Saturday, July 4, 2020

हौसला बढाउन एनएचएसलाई सहयोग

अनुभव श्रृंखला 

 

रमेश शर्मा बाँस्तोला 
सल्लाहकार, एनआरएन, बेलायत 

चीनको वुहानबाट कोरोना भाइरसको संक्रमणले विश्वलाई नै त्रसित र स्तब्ध बनाउँला भन्ने कसैले पनि सोचेको थिएन । गतिशील विश्वलाई यो भाइरसले ‘ठप्प’ जस्तै बनाएको छ । कोरोना भाइरस र यसले त्रसित बनेको संसारबारे घोत्लिदाँ लाग्छ, पश्चिममा मुलुकहरूले कतै यो भाइरसलाई कम त आँकेनन् । सुरुमै अलि सावधानी अपनाएको भए अहिलेको जस्तो मानवीय क्षति हुँदैन थियो कि भन्ने लाग्छ । 
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि  लकडाउन गरेपछि बेलायत सरकारले दिएको सुविधा र आफ्ना नागरिकको ख्याल प्रशंसनीय छ । सानादेखि ठूला उद्योगका व्यवसायीलाई बेलायत सरकारले कर छुट दिएको छ । पैसा फिर्ता गर्न नपर्ने गरी सुविधा उपलब्ध गराएको छ । रोजगार गुमाएकाहरूलाई जुन महिनासम्म तलबको असी प्रतिशत दिइएको थियो । जुलाईदेखि अक्टोबर महिनासम्म सत्तरी प्रतिशत तलब दिने निर्णय गरेको छ । अप्ठ्यारो पर्दा सहयोग गर्ने, जनताको समस्या बुझ्ने र दायित्वबोध गर्ने सरकार हुँदा जनतालाई कस्तो आनन्द र ढुक्क हुँदो रहेछ भन्ने कुरा महसुश गरिरहेको छु । अमेरिका, बेलायतलगायतका देशले यो महामारीका बेला जनतालाई  गरेको सहयोग सरकार दुरदर्शी, पारदर्शी र जनताप्रति प्रतिबद्ध भएको उदाहरण हो । यहाँ बसेर कोरानो परीक्षण समयमा हुन नसकेको समाचार पढिरहेको छु । त्यहाँ भएका काम, सरकारको काम चित्त नबुझेर सत्याग्रह गर्ने युुवाहरूलाई सम्झिरहेको छु ।  

बेलायतमा धेरै संघ संस्था छन् । जातीय र क्षेत्रगत हिसाबमा खोलिएका संघसंस्थालगायतका धेरै संघसंस्था छन् । ती संघसंस्थासँग सहकार्य र समन्वय गरेर एनआरएन बेलायतले अप्ठ्यारोमा परेकालाई सहयोग गरेको छ ।  बेलायत सरकारले पूरा गरेको दायित्व र जिम्मेवारीलाई हौसला प्रदान गर्न यहाँको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई दश हजार पाउण्ड प्रदान ग¥यौं । त्यो रकम हामीले व्यक्तिगत रूपमा संकलन गरेका थियौं । त्यसरी संकलन भएको १० हजार पाउण्ड रकम नेप्लिज एसोसियसन अफ विल्टशायर युके (इनएडब्लू) मार्फत एनएचएस (नेशनल हेल्थ सर्भिस)लाई सहयोगस्वरुप प्रदान ग¥यौं । यो हामीले गरेको हौसला प्रदान गर्नका लागि गरेको प्रतिकात्मक सहयोग हो । एनएचएस बेलायतको स्वास्थ्य सेवा हो । सरकारले लगानी गरेको यो सेवामार्फत धेरै सामुदायिक सेवा, प्राथमिक उपचार सेवालगायत अन्य थुप्रै सेवाहरू सञ्चालित छन् । 
कर्मभूमि बेलायत भएपनि जन्मभूमि नेपाल हो । जन्मभूमिप्रति पनि हाम्रो दायित्व हुन्छ । त्यसैले नेपालमा एनआरएनको केन्द्रीय तहबाट नै सहयोग गरेका छौं । एनएचएसलाई सहयोग गर्ने संस्थामार्फत नै पीपीई सहयोग गर्नका लागि तयारी गरिरहेका छौं ।
अर्को कुरा, दूतावास र एनआरएनको सहयोगमा यहाँबाट दुईवटा चार्टर जहाजहरू नेपाल उडेका छन् । ती जाहजबाट तीन सय भन्दा धेरै नेपाली नेपाल फर्कनु भएको छ । त्यसरी फर्कर्नेमा छोराछोरी भेट्न आउनु भएका, अन्य काम विशेषले आउनु भएकाहरू हुनुुहुन्छ । नेपाल फर्कन नपाएकोमा उहाँहरूमा एक खालको हुटहुटी थियो, सबै व्यवस्था गरेर नेपाल फर्काउन सकेकोमा निकै खुसी लागेको छ । 

बेलायतसम्मको यात्रा 

रमेश शर्मा बाँस्तोला एकताक पोखरालाई आइटी सिटी बनाउन खुबै कस्सिएका थिए । त्यसैले पोखरामा कलेज अफ टेक्नोलोजीको सञ्चालक भए । त्यहाँ केही वर्ष काम गरेपछि विदेशको अनुभव संगाल्ने ‘मुड’ चल्यो । त्यसैले उनी बेलायततिर लागे । बेलायत आउनुलाई रमेश अवसरको खोजी भन्न रुचाउँछन् । उनी बेलायत गएको १८ वर्ष भयो । पोखरा फूलबारी डाँडाका रमेश परिवारसहित बेलायत बस्छन् । व्यवसाय सञ्चालन गरेर बसेका उनी सामाजिक काममा पनि सक्रिय छन् । विभिन्न संघ संस्थामा उनी कार्यकारी पदमा रहेर भूमिका निर्वाह गरिरहेका छन् । 

No comments:

Post a Comment