Thursday, July 9, 2020

जिम्मेवार सरकार, आज्ञाकारी नागरिक

अनुभव श्रृंखला 

                     

                      वीरेन्द्रसिंह कार्की 

सभापति, नेपाली जनसम्पर्क समिति, डेनमार्क 


डेनमार्क ६० लाख जनसंख्या भएको विकसित देश हो । चाइनाबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वका धेरै राष्ट्र अछुतो रहन सकेनन् । जसबाट स्क्यान्डिनाभियन मुलुक डेनमार्क पनि जोगिन सकेन । तर, अन्य राष्ट्रको तुलनामा डेनमार्कले कोरोना नियन्त्रण छिटो ग¥यो । संक्रमितहरू नबढ्नु, संक्रमितहरू निको हुँदै जानुले यो कुरालाई पुष्टि गर्छ । संक्रमण देखिए लगत्तै एक महिना जति अनलाइनबाट विद्यालयको कक्षा सञ्चालन भएका थिए । अनलाइन कक्षा लगत्तै विद्यालयहरूले विद्यार्थीलाई नै स्कुल बोलाएर कक्षा सञ्चालन गरेका थिए । 
एउटा कक्षाका विद्यार्थीलाई दुई समूहमा विभाजन गरी सोही अनुसारको सिट व्यवस्थापन गरी पढाइएको थियो । विद्यालय खोल्दा सामाजिक दूरीलाई एकदमै ख्याल गरिएको थियो । अभिभावकलाई विद्यालयमा पस्न दिइएको थिएन । सरसफाईमा एकदमै ख्याल गरिएको थियो । हात धुने, मास्क लगाउने जस्ता विषयमा बालबालिकालाई अभ्यस्त बनाएका थिए विद्यालयहरूले । 
विद्यालय खोल्दा अभिभावकले अब कोरोना संक्रमण फैलन्छ भन्दै चिन्ता व्यक्त गरेका थिए । विद्यालयको विशेष सावधानीले त्यस्तो हुन पाएन । डेनमार्क विद्यालय खोल्ने पहिलो राष्ट्र हो ।
डेनिस सरकारले लकडाउनलाई चरणबद्ध रूपमा खुकुलो बनायो । सुरुमा १० जना, अहिले ५० जनासम्म एकै ठाउँमा भेला हुनसक्ने नियम बनाएको छ । ठूला–ठूला कार्यक्रम पनि स्वीकृत लिएर गर्न सक्ने व्यवस्था गरेको छ । तर, त्यस्ता कार्यक्रमहरू गर्दा स्वास्थ्य मन्त्रालयलगायतले जारी गरेका नियमहरूको पूर्ण पालना भने गर्नुपर्छ ।
डेनमार्क यस्तो देश हो, जहाँ समाजवादको उच्चतम प्रयोग भएको छ । नागरिकहरू चेतनशील छन् । सामाजिक सुरक्षासहित सामाजिक चेतना छ । राष्ट्रले गरेको घोषणा, ल्याएको नियमको अक्षरश पालना गर्नुपर्छ भन्छन् यहाँका नागरिकहरू । उनीहरू सरकारलाई जुनसकै अवस्थामा पनि सहयोग गर्नु नागरिकको दायित्व ठान्छन् । सरकारलाई झुक्याउँने, आँखा छल्ने, हेप्ने काम कसैबाट हुँदैन । स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाको पूर्ण पालना कोरोना नियन्त्रणको मुख्य कारण हो । यहाँ भन्नै पर्ने अर्को महत्वपूर्ण कुरा के छ भने, आफ्ना नागरिकले आफूलाई विश्वास गर्न सक्ने वातावरण बनाउनु सरकारको महत्वपूर्ण खुबी हो । नागरिकलाई दिएको सुविधा, व्यवस्था र अप्ठ्यारोमा पर्दा गरेको व्यवहारले नै सरकारप्रति नागरिकको भरोसा र विश्वास बढ्छ । 

अगस्ट २९ सम्म ‘कम्पेन्सेसन’

जतिबेलादेखि लडडाउन सुरु भयो, त्यतिबेलादेखि साना, मझौला तथा ठूला व्यवसायी र ठूला कम्पनीलाई डेनिस सरकारले राहत प्याकेज घोषणा ग¥यो । काममा नगएकाहरूलाई अगस्टको २९ गतेसम्म कम्पेन्सेसन पाउने व्यवस्था गरेको छ । डेनमार्क नयाँ भिसामा आउने भनेका विद्यार्थी हुन् । सेप्टेम्बर सेसनमा भर्ना हुन आउने विद्यार्थीको क्रम जारी थियो । आएका मध्ये केहीले काम पाइसकेका थिए । कोही काम खोज्दै थिए । प्रक्रिया पूरा भइसकेका तर काम नपाएका विद्यार्थीलाई पनि सरकारले कम्पेन्सेसन दिएको छ । 
प्रक्रिया पूरा नभएका तर डेनमार्क आइसकेका विद्यार्थीहरू अप्ठ्यारोमा थिए, उनीहरूलाई तीन चरणमा राहत वितरण ग¥यौं । त्यसरी राहत लिने एक सय बयालीस जना थिए । लकडाउन खुकुलो भएसँगै उनीले काम सुरु गरेका छन् । यदि कसैलाई अप्ठ्यारो परेको भए हामीलाई खबर आउँथ्यो । अहिलेसम्म आएको छैैन् । 
भिसाको समय समाप्त भएका केही विद्यार्थी, छोराछोरी भेट्न आएका अभिभावक नेपाल फर्किएका छन् । विभिन्न संघ संस्थाको सहभागितामा बनेको कार्य सम्पदान समितिले दूतावाससँग समन्वय गरेर उनीहरूलाई नेपाल सरकारको निर्णय अनुसार नेपाल फर्काउने व्यवस्था मिलाएका थियौं । डेनमार्कबाट ३० जना मात्रै नेपाल फर्कनु भएको छ । 
दूतावासलगायत अन्य संघ संस्थाले भर्न लगाएको फारम अनुसार डेनमार्कबाट नेपाल फर्कन चाहनेको संख्या ३९ जना थियो । कतिपयले ‘फ्लाइट भाडा महँगो’ भन्दै फर्कन चाहेनन् । ‘नेपाल भन्दा डेनमार्क नै सुरक्षित छ’ भन्दै अवस्था सामान्य भएपछि फर्कर्ने योजना भएको बताएका छन् । 
कोेराना भाइरस संक्रमणलाई नेपाललगायत विकासोन्मुख मुलुकहरूले चुनौतिसँग आएको अवसरको रूपमा लिनुपर्छ । यो बेलामा देश र जनताप्रति साँच्चै प्रतिबद्ध भएर काम गर्ने हो, स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै काम गर्न सकिन्छ । नेपालले स्वास्थ्य र शिक्षा क्षेत्रमा अहिले भोगिरहेको अभाव र अस्त व्यस्ततालाई हेर्ने हो भने, २०४६ सालपछिको परिवर्तनपछि यी क्षेत्रमा के के काम भएछ, एकपटक गम्भीर भएर सोच्नुपर्ने अवस्था हाम्रो सामु छ । 
१५–१७ जना संक्रमित देखिँदा जनशक्ति अभाव, उपकरण अभाव, भौतिक संरचनाको अपर्याप्तता देखिनुले धेरै काम गर्न बाँकी भएको प्रष्ट हुन्छ । यसका साथै धेरै गर्न सकिने समेत अहिलेको अवस्थाबाट पाठ सिक्नु आवश्यक छ । गर्नुपर्ने तर काम गर्न धेरै बाँकी भएको अर्को क्षेत्र शिक्षा । शिक्षामा प्रविधि प्रयोग गरेर शिक्षण गर्ने परम्पराको सुरुवात केही समय अघि नै भएको भए, यो महामारीमा स्कुल खुलेनन् भनेर कोलाहाल गर्नुपर्ने अवस्था आउँदैन थियो । त्यसैले अब शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गरी अघि बढ्नु आवश्यक छ । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नु अहिलेको आवश्यकता हो । 

डेनमार्कसम्मको यात्रा

वीरेन्द्रसिंह कार्की सन् २००५ मा स्नातक पढ्दै थिए, महेन्द्ररत्न क्याम्पसमा । कोरियाको एउटा विश्वविद्यालयमा स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम अन्तर्गत पढ्न जाने अवसर पाए । नेपालमा सुरु मात्रै गरेकोे स्नातक तहको कक्षा छाडेर उनी कोरिया गए ।  
विदेशको अध्ययनले ज्ञानको क्षितिजलाई फराकिलो बनाउने उनले बुझे । त्यसैले उनको मनमा विदेश पढ्न जाने हुटहुटी चलि नै रह्यो । त्यसपछि उनी डेनमार्क आए । टुरिजम म्यानेजमेन्ट विषयमा अल्बोक विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेका उनी ९ वर्षदेखि डेनमार्कमा छन् । उनी नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन् ।


No comments:

Post a Comment