Friday, August 28, 2020

आप्रवासीलाई नेपाल सरकारको वेवास्ता

अनुभव श्रृंखला
 

हिक्मत थापा

पूर्वकोषाध्यक्ष, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समिति 

नाइजेरियामा कोभिड देखिएको ६ महिना भयो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण यहाँ दिन प्रतिदिन बढिरहेको छ । कोभिडको संक्रमण देखिए लगत्तै यहाँ दुई साता मात्रै लकडाउन भयो । नेपालमा जस्तो लामो समय लकडाउन भएन । लकडाउन लामो नभएका कारण उद्योग धन्दा, व्यापार, यातायात सबै चालु नै रहे । सुरुको दुई साता सरकारले केही नियन्त्रण (कन्ट्रोल) गरेको थियो । रेस्टुराँ, ठूला चर्च बन्द भएका थिए । पछि यी स्थान सुरक्षा सावधानी अपनाएर चालू भए । उद्योग, व्यवसाय खोल्दा सामाजिक दूरीलाई प्राथमिकता दिइएको थियो । 

सिनेमा हल, स्कुल–कलेजहरू बन्द भए पनि अहिले स्कुलहरू खुलिसकेको अवस्था छ । अन्तर्राष्ट्रिय उडानहरू सुरु हुँदैछन् । आन्तरिक उडान त यसअघि नै सुरु भइसकेको छ । यी गतिविधिले नाइजेरियाको अर्थतन्त्र चलायमान भएको छ । एकातिर अर्थतन्त्र चलायमान गर्दै जाने अर्को तर्फ सावधानी अपनाउँदै कोरानाविरुद्धको लडाइमा जुट्ने रणनीति अनुसार काम भइरहेको छ । सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सावधानी अपनाउँदै अघि बढिरहेको अवस्था हो यहाँको । नागरिकहरूलाई कोरोन भाइरसका बारेमा चेतना बढाउँदै अघि बढेको छ सरकार । ठूला–ठूला भेलाहरू त अहिले पनि प्रतिबन्धित नै छन् । आयोजना गर्न दिइएको छैन । 

यस्तो छ अवस्था 

अफ्रिका महादेशमा उद्योग, व्यापारमा निर्भर अर्थतन्त्र भएका देशहरू धेरै छन् । उद्योग–व्यापार बन्द गर्दा समग्र अर्थतन्त्रमा असर पर्छ । त्यसैले सावधानी अपनाएर सम्पूर्ण क्षेत्रलाई निरन्तरता दिइएको हो । उद्योग, व्यवसाय बन्दा हुँदा नागरिकहरूले खान नपाउने अवस्था सिर्जना हुन्छ । यहाँका सबै मानिस काम गर्छन् । देशको राजश्व नै यी क्षेत्रको चलायमानमा आधारित हुन्छ । एक महिना बन्द भए अर्काे महिनादेखि खान नपाउने अवस्था आउँछ । त्यत्ति मात्रै होइन अर्थतन्त्र कमजोर हुने बित्तिकै कोरोना उपचारका लगि जुटाउनु पर्ने स्वास्थ्य सेवा र सुविधा जुटाउन संभव हुँदैन । जनतालाई दिने सुविधा कटौति हुन सक्छन् । त्यसैले नाइजेरियाले लकडाउन नगरेको हो । लामो समय लकडाउन गरेको भए यहाँको अर्थतन्त्र धेरै तहस नहस हुन्थ्यो । 

कोभिडका कारण नाइजेरियामा अहिलेसम्म ११ सयजनाको ज्यान गएको छ । लगभग ५३ हजार भाइरस संक्रमित छन् । यहाँ रहेका नेपाली कोभिड–१९ बाट संक्रमित त भए तर कसैको पनि मृत्यु भएको छैन । संक्रमित नेपाली पनि निको भइसकेका छन् । नाइजेरियाको जनसंख्या नेपालको भन्दा धेरै ठूलो छ । २१ करोड यहाँको जनसंख्या हो । धेरै जनसंख्या भएपछि विविध खाले जनता हुने नै भए । धनी धेरै धनी छन्, गरिब गरिब पनि धेरै नै छन् । धनी र गरिबबीचको सामाजिक खाडल ठूलो छ । 

अब मास्कको कुरा गरौं, कतिपयले मास्क लगाएको देखिन्छ । कोही मास्क विनानै हिँडिरहेका हुन्छन् । सार्वजनिक बसहरू कुनैले आधा मात्रै यात्रु बोकेका छन् भने कुनैले भरिभराउ बोकेका छन् । भरिभराउ सवारी साधन देखेपछि त्यसलाई सरकारले नियन्त्रण गरेको पनि थुपै उदाहरण छन् । प्रहरी प्रशासनले नागरिकहरूलाई सामाजिक दूरी कायम र स्वास्थ्य सावधानी अपनाउन सचेत गराइरहेको छ । सुरुमा कोरोना संक्रमित देखिने बित्तिकै यहाँका नागरिक त्रसित थिए । हामी नेपाली पनि त्रासमै थियौं । अहिले त्यो त्रास विस्तारै कम हुँदै गएको छ । मानिसहरूमा आत्मविश्वास बढेको छ । 

रोजगारी गुमाउँदै नेपाली 

कोभिड–१९ का कारण नेपालीसहित नाइजेरियाली नागरिकले रोजगारी गुमाउने क्रम सुरु भइसकेको छ । स्थानीय स्तरका धेरै उद्योगहरू चलेपनि ‘म्यानुफ्याक्चरिङ’ उद्योगहरू, ठूला–ठूला निर्माण (कन्ट्रक्सन) कम्पनीका कामहरू पहिला जस्तो भइरहेको छैन । कतिपय कामहरू रोकिएका छन् । यातायात, मनोरञ्जन, होटल रेस्टुराँहरू, व्यापार–व्यावसाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्सीका कामसहित पर्यटन क्षेत्र लगभग बन्द छन् । यी सबै क्षेत्र कुनैमा आंशिक तथा कुनैमा पूर्ण प्रभाव पर्दा देशको अर्थतन्त्रमा आधा जति संकट परिसकेको छ । चलेका होटलहरूमा पनि विदेशी भन्दा स्थानीय ग्राहक मात्रै आइरहेका छन् । यी सबै गतिविधिले असर गर्ने भनेकै अर्थतन्त्रमा हो । त्यसैले रोगजारी गुमाउने अवस्था दिनप्रतिदिन बढ्दै छ । केही नेपालीहरूले पनि रोजगारी गुमाइसकेका छन् । समग्रमा भन्नुपर्दा कोभिडको असर देखा पर्न थालिसकेको छ । यो एउटा देशको मात्रै समस्या होइन विश्वका धेरै देशकै अवस्था यस्तै हो । 

कतिपय कम्पनीहरूले कामदारको तबलमा २५ प्रतिशत, ५० प्रतिशतसम्म कटौती गरेका छन् । रोजगारदाता कम्पनीहरूले अहिले हामीले रोगजारी दिन सक्ने अवस्था रहेन ‘तिमीहरू जाउ’ भनि रहेको अवस्था छ । नेपालीहरूले पनि त्यो अवस्था भोगिरहेका छन् । 

सरकारले उद्योग तथा व्यापार व्यवसायलाई सहज ढंगले अघि बढाउन ऋणको व्याजदरमा छुटको घोषणा गरेको छ । यो छुट  ६ महिना एक वर्षको लागि भनिएको छ । विभिन्न उद्योग–व्यवसायहरूलाई यस्तो सुविधा दिने घोषणा गरेको सरकारले । सरकारी घोषण कार्यान्वयन कस्तो हुन्छ हेर्न बाँकी छ । यहाँका उद्योग वाणिज्य क्षेत्रले सरकारले ल्याएका योजना (स्किम) पर्याप्त भएन भनिरहेका छन् ।

सहयोगका लागि कोष स्थापना 

नेपाल सरकारले उद्धार तथा राहतमा चासो नदेखाएको देख्दा हामीलाई दुःख लागेको छ । कोरोना भाइरस अफ्रिकी मुलुकमा देखिएपछि धेरै नेपाली यही मरिने भइयो भन्दै चिन्तामा थिए । बिरामी परे उपचार कसरी गर्ने चिन्ता हामीलाई थियो । नेपाल सरकारले हाम्रा बारेमा चासो नदिएपछि अफ्रिका भरका नेपालीको तथ्यांक संकलनका लागि हामीले नेटवर्क बनायौं ।

कोभिड–१९ का कारण समस्यामा परेका नेपालीलाई सहयोग गर्न अफ्रिका राहत कोष खडा भएको छ । कोषमा हालसम्म १३ हजार डलर भन्दा बढी संकलन भइसकेको छ । 

अफ्रिकी मुलुकमा जति पनि नेपाली छन्, तिनीहरूलाई अप्ठ्यारो परेका बेला सहयोग गर्न यो कोष स्थापना गरिएको हो । यो कोषबाट अप्ठ्यारोमा परेकालाई सहयोग भइरहेको छ । अप्ठ्यरोमा परेका नेपालीलाई राहत उपलब्ध गराएका छौं । 

अफ्रिकी मुलुकमा नेपाल सरकारको उपस्थिति प्रभावकारी छैन् । अफ्रिकाका दुईवटा देशमा मात्रै नेपाल सरकारले दूतावास खोलेको छ । खुलेका दूतावास पनि एउटा उत्तरमा, अर्को दक्षिण दिशामा । दक्षिण अफ्रिकामा एक वर्षदेखि राजदूत छैनन् । दुःखका साथ भन्नुपर्छ, नेपाल सरकारले प्रवासी नेपालीलाई राम्रो हेरचाह गरेको छैन । अफ्रिकामा रहेका प्रवासी नेपालीको बारेमा सरकारले सम्पर्कसम्म पनि गरेको अवस्था हामीलाई जानकारी छैन । नेपाल सरकार र अन्य कुनै कार्यालयले हामीलाई अहिलेसम्म सम्पर्क गरेका छैनन् । आधिकारिक रूपमा कसैले सोधखोज वा सम्पर्क गरेका छैनन् ।

परराष्ट्रमन्त्रीले अन्य देशमा रहेका नेपालीको बारेमा चासो लिएर सोधखोज गर्नुभयो, हामीसँग त्यो सोधनी पनि भएन । सहयोग त परैको कुरा भयो । नेपाल सरकारप्रति हाम्रो गुनासो छ । 

हामी जहाँ भएपनि नेपालीलाई अप्ठ्यारो पर्दा नेपाल सरकार उपस्थित हुनुपर्छ । हामीले नेपाल सरकारलाई रेमिट्यान्स पठाइरहेका छौं । नेपाललाई परेका बेला हामीले सहयोग गरिरहेका छौं । भूकम्प होस् वा बाढी पहिरो जाँदा होस् अफ्रिकाबाट धेरै नेपालीले सहयोग गरेका छन् । तर पनि सरकारले अभिभावकको भूमिका निर्वाह गर्न सकेन । अफ्रिकामा अहिले १० हजार नेपाली कार्यरत छन् । यी सबै श्रम स्वीकृति लिएरै आएका हुन् । तीमध्ये कोही व्यापार व्यवसायमा संलग्न छन् । जति अफ्रिका आएका छन्, प्राय जसो सबै प्राविधिक विषय पढेका दक्ष नेपाली छन् । दक्षिण अफ्रिकामा थुप्रै नेपाली चिकित्सक पेशामा हुनुहुन्छ ।  सिए, इन्जिनियरिङ विषय पढेका नेपालीहरू यहाँ हुनुहुन्छ । 

नाइजेरियासम्मको यात्रा

कैलाली टीकापुरका हिक्मत थापा अफ्रिकाको नाइजेरियामा बस्न थालेको पनि १४ वर्ष भइसकेको छ । राम्रो अवसर खोज्ने क्रममा उनी नाइजेरिया पुगेका थिए । सन् २००६ मा नाइजेरिआ आएका उनी यहाँको इन्डस्ट्रियल ग्रुपमा कार्यरत छन् । फुड टेक्नोलोजीमा ग्राजुएट हिक्मत नाइजेरिया आउनुअघि भारतमा काम गर्थे । भारतमै रहँदा नाइजेरियाका लागि रोजगारीका लागि आवेदन दिएर यहाँ आएका हुन् । अन्तर्वार्तामार्फत छनोट भएपछि उनी कामका लागि नाइजेरिया आएका हुन् । उनले नेपालका धेरै खाद्य उद्योगहरूमा काम गरेका छन् ।

हिक्मत नाइजेरियाको गैरआवासीय नेपाली संघमा आवद्ध छन् । यसअघि दुई कार्यकाल उनी अन्तर्राष्ट्रिय समितिको कोषाध्यक्ष थिए । उनी अहिले पनि अफ्रिका भर नेपालीलाई संगठित गर्ने, गैरआवासीय नेपाली संघमा संलग्नता जनाउने कार्यमा क्रियाशील छन् । अफ्रिका भर गैरआवासीय नेपाली संघको शाखाहरू खोल्न एक दशकदेखि सक्रिय भए हिक्मत । 




No comments:

Post a Comment