Tuesday, August 25, 2020

बलियो सरकार नै सुखको आधार

अनुभव श्रृंखला 


गंगाघर गौतम 

नेपाली कांग्रेसको युरोपस्तरीय कार्यसमिति, युरोपियन कांग्रेसको महामन्त्री 


संसारका अधिकांश देश कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित छन् । यसको प्रभाव कहिले र कति रहन्छ भन्न सक्ने अवस्था छ्रैन । विश्वको सानो र थोरै जनसंख्या भएको बेल्जियम कोरोना भाइरसबाट अछुतो रहन सकेन । बेल्जियमका जनता प्रभावित भए पनि यहाँको सरकारको मुख्य धेय आफ्ना नागरिकलाई कसरी कोरोनाको प्रभाव कम पर्न दिने भन्ने नै रह्यो । 

युरोपेली मुलुकहरूमा कोभिडका कारण अत्यन्तै दयनीय भएको अवस्था कसैको पनि छैन । अन्य देशमा राहत अत्यावश्यक भएको बेलामा यहाँका जनतालाई राहतको खासै आवश्यकता परेन । यसो हुनुको मुख्य कारण बलियो र जनताप्रति उत्तरदायी सरकार हो । बाँच्नका लागि बेल्जियम सरकारले आवश्यक सुविधा दिएको छ । 

श्रमिक र रोजगारदातालाई गत वर्षको कमाइको आधारमा डिसेम्बरसम्म खातामा रुपैयाँ हाली दिने निर्णय गरेको छ । सरकार यतिसम्म संवेदनशील कि कोरोनाका कारण व्यक्तिलाई आर्थिक, मानसिक समस्या पर्ला भन्नेमा सतर्क छ । शिक्षा, स्वास्थ्य, उपचारका कुनै चिन्ता छैन । हामीलाई कोरोना लाग्ला कि यसबाट कसरी सुरक्षित भन्ने मात्रै चिन्ता छ । 

यहाँको सरकारले लकडाउनको घोषणासँगै एउटा सूचना जारी ग¥यो । लकडाउनका कारण अप्ठ्यारोमा पर्नेलाई निवेदन दिन त्यो सूचनाले आह्वान गरेको थियो । निवेदन दिएकै आधार व्यक्तिको बैंक खातामा सरकारले रकम जम्मा गरिदियो । व्यक्तिलाई मात्रै होइन, व्यवसायीलाई व्यवसायमा कुनै प्रभाव नपरोस् भन्दै खातामा रकम जम्मा गरिदिएको थियो । कोरोना अघि पाएको तलबको ७५ प्रतिशत खातामा जम्मा गर्ने व्यवस्था गरेको छ, बेल्जियम सरकारले । मास्क, औषधिलगायतका अन्य सामग्री पनि निःशुल्क दिइएको थियो । नगरपालिकाहरूले नागरिकको घरघरमा मास्क, औषधि पु¥याएका थिए । लकडाउनको कारण आफ्ना नागरिकहरूलाई कुनै समस्या नहोस् भन्ने सरकारको ध्येय थियो । ऋण लिएर घर किनेकाहरूलाई ६ महिना पछि मात्रै ऋण तिर्न मिल्ने व्यवस्था मिलाएको छ । यहाँको सरकारले नागरिकलाई पहिला बाँच त्यसपछि मात्रै अन्य विषयमा सोच्न भन्यो । ऋण तिर्ने चिन्ता, जागिरको चिन्ता हुँदा मान्छेले कोरोनालाई वेवास्ता गर्छ । काममा निस्कन्छ । जसले गर्दा कोरोना संक्रमण फैलिन्छ । यहाँका जनतालाई कोरोनाबाट कसरी जोगिने भन्ने मात्रै चिन्ता भयो ।  यहाँका जनतालाई के खाने, ऋण कसरी जुटाउने भन्ने चिन्ता भएन, ऋण कसरी तिर्ने कुनै चिन्ता भएन । वेल्जियम सरकारले नागरिकको सुरक्षा र जीवनलाई महत्व र प्राथमिकता दियो । 

सरकारले दिएको सुविधाहरू निरन्तर छन् । न त कामदारका लागि दिने सुविधा रोकियो न त, व्यवसायीको । बेल्जियम समुन्नत राष्ट्र हो । यहाँ जति नेपाली बस्छन्, ती सबै वैधानिक रूपमा बस्छन् । त्यसैले राहत नै बाँड्नु पर्ने अवस्थाका नेपालीहरू कोही पनि छैनन् । तर पनि अप्ठ्यारोमा परेका नेपालीलाई गैर आवासीय नेपाली संघले सहयोग गरेको छ । साथै नेपाली जनसम्पर्क समितिले नेपालीको अवस्था सोधखोज गर्दै सहयोग गरेको छ । 

साढे दुई महिनाको लकडाउनपछि जुन महिनाको नौ तारिखदेखि बेल्जियममा लकडाउन खुलेको थियो । संक्रमितहरूको संख्या बढेकाले आगामी हप्तादेखि डकडाउनु पर्नुपर्ने बारेमा निरन्तर छलफल भइरहेको छ । 

जुन–जुलाई अगष्ट महिना भनेको युरोपियनहरूका लागि आफन्त भेट्ने, आफन्त कहाँ जाने, आफन्त आउने समय हो । मान्छेहरूको ‘मुभमेन्ट’ बढेकाले कोरोना फैलिएको हो भन्ने अनुमान छ । 

कोभिड–१९ को संक्रमणबाट  बच्नका लागि आत्मबल र सतर्र्कता महत्वपूर्ण हो । कोरोनाले मान्छेलाई पैसा मात्रै सबै कुरा होइन रहेछ भन्ने निश्चित समुदायको लागि मात्रै नभएर विश्व मानवजातिको लागि नै समस्या सिर्जना भयो । 

कोभिड–१९ ले मान्छेलाई के महसुश गराएको छ भने, पैसाले मात्रै मानिसलाई केही नहुँदो रहेछ, एकले अर्कालाई सहयोग गर्नुपर्ने रहेछ । मान्छेलाई भन्ने पाठ सिकाएको छ । 






































बाग्लुङदेखि बेल्जियमसम्मको यात्रा 

बाग्लुङका गंगाघर गौतम १९ वर्षअघि बेल्जियम गए । विदेशिनुको कारण थियो, माओवादी आन्दोलन । ५१ सालदेखि ५५ सालसम्म धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङको सभापति भएका उनले नेपाल विद्यार्थी संघ बाग्लुङ जिल्लाको अध्यक्षमा दुई कार्यकाल बिताएका थिए । 

राजनीतिक पूर्वाग्रहका कारण तत्कालीन माओवादीले उनको घरमा आगो लगाइदिए । उनीमाथि आक्रमण समेत गरे । त्यस्तो अवस्था सहेर उनी त्यहाँ बस्न सकेनन् । माओवादीले आधार इलाका बनाएको ठाउँ छाडेर उनी बेल्जियम लागे । उनले भने, ‘राजनीतिक कारणले विदेश आएको हुँ ।’ बेल्जियम आएपछि राजनीतिक, सामाजिक संघ संस्थामा बसेर काम गर्न थालें । 

नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष भए उनी । गैरआवासीय नेपाली संंघको बेल्जियमको अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद् हुँदै गंगाघर अहिले नेपाली कांग्रेसको युरोपस्तरीय कार्य समिति, युरोपियन कांग्रेसको महामन्त्री छन् । 


No comments:

Post a Comment