Monday, July 6, 2020

मास्क नलगाउनेलाई जरिवाना

अनुभव श्रृंखला 

उषा भुषाल सुवेदी 
संस्थापक महामन्त्री, नेपाली जनसम्पर्क समिति,  इजरायल 
१३ वर्ष अघि इजरायल आएकी म एक सय २ वर्षकी आमालाई केयर गिभरको रूपमा स्याहारसुसार गरिरहेको छु । यहाँ मेरो २४ घण्टाकै ड्युटी हुन्छ । आमा अल्जाइमर रोगबाट पीडित हुनुहुन्छ, त्यसैले उहाँलाई कुरा नबुझ्ने साना केटाकेटीलाई जस्तै गरी स्याहार गर्नुपर्छ । खुवाउने, दिसापिसाबको व्यवस्थापन, मधुमेह, रक्तचाप परीक्षणलगायत सबै काम समय तालिकामा रहेर गर्नुपर्छ । अरू बेलामा पनि बाहिर निस्कन घुम्न त्यति फुर्सद हुँदैन । त्यसैले लकडाउनले मेरो व्यक्तिगत जीवनमा खासै फरक पारेको छैन । नर्सिङ स्टेसनको नर्सले जस्तै गरी आमाको हेरचाह गर्छु । 
वृद्धवृद्धालाई कोरोना भाइरसको संक्रमण छिटो हुन सक्ने भएकाले म बाहिर निस्केको छैन । आमाका छोराछोरी पनि आउनु भएको छैन । संक्रमण भित्रन सक्ने खतराका कारण यस्तो गरेका हौं । यो आमाको सुरक्षाका लागि हो । आवश्यक पर्ने सामानहरू आनलाइन मार्फत आमाका छोराछोरी (इम्प्लोयर) ले मगाई दिनुहुन्छ, त्यसैले बाहिर जानु आवश्यक छैन मलाई । यहाँका वृद्धाश्रमहरूले पनि केयर गिभरको रूपमा नयाँ मान्छेलाई नियुक्त गरेको छैन । आफन्त वा छोराछोरीलाई पनि केही समय भेट्न नदिने नियम बनाएका छन् । 
इजरायल सरकारले वृद्धवृद्धाका लागि राम्रो व्यवस्था गरेको छ । बुढेसकालमा अपहेलित भएर बस्नु पर्दैन । छोराछोरीलाई जिम्मेवार बनाएको छ, सरकारले । कामका कारण देशमा नबसेका, फुर्सद नभएका छोराछोरीले केयर गिभर राखेर स्याहार सुसार गर्नुपर्ने नियम छ । 
इजरायलमा ४५ दिनसम्म अस्पताल र अन्य अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू बन्द रहे । सधैं लकडाउनले मात्रै हुँदैन, आफंै सुरक्षित र सर्तक हुनुपर्छ भन्दै अहिले लकडाउन खुकुलो बनाइएको छ । तर, लकडाउन खुकुलो भएपछि संक्रमितको संख्या बढेको छ । मृत्यु हुनेको संख्या पनि बढेको छ । लकडाउनका बेलामा मास्क नलगाई हिँड्नेलाई इजरायल सरकारले जरिवाना समेत गरेको थियो । मास्क नलगाउँदा अहिले जरिवाना लिएको छैन तर, अनिवार्य छ । लकडाउनकै कारण यहाँ धेरै अप्ठ्यारो परेको छैन । तैपनि अप्ठ्यारोमा कोही हुनुहन्छ कि भनेर बुझेँ । भेटिन । त्यसले व्यक्तिगत रूपमा साइप्रसमा सहयोग गरेँ । मेरो घर बुटबल रूपन्देही हो । त्यहाँको देवदह नगरपालिकालाई सहयोग गरेँ । सबैतिर गरेर एक महिनाको तलब सहयोगमा खर्चिएँ । 
केयर गिभिङलाई भिसा 
केयर गिभर राख्न यहाँको सरकारले आफ्ना अशक्त नागरिकलाई तीन किसिमको भिसा दिन्छ । सरकारी भिसा, प्राइभेट भिसा र स्पेशल भिसा । मेरो भिसा सरकारी हो । सरकार नै केयर टेकर राख्न पाउने गरी आमालाई भिसा दिएको हो । त्यसैगरी यहाँको सेनामा हुँदा मृत्यु भएकाको आमाबाबुको लागि सरकारले प्राइभेट भिसा दिन्छ । 
एक ठाउँमा काम गरिरहेकालाई अर्को ठाउँमा काम गर्न पर्दा सरकारले दिने भिसा स्पेशल भिजा हो । सत्तरी वर्ष माथिका बिरामी वृद्धवृद्धाका लागि सरकारले भिसा दिने नियम छ । सैनिकहरूको हकमा भने बिरामी नभए पनि सत्तरी वर्ष पुगेपछि भिसा दिइन्छ । 
सरकारले केयर गिभरलाई राम्रो सुविधा दिएको छ ।  साताको दुई दिन शुक्रबार शनिबार केयर गिभरको छट्टी हुन्छ । यी दुई दिनको पकेट मनी ३० डलर दिन्छन् इम्प्लोयरले । शुक्रबार र शनिबार छोरा–छोरी पनि आउन नसक्ने, आमाबाबु पनि छोरा छोरीकोमा जान नसक्ने अवस्थामा ओभर टाइम्म दिइन्छ । 
यो घरमा केयर गिभरको काम गर्नुभन्दा अघि मैले अर्को आमाको स्याहार गरेको थिएँ । उहाँ क्यान्सरबाट बित्नुभयो । त्यसपछि यहाँ काम थालेको हुँ । मेरो स्वभावले पनि होला, यहाँ मलाई सबैले राम्रो मान्नु हुन्छ । सबैले भन्नु हुन्छ, म फरासिली छु रे  । एक वारको जिन्दगीमा के रिसाउनु नि फेरि  । हाँसी खुसी व्यवहार गरिदिन्छु । विश्वास दिलाएकी छु । विश्वास सबैभन्दा ठूलो कुरा रहेछ, एकपटक विश्वास गुमायो भने, फेरि त्यसलाई फिर्ता ल्याउन सकिँदैन । यसप्रति म सचेत छु । आमाको स्याहार सुसार, रेखदेख राम्रोसँग गर्छु । 
आमाका नौजना छोराछोरी  हुनुहुन्छ । एक जनाको केही समय अघि निधन भयो । एकजना अमेरिकामा हुनुहुन्छ । असी वर्षको एकजना छोरा घर निर्माणको काम गर्नुहुन्छ । असी वर्ष हुँदा पनि उहाँ तन्दुरुस्त हुनुहुन्छ । कसैको व्यवसाय छ । कोही सरकारी सेवाबाट निवृत्त हुनुहुन्छ । सबले मलाई ‘कान्छी बहिनी’ भन्नु हुन्छ । मलाई यो घ। नेपालको आफ्नै घर जस्तै लाग्छ । 
म इजरायल आउँदा भाषा नसिकी आएँ । तर, भाषा सिकेर आउनु पथ्र्यो । व्यक्तिको माध्यमबाट आएकाले ती सबै कुरा थाहै भएन । हिब्रु भाषामा नमस्तेलाई ‘सलोम’ भन्दा रहेछन्, मलाई त्यत्ति पनि भन्न आउँदैन थियो । आएको एक महिनामै चाहिने जति भाषा सिँके । आमाका छोराछोरी जसले मलाई कान्छी बहिनी भन्नुहुन्छ उहाँहरू असल हुनुहुन्छ । 
आमालाई म नभई हुँदैन । एकहाते भन्छन् नी । हो त्यस्तै हुनुहुन्छ । म नहुँदा पानी, खाना केही खानुहुन्न । दुई वर्ष अघि म चालिस दिन छुट्टी लिएर नेपाल गएको थिएँ, त्यत्तिबेला चिकित्सले स्लाइन लगाउनु परेछ । कमजोर भएर इन्जेक्सन नै लगाउनु प¥यो रे । 
इजरायलसम्मको यात्रा 
जतिबेला उषा भुषाल सुवेदीको इजरायलको लागि भिसा लाग्यो, त्यत्तिबेला उनको सपना ठूलो थिएन । विदेश जाँदा खर्च भएको दुई लाख ऋण तिर्ने र पाँच लाख रुपैयाँ जति कमाउने । सात लाख जति कमाउने सपना यति सपना बोकेर उनी इजरायल लागेकी थिइन् । १२ वर्षकी जेठी छोरीलाई अरु दुई साना छोरीहरू जिम्मा लगाएर उषा इजरायल लागिन् । 
उनको त्यो सपना झाँगिदै गयो । जतिबेला उनले रोजगारका लागि विदेश जाने निर्णय गरेकी थिइन्, त्यसबेला नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो । उनका श्रीमान् नेपाल प्रहरीमा सइ थिए । द्वन्द्व चर्किएका बेला प्रहरीको जागिर खाइ रहनु उपयुक्त लागेन, त्यसैले उषा दम्पत्तिले प्रहरीको जागिर छाड्ने निश्चय गरे । त्यसपछि साधारण व्यवसायमा हात हाले । व्यवसाय पनि भने जस्तो भएन । दुबैले वैदेशिक रोजगारमा जाने निधो गरेका थिए । उषाको भिसा लागेकै दिन उनका श्रीमानको पनि दुबईको भिसा लाग्यो । तर, निर्णय बदलेनन् । त्यसैले उषा आफूलाई भन्छिन्, ‘म संर्घषशील नारी हुँ ।’


No comments:

Post a Comment