सम्मानको श्रृंखला
डा.प्रकाशबहादुर थापा
मेडिकल सुपरिटेन्डड, भेरी अस्पताल
|
नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि नियमित दिनचर्या छैन । अस्पताल आउने राउण्ड लिने, बिरामीको शल्यक्रिया गर्नुपर्ने भए गर्ने, ओपीडीको ड्युटी गर्ने, अस्पतालबाट फर्केर परिवारसँग समय बिताउने । निश्चित रुटिनमा थियो । तर अहिले बिल्कुलै भिन्न छ । बिहान सातबजेदेखि बेलुका १२ बजेसम्म पनि अस्पतालमै काममै व्यस्त भइन्छ । कुन बेला के आइपर्छ त्यसका लागि तयार भएर बस्नु पर्छ । जस्तो परिस्थिति आइपर्छ, त्यसको सामना गर्छु भन्ने मनस्थिति बनाएर बसेका छौं । आफू सुरक्षित रहेर बिरामीको उपचार खटिनु हाम्रो
कर्तव्य हो ।
भेरी अस्पतालमा कोभिडका बिरामी राखेका छैनौं । खजुरास्थित क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचार भइरहेको छ । प्रदेश ५ सरकारको निर्देशनमा खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको हो । हाललाई त्यो अस्पताल कोरोना अस्पताल हो । त्यो कोरोना अस्पतालको व्यवस्थापन पक्ष भेरी अस्पलाले सम्हालिरहेको छ ।
भेरी अस्पतालका चिकित्सक, नर्स, प्रयोगशालाका जनशक्तिलगायत सम्पूर्ण कोभिडका बिरामीको उपचारमा खटिनु भएको छ । यता भेरी अस्पतालबाट दिइने सम्पूर्ण स्वास्थ्यसम्बन्धी सेवाहरू निरन्तर छन् । यहाँको सेवा निरन्तर हुँदा अन्य रोगका बिरामी उपचारबाट बञ्चित हुनुपरेको छैन । उहाँहरू निर्धक्क भएर अस्पताल आउन सक्नु भएको छ ।
खजुरास्थित क्यान्सर अस्पतालमा अहिले २३ जना संक्रमित बिरामीको उपचार भइरहेको छ । सबैजनाको स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई परेको समस्या र अप्ठ्यारोलाई अस्पतालले समाधान गरेको छ । उहाँहरूको समस्याप्रति अस्पताल संवेदनशील छ । एकै ठाउँमा बसिरहनु पर्दा पट्यार लाग्नु स्वभाविक हो । यो मानवीय स्वभाव हो । एकैठाउँमा बसिरहनु पर्दा कहिले उहाँहरू ‘हामीलाई कहिले निको हुन्छ, हामी कहिले बाहिर जान पाउँछौं, कति दिनपछि घर जान पाउँछौं ?’ भन्नु हुन्छ । उहाँहरूको मनोविज्ञान बुझेर निको भएपछि जान पाइन्छ भन्छौं । त्यस्तो उत्तर पाउँदा बिरामीको अनुहारमा खुसी देखिन्छ । ड्युटीमा हुने चिकित्सक, नर्सले बरोबर फोन गरेर अवस्था बुझ्नु हुन्छ । मोवाइलमा आफन्त र परिवारसँग कुरा गर्नुहुन्छ । भिडियो कलबाट पनि कुराकानी भइरहेको हुन्छ । परिवारलाई धेरै मिस गर्नु भए जस्तो लाग्दैन । उपचारमा खटिने चिकित्सकलाई उहाँहरूले सहयोग गरिरहनु भएको छ ।
बिरामीको सहयोगले चिकित्सक र अन्य स्वास्थ्यकर्मीको मनोबल उच्च भएको छ । एउटा समूहले निरन्तर सात दिन ड्युटी गर्छ । त्यसपछि त्यो समूह १४ दिन क्वारेन्टिनमा बस्छ । त्यतिखेर अर्को समूहले काम गर्छ । क्वारेन्टिनबाट निस्केपछि उहाँहरूको स्वाब परीक्षण हुन्छ । परीक्षण रिपोर्ट नेगेटिभ आए मात्रै उहाँहरू ड्युटीमा फर्कनु हुन्छ ।
संसारलाई नै अप्ठ्यारो पारेको यो भाइरससँग डरलाग्नु स्वभाविक हो । त्रसित हुनुभन्दा सर्तक रहनु अहिलेको आवश्यकता हो । नियमित हात धुने, सामाजिक दूरी कायम गर्ने , भीडभाडमा नजाने ग¥यो भने यो भाइरसबाट जोगिन सकिन्छ । बिरामी तथा स्वास्थ्य मानिसलाई सतर्क रहौं, त्रसित नबनौं भन्न चाहन्छु ।
अबको तयारी
हामीलाई कोरोना भाइरस (कोभिड–१९) ले झुक्यायो । हामीले लक्षण देखिएपछि मात्रै जाँच गर्ने तरिका अपनाएका थियौं तर अहिले जति पनि संक्रमित भेटिएका छन्, तिनमा कोरोनासम्बन्धी कुनै लक्षण छैनन् । लक्षण नदेखिएकाले भाइरस समुदायमै फैलियो । अब यसको न्यूनीकरणका लागि हाम्रो ढाँचा परिवर्तन गर्न आवश्यक छ ।अहिलेसम्म हामीले आशंकित व्यक्तिलाई जाँच गरेका थियौं । अब पूरै समुदायलाई नै ‘क्लोज टेस्टिङ’ गर्नुपर्छ । यसरी परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या अझै बढ्दै जाने पक्का छ ।
बाँकेमा कोराना भुसको आगोजस्तो बन्यो । हामीले पत्तो नपाउँदै समुदायमा फैलिसकेको छ । यस हिसाबले बाँके जिल्ला उच्च जोखिममा छ । त्यसअनुसार नै संक्रमण रोकथामका रणनीति बनाउनुपर्छ । समुदायमा गएर सघन रूपमा ‘ट्रेसिङ’ गर्नुबाहेक अरू उपाय छैन । संक्रमितको सम्पर्कमा को–को आएका थिए, ती व्यक्तिको खोजी गर्दै स्वाब परीक्षण गर्नु पर्ने भएको छ ।
No comments:
Post a Comment