प्रतिबद्ध, लगावको भाव यस अघि मनमा आएको थिएन । साँच्चै भन्नुपर्दा, कोरोनाप्रति मान्छेको मनमा जस्तो त्रास छ, मभित्र छैन । काममा खट्दा सब बिर्सने रहेछु । बेलुका घर फर्कर्ने बेलामा भने, मनमा सधैं एउटा प्रश्नले एकछिन सोच्न बाध्य बनाउँछ । त्यो प्रश्न हो, के मेरो कारणले मेरो परिवारका सदस्यहरू सुरक्षित छन् ? यो प्रश्नको व्यवस्थापन कार्यालयमा अग्रजहरूबाट पाएको हौसला, प्रेरणा र क्षमतामाथिको विश्वासलाई सम्झेर गर्छु । मास्क, आफ्ना लुगाको व्यवस्थापन घरबाहिर नै गर्छुु । स्यानिटाइज भएर मात्रै घरभित्रै पस्छु । बाहिर निस्कदा पनि सुरक्षाको सबै उपायहरू अपनाउँछु । मेरो झोलामा मनतातो पानीको बोतल सधैं हुन्छ । प्रत्येक १५ मिनेटमा पानी पिउँछु । सधैं जसो पञ्जा लगाउँछु । हातमा पञ्जा नहुँदा स्यानिटाइजर लगाउँछु ।
 दिनभर काम गर्दा संगालेका अनुभव, अप्ठ्यारा छोराछोरीसँग ‘सेयर’ गर्छु । त्यसले पनि आफूलाई हलुंगो भएको महसुश हुन्छ । प्रत्येक मान्छेलाई अघि बढ्न परिवारको सहयोग–सपोर्ट आवश्यक हुन्छ । परिवारले गर्ने सहयोगले आत्मबल बढेको अनुभव हुन्छ । कार्यालयले दिएको यो जिम्मेवारीलाई मैले अवसरको रूपमा लिएकी छु ।
क्वारेन्टिन सञ्चालनका लागि बनेको समितिमा सदस्यसचिव भएर काम गरिरहेको छु । यो अवसर मेरो लागि नितान्त भिन्न थियो । कोभिडका बिरामी राख्न सञ्चालन गरिएको खरीपाटी क्वारेन्टिन हेर्न म टिम सहित गएको थिएँ । अहिले ललितपुर महानगरपालिकाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २० शैय्याको क्वारेन्टिन सञ्चालन गरेको छ । आवश्यकता अनुसार अन्यत्र पनि क्वारेन्टिन राख्ने तयारी भएको छ । क्वारेन्टिन सञ्चालन भएपछि व्यस्तता अझैं बढेको छ । त्यसो त परीक्षणको बेलाको व्यस्तता अर्कै थियो । उपत्यकाबाट वडामा मान्छे भित्रँदा वडावासीले फोन गरेर खबर गर्नुहुन्छ । वडा अध्यक्षहरूसँग समन्वय गर्नुपर्छ । वडावासीको त्यो सक्रियता, चनोखापन देखेर खुसी लाग्छ । सबैको सहकार्यले मात्रै ललितपुर महानगरपालिका कोभिड संक्रमित नभएको हो । महानगरपालिका र ललितपुर जिल्ला भित्र कोभिड बिरामी नदेखिनु खुसीको कुरा हो ।
सबै महानगरवासीलाई कोरोनासँग त्रसित नहुन तर सतर्क हुन अनुरोध गर्छु । नियमित हात धुने, सरसफाइमा ध्यान दिने, मास्क लगाउने, सामाजिक दूरी कायम गरेर काममा निस्कने गरौं भने कोरोनालाई हामी जित्न सक्छौं ।




2 comments: