Saturday, July 18, 2020

सतर्कताले नै कम संक्रमित

अनुभव श्रृंखला 

          

लेखबहादुर गुरुङ 
सभापति, नेपाली जनसम्पर्क समिति, मकाउ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अन्य मुलुकमा देखिएसँग मकाउमा पनि देखिएको थियो । तर, यहाँ अमेरिका बेलायतलगायत अन्य युरोपेली मुलुक र एसियाका अन्य देशहरूमा जस्तो संक्रमण फैलिएन । मकाउमा जम्मा ४६ जना कोरोनाका संक्रमित देखिए । उनीहरू अहिले सबैजना निको भएर घर फर्किइसकेका छन् । मकाउमा अन्य देशमा भन्दा एकदमै कम संक्रमित देखिए । जति देखिएका थिए, ती पनि छिट्टै निको भए । मकाउमा कोरोना भाइरसबाट कम संक्रमित हुनु तथा छिटो निको हुनुको मुख्य कारण जिम्मेवार सरकार र अनुशासित जनता नै हुन् । संक्रमणको दर नफैलियोस् भन्दै जुन दिनदेखि यहाँ लकडाउन घोषण गरियो, त्यो लकडाउन एकदमै मर्यादित र अनुशासित रह्यो । लकडाउनको पूर्णपालना नै यहाँ संक्रमण नफैलनुको अर्को मुख्य कारण हो । 
संक्रमित एकजना नहँुदा पनि यहाँको सरकारले स्वास्थ्य नियमहरू र मापदण्डहरू यथावत छन् । ती नियमहरूको यहाँका जनताले अक्षरस पालना गरिरहेका छन् । 
रोजगारमा भिसा नथपिएका, कामबाट निकालिएका, कामबाट राजीनामा दिएका बिरामी र गर्भवतीलाई नेपाली महावाणिज्य दूतावास हङकङ तथा मकाउको सहयोगमा ६३ जनलाई चार्टर जहाज मार्फत नेपाल फर्काउन मद्दत गरेका छौं । मकाउ आउन चाहने विदेशीका लागि मकाउ सरकारले अझै पनि स्वीकृति दिएको छैन । संक्रमण धेरै नफैलिएको कारण यहाँ अन्यत्रको जस्तो खान बस्नकै लागि समस्या भएन । अप्ठ्यारोमा परेका नेपालीलाई महावाणिज्य दूतावाससँग समन्वय गरेर गैरआवासीय नेपाली संघ मकाउले सहयोग गरेको थियो । 
मकाउ एउटा टापू हो । यहाँ पाँच हजार जति नेपाली छन् । अधिकांश सुरक्षा क्षेत्रमा कार्यरत छन् । केही नेपालीले सपिङ सेन्टर खोलेका छन् । हाउस किपिङमा धेरै नेपाली छैनन । जेलमा रहेका कैदीहरूको रेखदेख गर्ने काममा नेपालीहरू छन् । जसलाई जेल गार्ड भनिन्छ । मकाउ सरकारले जेलभित्रका कैदीहरूको सुरक्षाका लागि वृटिश गोर्खालाई जस्तै गरी नेपालीहरूलाई लिएर सुरक्षा क्षेत्रमा खटाएको छ । १२ जनाको टेबुलमा जम्मा तीनजना राखेर रेष्टुराँहरू खोलिएको छ । मकाउमा केही दिन अघिबाट चीनबाट पनि आउजाउको अनुमति  दिइएको छ । त्यो अनुमति पछि मानिसहरू आउन सक्ने भएकाले थप सुरक्षा सतर्कता अपनाइएको छ । यो कार्य कोरोना भाइरसको संक्रमण रोक्नका  लागि गरिएको हो ।

मकाउसम्मको यात्रा 

कास्की सिक्लेसका लेखबहादुर गुरुङ सन् २००२ मा मकाउ गएका हुन् । उनी त्यहाँ जानुको मुख्य उद्देश्य थियो, अवसरको खोजी । अवसर खोज्ने क्रममा लेखबहादुरले सुरक्षा गार्डको काम पाए । पाँच वर्ष त्यहाँ काम गरेपछि उनी नेपाल फर्किए । त्यही साल फेरि मकाउ पुगेका उनी १३ वर्षदेखि त्यही छन् । कक्षा १ देखि सात कक्षासम्म स्थानीय विद्यालयमा पढेका उनी आठ पढ्न पोखरा झरे । भद्रकाली माध्यमिक विद्यालयमा भर्ना भएका लेख बहादुर विद्यालय शिक्षादेखि नै नेविसंघको राजनीतिमा सक्रिय भएका हुन् । एकदलीय पञ्चायती व्यवस्थाको विरुद्धमा नेपाली कांग्रेस तथा तत्कालीन वाममोर्चाले सुरु गरेको २०४६ सालको जनआन्दोलमा पनि लेखबहादुर अग्रमोर्चामा रहेर सक्रिय थिए । नेपाली कांग्रेसको राजनीतिसँग नजिक उनी कहिले पदमा रहेर त कहिले पदमा नरहेर सहयोगमा जुटिरहे । पार्टी काममा खटिन उनलाई पद चाहिएन । २०५६ सालमा उनले पार्चे गाविसको तरुण दल अध्यक्षको जिम्मेवारी सम्हाले । अवसर खोज्ने क्रममा मकाउ पुगेका लेखबहादुर गैर आवासीय नेपाली संघको सल्लाहकारसमेत हुन् ।  

  


No comments:

Post a Comment