Saturday, June 20, 2020

सहयोग माग्दै फोन गरेपछि ......

अनुभव श्रृंखला 


                   आनन्द विष्ट 
सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका 

 
जतिबेला अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणको गति तीब्र थियो, त्यत्तिबेला कहिले काहिँ आफैंलाई सम्हाल्न गाह्रो भएको महसुश गर्थे । रातको बाह्र, एक बजे संक्रमित दिदीबहिनी, दाजुभाईका आफन्तले फोन गर्नुहुन्थ्यो । कहिलेकाहिँ बिरामीले नै रुँदै, कराउँदै फोन गर्नुहुन्थ्यो । ‘सास फेर्न सकेको छैन, छाति दुख्यो, टाउको दुख्यो, कहाँ जाने के गर्ने, आइदिनुप¥यो, सहयोग चाहियो’ भनेको सुन्दा निकै गाह्रो हुन्थ्यो । त्यस्तो अप्ठ्यारो परिस्थितिलाई आत्मबलले ढाकेर सहयोग गर्न तत्पर भएँ । धेरै पटक भावविहल भएको छु ।
जतिबेला व्यस्त अमेरिका चकमन्न थियो, कार्यालय, सपिङ सेन्टरहरू बन्द थिए, त्यसबेला हामी निरन्तर सहयोगमा जुट्यौं । अप्ठ्यारोमा परेका नेपाली र अन्यको सहयोगमा जुट्यौं । झण्डै दश साता, जतिबेला कोरोना संक्रमणको गति तीब्र थियो, त्यतिबेला हाम्रो खटाई र सहयोगी मनको अमेरिकी अफिर्सहरूले पनि निकै प्रसंशा गर्नुभयो । ‘नेपाली समुदाय आफ्नो समुदायको र अरूको सहयोगको लागि एकदमै सक्रिय हुने रहेछ भन्ने थाहा भयो’, भन्दै हुनुहुन्थ्यो उहाँहरू । एक जना नेपालीको कोरोनाको कारण घरमै मृत्यु भयो । शव उठाउन एक सातासम्म कोही आएनन् । त्यतिबेला म उहाँको घरमा पुगेको थियो । त्यो क्षण मेरो जीवनको अवस्मिरणीय क्षण बन्यो ।
विश्व नै कोरोना भाइरस (कोभिड—१९)को संक्रमणबाट गुज्रिरहेको छ । यसबाट अमेरिका अछुतो रहने कुरै भएन । विश्वको शक्तिशाली मुलुक अमेरिका पनि यो महामारीका कारण अप्ठ्यारोमा परेको छ । अमेरिकाको न्यूयोर्कको कुरा गरौं, जतिबेला संक्रमण उच्च बिन्दुमा पुगेको थियो, त्यसबखत यहाँ  औषधि थिएन । मास्क, पञ्जा पाइँदैन थियो । यी सामग्रीको हाहाकार मच्चिएको थियो । मान्छेको जीवनमा नसोचेको धक्का लाग्यो । जीवनका योजनाहरू ठप्प भए । कल्पनै नगरेको ठूलो परिर्वतन देखियो । 
अस्पतालहरूले बिरामीलाई सेवा उपलब्ध गराउने सामाथ्र्य राख्दैथे । अत्यन्तै जटिल केश मात्रै अस्पतालमा पुग्थे । भेन्टिलेटरको सुविधा थिएन । वास्तवमा त्यतिबेलाको अवस्था सम्झँदा अभैm मन आत्तिन्छ ।  न्यूयोर्कको लागि अत्यावश्यक यी सामग्रीहरू हामीले अन्य राज्यहरूबाट मगायौं । यो अवस्था आउनुको पछाडि अमेरिकाका राष्ट्रपतिको ‘कोरोनो केही होइन’ भन्ने धारणा मुख्य कारण हो । कोरोना सामान्य हो भन्दै कोरोनासँग जुध्ने तयारी गरिएन । जसले गर्दा यहाँका जनता बढी पीडित भए । 
अमेरिकामा बस्दै आउनु भएका नेपाली मध्ये सबैभन्दा धेरै प्रभावित विद्यार्थी भाइबहिनी हुनुभयो । जो हप्ताको बीस घण्टा काम गरेर आफ्नो खर्च जुटाउँदै पढिरहनु भएको थियो, काम गर्ने ठाउँ बन्द भएपछि उहाँहरूको दिनचर्या प्रभावित भयो । जीविकोपार्जनमा नै समस्या भयो । त्यसैले हामीले विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग ग¥यौं । हाम्रो सहयोगबाट चार सयभन्दा धेरै विद्यार्थी लाभान्वित हुनुभएको छ । विद्यार्थी बाहेक अन्य पाँच हजार भन्दा बढीलाई पनि सहयोग प्रदान गरेका छौं । यहाँको राम्रो पक्ष के हो भने, जो स्थायी रूपमा बसोबास गरिरहनु भएको छ, उहाँहरूलाई अमेरिकी सरकारले आम्दानी बराबरको बेरोजगार तलब उपलब्ध गराएको छ । अमेरिकी सरकारले चार चरणमा लकडाउन खोल्ने योजना बनाएको छ । अहिले पहिलो चरणको लकडाउन खुलेको छ । संक्रमितहरूलाई स्कुल, स्टेडियमलगायतका ठाउँमा क्वारेन्टिनको व्यवस्था गरी राखेकाले संक्रमण फैलन पाएन । त्यसपछि अवस्था सामान्य हुँदै गएको हो । अहिले मृत्युदर र संक्रमितको संख्या पनि घट्दै गएको छ । 

कसरी ग¥यौं सहयोग 

प्रवासमा बस्दा किन राजनीतिक दलको भातृसंगठन आवश्यक प¥यो ? यो आलोचनात्मक प्रश्नलाई हामीले धेरै खेप्दै आइरहेका थियौं । तर, कोरोना महामारीको यो अवस्थामा सबैलाई के प्रष्ट भयो भने, अप्ठ्यारो पर्दा राजनीतिक दलहरू नै आवश्यक पर्ने रहेछन् । उनीहरूको सहयोग महत्वपूर्ण हुने रहेछ । 
कोरोना महामारीको यो संकटविरुद्ध जुट्न जातिय संघ संगठन, नेपाल कम्युनिस्ट पार्टीको यहाँ रहेको संगठनलगायत ४० भन्दा बढी संघ संगठनको सहभागितामा कोरोनाविरुद्ध सचेतना समूह गठन गरेका थियौं । मेरो संयोजकत्वमा गठित यो समूहले राजनीतिक, धार्मिक, जातियता भन्दा माथि उठेर कोरोनाबाट संक्रमित भएकालाई सहयोग ग¥यौं । पीसीआर मेसिनको अभावमा सुदुरपश्चिममा जुन रुपमा पीसिआर परीक्षण हुनुपर्ने हो, त्यो हुन सकेको छैन । सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जानेको संख्या अत्यधिक छ । लकडाउनका कारण काम, व्यवसाय बन्द भएपछि नेपाल फर्कर्ने क्रम तीव्र छ । भारतबाट नेपाल फर्कर्नेको परीक्षण अत्यावश्यक छ, त्यसैले डडेलधुरामा रहने गरी पीसीआर मेसिन उपलब्ध गराउने तयारी गरिरहेका छौं । अन्य अवस्थामा हामी आफ्नो संस्थाको तर्फबाट सहयोग गरिरहेका हुन्छौं । कोरोना महामारीको यो संकटमा सबै एक भएर सहयोगको हात उठाउँदा, अप्ठ्यारोमा हामी एक हुन्छौं भन्ने सन्देश पनि प्रवाह भएको छ । 
सन् २०१५को भूकम्प, अन्य प्राकृतिक प्रकोपहरूमा पनि नेपाली जनसम्पर्क समितिले सहयोग गरिरहेको छ । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा हामीले नेपालमा निरन्तर सहयोग प्रदान गरिरहेका छौं । वास्तवमा नेपाली जनसम्पर्क समितिको उद्देश्य पनि अप्ठ्यारो पर्दा प्रवासबाट सहयोगको हात फैलाउँदै दुःखमा सहयोग गर्नु भन्ने हो । त्यसैगरी मानवअधिकार र लोकतन्त्रको संरक्षण र सम्बद्र्धनका लागि क्रियाशील हुुनु भन्ने पनि हो । 
विगत २२ वर्षदेखि अमेरिकाको न्यूयोर्कमा छु । अवसर खोज्ने क्रममा म डोटीबाट अमेरिका आएँ । मैले व्यक्तिगत रूपमा नेपाली कांग्रेस आकस्मिक राहत कोष डोटीमा एक सय ५१ हजार सहयोग गरेको छु । 
(बिष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुन् ।)


No comments:

Post a Comment