Saturday, July 11, 2020

सरकार ग्यारेन्टी बसेर व्यवसायीलाई बैंकबाट ऋण

अनुभव श्रृंखला 

                   

                          कुल आचार्य
पूर्वकेन्द्रीय उपाध्यक्ष, गैरआवासीय नेपाली संघ  

 त्यो दिन, त्यो क्षण सम्झन्छु । जतिबेला बेलायतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको थियो, त्यतिबेला अर्थात मार्च ६ तारिखमा म व्यक्तिगत कामले बेल्जियम पुगेको थिएँ । काम सकेर केही दिनमा त्यहाँबाट फर्कें । बेल्जियमबाट फर्किएपछि टाउको दुखेजस्तो भयो, अलि असहज महसुश भयो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गतको १११ मा टेलिफोन गर्दा ‘तपाईलाई कोरोना भाइरसको लक्षण पनि हुन सक्छ, आइसोलेसनमा बस्नुपर्छ’ भन्ने सल्लाह प्राप्त भयो । त्यसपछि म घरमै आइसोलेसनमा बसेँ । परीक्षण गर्दा नतिजा नेगेटिभ आयो  । परीक्षणको नतिजाले म ढुक्क भएँ । स्वास्थ्य अवस्था विस्तारै सामान्य हुँदै गयो । आइसोलेसनमा बस्दा मनमा धेरै खालका तर्क–वितर्क आए–गए । 
जुन दिन चीनको वुहानमा कोरोना भाइरसको संक्रमण भेटियो, त्यो दिनदेखि मानव जाति एकातिर छ, अर्कोतिर कोरोना भाइरस छ । मानवजाति र कोरोना भाइरसबीचको यो लडाइ जित्न संसार भरका सम्पूर्ण राष्ट्र एक छन् । सम्पूर्ण मानवजाति एक भएर लागेका छन् । मानवजाति यो भाइरसलाई पररास्त गर्न आफ्नो बल, बुद्धि प्रयोग गरिरहेको छ । 
विश्वलाई स्तब्ध र त्रसित बनाउने यो भाइरसले सम्पूर्ण क्षेत्र प्रभावित भएका छन् । एउटा देश र क्षेत्र मात्रै नभई विश्व नै यसबाट प्रभावित भएको छ । यसको असर कहिलेसम्म रहने हो, कस्तो खालको असर पर्ने हो, अहिले नै एकिन गरेर भन्न सक्ने अवस्था आइसकेको छैन । 
अहिलेको अवस्थालाई तुलनात्मक रूपमा विश्लेषण गर्ने हो भने, अमेरिका, बेलायतलयागत युरोपका केही देशहरूमा कोरोना संक्रमण घट्दो क्रममा छ । जसले गर्दा व्यवसायहरू सुरु गरिएका छन् । बेलायतको सन्दर्भमा कुरा गर्ने हो भने, अनलाईन व्यवसाय सञ्चालन भइरहेका छन् । औषधि पसलहरू खुलेका छन् । अनलाइनबाट खानाको अडर लिने काम भइरहेको छ । सामाजिक दूरी (एकमिटर प्लस) कायम राखेर जुलाई ४ बाट रेष्टुराँहरू सञ्चालनमा आएका थिए । केही पबहरूमा सामाजिक दूरी कायम भएन भन्दै बन्द गरिएको समाचार पनि आएका छन् । नियमको पालना यहाँको आधारभूत सर्त हो । 

एक वर्षका लागि कर मिनाहा

बेलायत सरकारले आफ्ना नागरिकलाई अप्ठ्यारो पर्दा  निर्वाह गर्नुपर्ने दायित्व पूरा परेको छ । व्यवसायको प्रकार र प्रकृति हेरेर १० हजार पाउण्डदेखि २५ हजार पाउण्डसम्म ग्रान्ट (अनुदान) दिएको छ । लकडाउनका कारण सञ्चालन हुन नसकेका कम्पनीमा कार्यरतहरूलाई तलबको ८० प्रतिशतसम्म दिएर सरकारले दायित्व पूरा गरेको छ । बेलायत सरकार आफ्ना नागरिकप्रति कति उत्तरदायी र जवाफदेही छ भने व्यवसाय धराशायी नहोस्, रोजगार नगुमोस्, भनेर आफैं ग्यारेन्टी बसेर व्यवसाय सञ्चालन गर्नका लागि बैंकबाट ऋण झिकिदिएको छ । एक वर्षका लागि विजनेस रेट (नगरपालिकाले लिने जस्तो कर) मिनाहा गरेको छ । कोरोना भन्दा अघि भ्याट २० प्रतिशत लिइन्थ्यो । अहिले त्यसलाई पाँच प्रतिशतमा झार्ने विषयमा छलफल भइरहेको छ । 
कर्म भूमिको सरकारले नागरिकहरू प्रति दायित्व वहन गरेको देख्दा जन्मभूमिको सरकार र उसको गतिविधि सम्झेर मन खिन्न हुन्छ । अप्ठ्यारो परिस्थितिमा समेत जनताको दुःखमा साथ दिन नसकेकोमा दुःख लाग्छ । 

प्रधानमन्त्रीलाई पत्र 

गैरआवासीय नेपाली संघमा काम गरेको लामो अनुभवका आधारमा केही समय अघि मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई इमेल लेखेको थिएँ । इमेलको विषय थियो–कोभिडका कारण रोजगार गुमाएर बिचल्लिमा परेकाहरूलाई श्रमिक कोषमा जम्मा भएको रकम प्रयोग गरेर नेपाल फर्काउर्ने । यो विषयमा सर्वोच्च अदालतले पनि निःशुल्क देश फर्काउनु भन्दै आदेश दिइसकेको थियो । महंगो शुल्क तिरेर उहाँहरू स्वदेश फर्कन सक्नु हुँदैन भन्ने मेरो आशय थियो । तर, यो विषयप्रति सरकार पटक्कै संवदेशनील भएन । महंगो शुल्क तिरेर नेपालीहरू स्वदेश फर्कन बाध्य हुनुहुन्छ । अप्ठ्यारोमा परेकाहरूले आफ्नै देशमा फर्केर सुख दुःख गरेर बस्छौं भन्दा पनि फर्काउने निर्णय गर्नै धेरै समय लाग्यो । अर्को कुरा आफ्नै खर्चमा फर्कनुपर्ने पर्ने नियम देख्दा दुःखमा परेका नेपालीलाई देखाएर व्यापार गरिरहेका अनुभव हुन्छ । कोषको प्रयोग गर्न सक्ने अवस्था हुँदा हुँदै त्यसलाई बेवास्ता गर्नु भनेको दुःखमा साथ दिने मनसाय नहुनु हो । नेपाल सरकार जनताप्रति उत्तरदायी नभएको ठम्याई हो । 

एक एनआरएन एक रोजगार 

इमानदारिता, दृढ संकल्प र इच्छा शक्ति हुने हो भने कोरोनो भाइरस (कोभिड–१९)ले निम्त्याएको चुनौतीलाई नेपालले अवसरमा परिणत गर्न सक्छ । त्यो अवसर भनेको नेपालमा बेरोजगारीको अन्त्य गर्दैैै आर्थिक समृद्धितर्फ देशलाई लम्काउने हो । नेपाल सरकारको तथ्यांक अनुसार झण्डै ३० नेपाली खाडी मुलुकहरू मलेसिया तथा कोरियामा काम गर्छन् । हाल मलेसिया, खाडी, युरोप र अफ्रिकामा करिब ४५ लाख नेपाली श्रमिक वैदेशिक रोजगारीमा छन् । कोरोनाका कारण जागिर गुमाएका १५ देखि २० लाख नेपाली स्वदेश फर्कर्ने अवस्थामा छन् । उनीहरूलाई रोजगार दिन एक एनआरएन एक रोजगारको अवधारणा अघि बढाएको छु । यो सम्बन्धित प्रस्ताव मैले अमेरिकाको साधारण सभामा समेत पेश गरेको छु । यो विषयमा धेरै छलफल गर्नु आवश्यक छ । कार्ययोजना तयार गर्नुपर्ने हुन्छ । त्यसका लागि नेपाल सरकार, निजी क्षेत्र र गैरआवासीय नेपालीहरूबीच सहकार्य गर्नुपर्छ । यो संयन्त्र निर्माणको राम्रो गृहकार्य आवश्यक पर्छ । 
छोटकरीमा म एक एनआरएन एक रोजगारको विषयमा प्रष्ट पार्छु—नेपालको कानुन बमोजिम नेपाल सरकार, निजी क्षेत्र र गैर आवासीय नेपालीहरूको संलग्नता र सहअस्तित्वमा खोलिएको कम्पनीमा प्रवासमा रहनुभएका नेपालीहरूले पाँचसयदेखि पाँचहजार डलरसम्म जम्मा गर्न सक्नुहुनेछ । लगानीकर्तालाई आफ्नो लगानीको सुरक्षाको प्रत्याभूति दिलाउन प्रमाणपत्र प्रदान गरिनेछ । 
अब रह्यो प्रश्न, रकमको जोहो कसरी गर्ने ? ८० लाख नेपाली विदेशमा हुनुहुन्छ भन्ने अनुमानित तथ्यांक नेपाल सरकारको छ । ८० लाख होइन, १० लाखले मात्रै उक्त कम्पनीमा पाँच हजार डलर (पाँच लाख) योगदान गर्ने हो भने धेरै काम गर्न सकिने रकम जम्मा हुन्छ । त्यसरी जम्मा भएको रकमलाई गाउँको विकास, नेपालको विकासमा लगाउन सकिन्छ । 
उक्त कम्पनीबाट रकम लिएर व्यवसाय गर्न इच्छुकले परियोजनाको खाकासहित निवेदन दिनपर्ने हुन्छ । परियोजना स्वीकृत भए परियोजना सञ्चालनका लागि प्रस्ताव गरिएको रकमको बढीमा ८० प्रतिशत रकम निब्र्याजी ऋण दिइनेछ । ऋण प्राप्त गर्ने व्यक्तिको धितो ग्यारेन्टी विदेशमा बसेका नेपालीले बस्ने व्यवस्था मिलाउन सकिन्छ । 
 यहाँ एउटा उदाहरण प्रस्तुत गर्छु, म पर्वतको भएँ मैले पर्वतमा व्यवसाय गर्न चाहनेलाई म ग्यारेन्टी बसेर ऋण झिकिदिँदा र काम गर्ने वातावरण बनाइदिँदा मलाई पनि आफ्नो ठाउँमा केही गर्न सकेकोमा आत्मसन्तुष्टि मिल्ने भयो । अर्को कुरा आफ्नो ठाउँको विकास पनि हुने भयो । अन्य देशमा रहेका साथीहरूले पनि आफ्नो ठाउँमा गर्न सक्नुहुन्छ । 
ती व्यवसाय तरकारी खेती, बाख्रा पालन, सूचना प्रविधि, डे केयर सेन्टर जे पनि हुनसक्छ । ठाउँ र आवश्यकता हेरेर कहाँ के गर्ने भन्ने निश्चित गर्न सकिन्छ । नेपालमा उत्पादन भएका तरकारी, फलफूल वा खाद्य सामग्रीको बजार खोज्ने काम अर्को महत्वपूर्ण हुन्छ । त्यसका लागि एनआरएनले अन्तर्राष्ट्रिय बजार खोज्ने र नेपालमा भएको उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ । नेपालको विकासका लागि यो महत्वपूर्ण कोशेढुंगा सावित हुन्छ । 
मैलेमाथि नै भनिसकेँ यसका लागि सबैभन्दा ठूलो कुरा इमान्दारिता आवश्यक पर्छ । सरकारको ध्यान अत्यावश्यक हुन्छ । निजी क्षेत्रको सहयोग पनि त्यति नै अपरिहार्य हुन्छ । यसका लागि नेपालको कानुनको अध्ययन र विश्लेषण पनि यत्तिकै महत्वपूर्ण हुन्छ । मेरो योजनालाई तत्कालै राष्ट्रिय रूपमा गर्न ल्याउन नसके पनि आफ्नो गाउँ पर्वतबाट सुरु गर्छु ।
यो काम गर्न केन्द्रमा निर्देशक समिति गठन गरिनेछ । प्रदेश सरकारसँग समन्वय गरी सातै प्रदेशमा सञ्चालक समिति गठन गरिनेछ । उक्त समितिहरूमा सरकारका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि र एनआएएनएका प्रतिनिधि र विज्ञसमेत रहनेछन् ।  

स्वयंसेवालाई आह्वान 

मुलुकलाई समृद्धितर्फ अघि बढाउने हो भने विदेशमा भएका राम्रा अभ्यासहरूको नक्कल पनि गर्नुपर्छ । नक्कल गर्दा आफ्नो ठाउँ र परिवेश भने बिर्सनु हुँदैन । बेलायत सरकारले बेलायको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले मात्रै सेवा पु¥याउन नसकेपछि स्वयसेवकहरूको आह्वान ग¥यो । ६ लाख भन्दा बढीले ‘हामी स्वयंसेवा र्छौ’ भनेर साइन गर्नुभएको थियो । नेपाल सरकारले पनि स्वय सेवकहरू आह्वान गर्नुपर्छ । निजी क्षेत्रलाई स्वयंसेवाको लागि आह्वान गर्ने र त्ससको सम्मान वा प्रसंशामा उहाँहरूलाई सहयोग गर्न सकिन्छ । त्यसो गर्न सकिए कोभिड रोकथाम र नियन्त्रण गर्न सजिलो हुन्छ । स्वय सेवामा शिक्षक, होटेलका कर्मचारीलगायतलाई आह्वान गर्न सकिन्छ । क्वारेन्टिनको सन्दर्भमा मैले एउटा प्रस्तावना नै तयार पारेको छु । गाउँका घरलाई क्वारेन्टिन बनाउन सकिन्छ । होटेल, विद्यालयलाई पनि क्वारेन्टिन बनाउन सकिने प्रस्ताव राखेको छु ।  
कोभिड–१९को कारण हामी घरभित्र छौं । बाहिर निस्केकाहरू पनि टाढिएर हिँडेका छौं । अब के होला ? कोभिड कहिले सकिएला ? यी प्रश्नको उत्तर हामी कोहीसँग छैन् । आँटिलो भएपनि, कोरोनासँग सतर्क भए पनि भित्रभित्रै कहीँ कतै ग्लानी महसुश गरेका छौं ।  कमजोर भएको अनुभव जति नै बलियो छु भन्नेलाई पनि भइरहेको छ । त्यसैले हामीले ११ जना साथीहरू मिलेर प्रत्येक दिन बिहान सात बजे (युकेको समय अनुसार) योग र ध्यान गर्ने गरेका छौं । आध्यात्मिक योग समूह बनाएका छौं । नेपालका नेताहरू, गुरुहरू, योगीहरू कलाकारसँग अन्तक्र्रिया गर्ने गरेका छौं । विद्धान चिन्तामणि योगीसँग छलफल राखेका थियौं । यही समूहमा संकलन गरेको केही रकम समेत नेपालको देवघाट, चिन्तामणि योगीज्यूको आश्रम र अन्य केही ठाउँका लागि सहयोग गरेका छौं । 

बेलायतसम्मको यात्रा 

पर्वत जिल्ला जलजला गाउँपालिकामा जन्मिएका कुल आचार्य २२ वर्षअघि बेलायत गएका हुन् । रेष्टुराँ व्यवसायमा उनीसंलग्न छन् । केही समयअघि काठमाडौंमा सम्पन्न गैरआवासीय अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उनले उम्मेदवारी दिएका थिए । पोर्टर, सेफ हुँदै बेलायतमा उनले रेष्टुराँ व्यवसाय चलाए । १३ वर्षदेखि एनआरएनमा सक्रिय हुँदा सिकेको ज्ञानको आधारमा उनी एक एनआरएन एक रोजगारको योजनालाई मूर्त रूप लिन अघि बढेका छन् ।

No comments:

Post a Comment