Thursday, July 9, 2020

तीन वर्षसम्म बिना व्याज ऋण

अनुभव श्रृंखला 

                नारायाण सुवेदी 
सदस्य, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समिति 


जतिबेला संसारभर कोरोना भाइरस तीब्र गतिमा फैलिरहेको थियो, त्यत्तिबेला विश्लेषकहरूले जापानमा पनि संक्रमण व्यापक हुने प्रक्षेपण गरेका थिए । कोरोना भाइरस (कोभिड–१९)ले विश्वका शक्तिशाली राष्ट्रहरूमा कर्मचारी कटौती, राहत वितरण, अभाव र असुरक्षा भइरहेको बेला एसियाली मुलुक जापानले यस्तो परिस्थितिको सामना गर्नुपरेको छैन । यो परिस्थिति सामना गर्न नपर्नुको कारण जिम्मेवार सरकार र सरकारलाई सम्मान गर्ने नागरिक हुन् । 
सरकारले जारी गरेको नियमलाई जनताले अनुशासित भएर पालना गरेकाले संक्रमण फैलन पाएन । जापान सरकारले लकडाउन गरेन । संकटकाल लगायो । नाइट क्लबहरू बन्द थिए । रेष्टुराँहरू आठ बजेसम्म खोल्न दिइएको थियो । जनतालाई सक्दो सहयोग गर्न सरकारले अनुरोध गर्दै बिदाको समयमा घर बाहिर ननिस्कन अनुरोध गरेको थियो । बलियो सरकार र जिम्मेवार नागरिक भएकाले पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणमा आएको थियो ।
टोकियोलगायतका ठाउँमा संक्रमण देखिएको खबर आएको छ । सरकारले फेरि पनि संक्रमणकाल लगाउने तयारी गरेको खबर पाएको छु । यो नियन्त्रण गर्न पनि जापान सरकार सफल हुन्छ भन्नेमा म निश्चिन्त छु । 
जापान सरकारले आफ्ना जनता र अन्य देशका नागरिकहरू जो कोरोना भाइरसको संक्रमणको महामारीबाट प्रभावित भएका छन्, उनीहरूलाई प्रतिव्यक्ति एक लाख जापानी येन सहयोग स्वरूप दिएको छ । त्यसैगरी जापान सरकारले सबैलाई दिए जस्तै विद्यार्थीलाई एक लाख येन त दियो नै । उनीहरूसँग बचत हुँदैन भन्दै थप दुई लाख रुपैयाँ पनि दिएको छ । 
यहाँका साना तथा मझौला उद्योगका व्यवसायीहरू जसको अघिल्लो सालको तुलनामा बिक्री घटेको थियो, व्यवसायको आकार र प्रकृति हेरेर त्यस्ता व्यवसायीलाई जापान सरकारले दश लाख येनदेखि बीस लाख येनसम्म राहत घोषणा गरेर वितरण गरेको छ । बराबरको टोकियो नगरपालिकाले एउटा रेष्टुँरालाई पाँच लाख येन अनुदान सहयोग दिएको थियो । ठूला लगानीका व्यवसायीलाई भने एक करोडदेखि चार करोड रुपैयाँसम्म तीन वर्षका लागि बिना व्याज ऋणको रूपमा दिएको छ । यसका साथै अन्य विभिन्न प्याकेजहरू ल्याएको छ । 
जापान सरकारले यो व्यवस्था गर्नुको मुख्य कारण के हो भने, व्यवसायीहरू व्यवसायबाट पलायन नहोऊन्, रोजगारविहीन भएर कोही पनि बस्न नपरोस् भन्ने हो । बलियो र जिम्मेवार सरकार भए नागरिकले कुन हदसम्मको सुरक्षाको अनुभूति पाउँदा रहेछन् भन्ने कुरा जापानलगायत अन्य विकसित देशलाई हेर्दा पुग्छ । जापान सरकारले नागरिकदेखि व्यवसायीसम्मलाई आफ्ना कार्यक्रमले सम्बोधन गरेको छ ।
यहाँ बसेर आफ्नो मातृभूमिलाई सम्झँदा हृदय पोल्छ । सरकारको दरिद्रपन देखेर शीर निहुरिन्छ । टाढा बसेर हेर्ने हामीले मात्रै भनेको होइन नेपालमै भएका नेपालीहरू समेत सरकारको गतिविधिबाट सन्तुष्ट छैनन् । भ्रष्टाचार, खिचातानी यस्तै यस्तै । 
नेपाल फर्कान नेपाल सरकारले लिएको हवाइजहाज चार्टरको शुल्क हेर्दा नागरिकलाई सहयोग गरिरहेको छैन, व्यापार गरिरहेको छ जस्तो लाग्छ । यहाँबाट अहिलेसम्म दुईवटा चार्टर फ्लाइट उडेका छन् । ती दुईबाट साँढे चार सय नेपाली फर्किनु भएको छ ।
जापानबाट नेपाल फर्कन चाहने नेपालीहरू धेरै हुनुहुन्छ । छोराछोरी भेट्न आउने धेरै हुनुहुन्छ । पालो पर्खेर बसेका साथीहरू अझै केही हुनुहुन्छ । खाडी र मलेसियाको तुलनामा जापानमा रोगजारी गुमाउनेहरू कम हुनुहुन्छ । रोजगारी गुमाउने कम भएका र राज्यले नै व्यवस्था गरेकाले राहत भनेर कसैलाई बाँड्नु परेको छैन । विद्यार्थी वा अन्य कसैलाई खान बस्नका लागि समस्या भए सहयोग गर्नका लागि जनसम्पर्क समितिको बैठक बसेर कोष स्थापना गरेका थियौं । 
हरेक क्षेत्रमा काम गर्नका लागि  पाँचदेखि सातजनाको समिति समेत बनाएका थियौं । अहिलेसम्म त्यो समितिमा ‘हामीलाई सहयोग चाहियो’ भन्दै कसैले पनि सहयोग माग्नु भएको छैन । अन्य मुलुकमा जस्तो मुलुकमा जस्तो खाना र बस्नकै लागि समस्या भएर राहत नै बाँड्नु पर्ने अवस्था छैन । 

जापानसम्मको यात्रा 

चितवन जिल्ला भरतपुरका नारायण सुवेदी अवसर खोज्ने क्रममा १६ वर्ष अघि जापान आए । सुरुदेखि नै आफ्नै व्यवसाय गर्ने चाहना थियो उनको, जापान पुगेको केही समयपछि व्यवसाय सुरु गरे । नेपालबाट स्नातकोत्तरको पढाई सकेर जापान पुगेका उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । महासमिति सदस्य समेत रहेका नेपाली जनसम्पर्क समिति जापानका पूर्व सभापति उनी सल्लाहकारको भूमिकामा छन् ।  

1 comment: