Monday, August 3, 2020

लास बुझ्दाको त्यो क्षण ...

अनुभव श्रृंखला 

बालकृष्ण पाण्डे 
नेपाली जनसम्पर्क समिति  केन्द्रीय अध्यक्ष, भारत 


कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अमेरिका, बेलायत र अन्य युरोपेली मुलुकहरूमा व्यापक रूपमा फैलँदा भारतमा संक्रमण दर थोरै थिए । यो दर बढ्दै गएर अहिले एसियाली मुलुकहरूमा भारत धेरै संक्रमित हुनेहरूको देशको सूचीमा परेको छ । संक्रमण देखिने बित्तिकै भारतमा बस्दै आएका नेपालीहरूलाई धेरै समस्या पर्ला जस्ता लागेको थिएन । भारत सरकारले पनि समान रूपमा राहत वितरण गर्दै आएको थियो । तर, जब लकडाउन बढ्दै गयो, त्यसपछि यहाँको सरकारले रासन कार्ड र अन्य कार्डको आधारमा रासन, राहतका अन्य सामग्री दिने निर्णय ग¥यो । नेपालीसँग ती कार्ड नभएकाले उनीहरू त्यसबाट बञ्चित भए । बाटो बनाउने मजदुर, खेती किसानी गर्ने मजदुरको अवस्था जटिल बन्दै गयो । लकडाउन सुरु भएपछि काम भएन । काम नहुँदा खान पैसा भएन । घरबेटीलाई भाडा दिन सकेनन् । घर भाडा दिन नसक्दा घरबेटीले घरमा बस्न दिएनन् । 
भारतमा बस्न थालेको तीस वर्ष भएछ । कोरोना भाइरस (कोभिड–१९) का बेला संगालेको अनुभव तितो, अनौठो र कल्पना भन्दा बाहिर रह्यो । भारतमा बस्ने नेपालीलाई नेपाल सरकार, नेपाली दूतावासले कस्तो दृष्टिले हेर्दो रहेछ भन्ने प्रष्ट भयो । 
संक्रमितको संख्या बढ्दै गएपछि मैले नेपालको राजदूत, डीसीएम र परराष्ट्रमन्त्रीलाई फोन गरेँ । कोभिडको समस्या तत्कालै समाप्त हुनेवाला छैन, त्यसैले, अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न भारतमा खोलिएका संघ संस्थासँग समन्वय गरेर काम गर्नुपर्छ भन्ने प्रस्ताव राखेँ तर, मेरो प्रस्तावको सुनुवाई भएन । नेपाल फर्कन चाहने नेपाली धेरै छन्, त्यसको व्यवस्थापनको बारेमा कुरा गर्दा दूतावासले वास्तै गरेन । 

पाँचसय एकको समिति 

दूतावास र नेपाल सरकारले वास्ता नगरेपछि पाँच सय १ जनाको समिति गठन गरेँ । यो समितिको मुख्य काम कोभिडमा समस्यामा परेका नेपालीलाई सहयोग गर्नु थियो । भारतको ३६ वटा राज्यमा छुट्टाछुट्टै समितिहरू गठन भयो । 
भारतको ३६ वटै राज्यहरूमा जहाँ रासन थिएन, त्यहाँ रासन पु¥यायौं । जहाँ औषधि थिएन, त्यहाँ औषधि पु¥यायौं । जो नेपाल जान चाहन्थे, तर सक्दैन थिए, उनीहरूलाई नेपाल पठायौं । क्यान्सरको उपचारपछि ठीक भएका एकजना बिरामी हुनु हुन्थ्यो, उहाँलाई केन्द्रीय र स्थानीय सरकारसँग समन्वय गरी नेपाल फर्कायौं । धार्मिक भ्रमणका लागि आउनु भएका, असी वर्ष उमेर काटेका ज्येष्ठ नागरिकलाई सहयोग ग¥यौं । व्यापारको सिलसिलामा, उपचार र अध्ययनका लागि भारत आएकालाई सहयोग ग¥यौं । नेपाली जनसम्पर्क समितिले यो महामारीमा अप्ठ्यारोमा परेकालाई आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग ग¥यो । संक्रमितको संख्या ह्वात्तै बढेको थियो । नेपाल र भारत दुबैतिर कडा लकडाउन थियो । त्यत्तिबेला एकजना नेपालीको मृत्यु भयो । १४ दिनसम्म लास उठ्न सकेन । नेपालबाट आफन्त आउन सक्ने अवस्था थिएन । म आफैं ग्यारेन्टी बसेर उहाँको दाहसंस्कार गरेँ । त्यो क्षण मैले भोगेको जीवनमा कल्पनै नगरेको क्षण थियो । जुन मेरो जीवनको अविष्मरणीय क्षण बन्यो । ३० वर्ष भारत बस्दा नभएको सम्पर्क कोभिड सुरु भएपछि भयो । कोभिड भन्दा अघि जति चिनेको थिएँ, त्यो भन्दा १० गुणा नेपाली मेरो सम्पर्कमा आउनुभयो । 
एउटै औद्योगिक क्षेत्रमा प्रदेश नं २ का पचास हजार नेपाली कार्यरत रहेको कोभिडका बेला थाहा पायौं । कर्णालीका हजारौं बासिन्दा सिम्ला र उत्तराखण्डमा हुनु हुँदो रहेछ । अप्ठ्यारो पर्दा, दुःख पर्दा सरकार र दूतावासलाई नसम्झेर हामीलाई सम्झनु भयो । यो अर्थमा खुसी लाग्यो । नेपाल सरकार कमजोर र दयाहीन भएकोमा दुःख लाग्यो । हामी नेपाली कति निरीह रहेछौं भनेर चिन्ता लाग्यो । ‘परदेशमा अप्ठ्यारो प¥यो, आफ्नै देशमा फर्कन्छौं’ भन्दा सरकारले केही गर्न नसक्नु सरकार निरीह हुनु हो । नेपाल सरकारले नेपाल फर्कने व्यवस्था गर्न नसकेकाले कोही खेतको बाटो फर्किए । कोही कर्णालीमा पौडी खेलेर गएँ । जंगलको बाटो हुँदै कोही फर्किए । बम्बईबाट पैदल हिँडेर पाल्पासम्म गएका थिए । भारतको दिल्लीमा भोकभोकै मर्दै गरेका नेपालीलाई पाँच सात किलो चामल र आँटा नदिएर ६ अर्ब रकम कोषमा राख्नुको के अर्थ भयो र । 
कार्गिल युद्धमा भारतको भूमिलाई जोगाउन नेपालीले खेलेको भूमिका, १९६५ मा चीनसँगको युद्धका नेपालीले निर्वाह गरेको भूमिका उल्लेख गर्दै अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न भारत सरकारलाई अनुरोध ग¥यौं । उक्त चिठ्ठीमा नेपाल सरकारसँग स्रोत साधनको अभावले सहयोग गर्न नसकेको उल्लेख ग¥यौं । उत्तर प्रदेशलगायत अन्य राज्यले सक्दो सहयोग गर्नुभयो । 
हामीले नेपाल सरकारलाई पत्र पनि लेख्यौं, स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्ने व्यवस्था मिलाइदिनुस् भन्दा त्यसको वेवास्ता भयो । नेपाल फर्कन चाहने र फर्काउनुपर्ने अवस्थामा रहेका नेपालीको तथ्यांक पनि नेपाल सरकारलाई दियौं । एकै पटक फर्काउन गाह्रो हुन्छ, समयमा नै काम सुरु गरौं भन्दा नेपाल सरकारले वेवास्ता ग¥यो । भारत सरकारको सहयोग लिएर फर्काइएका नेपालीलाई क्वारेन्टिनको नाममा गाई भैंसीलाई गोठमा राखिएको भन्दा पनि दयनीय अवस्थामा राखियो । अहिले आठ लाख भन्दा धेरै नेपाली स्वदेश फर्केका छन् । २० लाख नेपाली समस्यामा छन् । उनीहरू नेपाल फर्कन्छन् । 
उनीहरू नेपाल फर्कर्ने तयारीमा छन् । उनीहरूको व्यवस्थापन कसरी गर्ने नेपाल सरकारले सोच्नुपर्छ । उनीहरूका लागि नेपालमा रोजगारी सिर्जना गर्नुपर्छ । अन्यथा कोरोनाले भन्दा अभाव, गरिबीले सिर्जना गरेको अवस्थाले रोग निम्तन्छ । त्यो, रोगले मानिसलाई बाँच्न भन्दा मर्न प्रेरित गर्छ ।  

अर्घखाँचीदेखि भारतसम्मको यात्रा 

अर्घखाँचीका बालकृष्ण पाण्डे सानैदेखि क्रान्तिकारी स्वभावका थिए । अन्याय र बेथिति देखेर आन्दोलित हुन्थे । ढुण्डीराज शास्त्रीलगायत धेरैको जीवन संघर्षबाट प्रभावित थिए । तर, उनको यो स्वभाव देखेर उनका बाबुआमा डराउँथे । ‘छोरा पञ्चायतविरुद्धको आन्दोलनमा लाग्यो भने’ यो संभावनालाई टाढा राख्न भारत जान प्रेरित गरे । भारतमा बालकृष्णका दाजुहरू पढ्ने र काम गर्ने सिलसिलामा थिए । वि.सं २०४५ सालमा एसएलसी दिएर भारत गएका उनले छिमेकी मुलुकलाई नै कर्मभूमि बनाए । भारतमा काम गर्न गएका मजदुरको पीडा देखेर व्याकुल भए । हाउस मेड नेपाली दिदी बहिनीले भोगेको दु ःखले उनको मन थामि नसक्नु भयो । पढ्दै क्लब गठन गरे । संस्था खोले । ती संस्थाहरूको माध्यमबाट सामाजिक काममा सक्रिय भए । सामाजिक काममा मात्रै बाँधिन सकेनन् उनी । नेपालमा हुने राजनीतिक परिवर्तनका लागि भारत बसेर सक्रिय रहे । २०४६, २०६२÷२०६३ सालको आन्दोलनमा बालकृष्णको भूमिका महत्वपूर्ण रह्यो । तत्कालीन राजा ज्ञानेन्द्रको शाही शासनविरुद्ध पनि त्यत्तिकै सक्रिय रहे । राजाको पुतला जलाए । 
भारतबाट नै स्नातक तहको पढाई पूरा गरे । तीन दशकदेखि भारतमा रहेर नेपाल र नेपालीका लागि काम गरिहेका उनी नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुन् । आफ्नो सम्पूर्ण समय नेपाली जनसम्पर्क समितिलाई दिइरहेका छन् । त्यत्तिमात्रै होइन, नेपाल सरकार र भारत सरकारबीच समन्वयकारी भूमिकामा छन् उनी । हिजोआज उनलाई यस्तो लाग्छ–‘यो तीस वर्ष कसरी बित्यो, म आफैंलाई थाहा छैन, हिजो जस्तै लाग्छ ।’


No comments:

Post a Comment